Comments Add Comment

किन छोपियो जलपरीका वक्षस्थल ?

पूर्वीय संस्कृतिका मूल्य मान्यताको सम्मान गर्नका लागि भन्दै इण्डोनेसियाको एक उद्यानमा रहेका जलपरीका शालिकको वक्षस्थल छोपिएको छ ।

राजधानी जकार्ताको एनकोल ड्रिमल्याण्डभित्र दुईवटा जलपरीका मूर्ती रहेका छन् । पछिल्लो पन्ध्र वर्षदेखि पार्कभित्र रहेका ती मूर्तिको वक्षस्थल छोप्नेगरी हालै सुनौलो कपडा पहिराइएको छ ।

जलपरीका वक्षस्थल कपडाले छोपिएको दृश्यले सहरका मानिसहरु अचम्ममा परेका छन् । कतै पार्क प्रशासनलाई यसो गर्न बाध्य पो पारिएको कि ? भन्ने पनि कतिपयको आशंका छ ।

तर पार्क प्रशासनले भने कसैको दबावमा जलपरीको लाज छोपिएको आशंकालाई अस्वीकार गर्दै अघिल्लो वर्ष नै यस्तो निर्णय लिइसकिएको र हाल कार्यान्वयन मात्र गरिएको प्रष्ट पारेको छ ।

पार्क प्रवक्ताले भनेका छन्, ‘यो पूर्णतः पार्क प्रशासनको निर्णय हो, कुनै बाहिरी दबावमा गरिएको निर्णय होइन ।’

पार्कलाई पारिवारिक बनाउनका लागि यस्तो निर्णय लिइएको उनको दाबी छ ।

तर जलपरीको मूर्ती बनाउने कलाकार डोलोरोसा सिगानाले भने मुर्तीको छाति छोपिदिने कामले जलपरीको सुन्दर दृश्यबाट दर्शकहरु वञ्चित भएको दाबी गरेका छन् ।

पार्क भ्रमणमा आउने आगन्तुकहरु प्नि जलपरीको वक्षस्थल छोपिँदा खुसी छैनन् ।

आफ्नो बच्चासँगै पार्क घुम्न गएकी एक महिलाले भनेकी छिन्, ‘मुर्तीले हामीलाई कुनै अप्ठेरो पारेका थिएनन् । छाती छोपिएका यस्ता मुर्ती देख्दा अनौठो लागिरहेको छ।’

जलपरीले कहिल्यै पनि कपडा नलगाउने भन्दै कतिपयले जलपरीका मुर्तीमा कपडा लगाइनु स्वभाविक नभएको बताएका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment