Comments Add Comment

कथा : ब्ल्याकमेल !

‘ममी मलाई अरु था’छैन, यो महिनाको लास्टमा जसरी नि नयाँ मोवाइल चाहिन्छ’ निधार खुम्च्याउँदै फोन काट्छे रीमाले ।

स्याङ्जाको वालिङ्गबाट बीएस्सी नर्सिङ पढ्न तीन वर्ष अगाडि काठमाडौं छिरेकी थिई रीमा । सामान्य परिवारकी महत्वाकांक्षी छोरी हो ऊ । सोचेको कुरा पुगिहाल्नुपर्ने, भइहाल्नुपर्ने । बजारमा नयाँ फोन, लुगा आएको जारी सबैभन्दा पहिले उसैलाई भएजस्तो लाग्थ्यो ।

घरमा बाले गरेको सामान्य व्यापारबाट काठमाडौंमा टिकेकी ऊ यथार्थ भन्दा सपनामा बढी रमाउने बानी परिसकेकी छ । हैसियतको धरातल बिर्सिएर भूईं छोड्ने बानीले गाँजिसकेको थियो रीमालाई । साथसंगत, उमेर, यौवन र आकर्षणको दलदलमा फसिसकेकी छ । काठमाडौंमा बग्रेल्ती खुलेका क्लवको रंगिचंगी प्रकाशमा नाचिरहेकी रीमा वास्तविकताभन्दा धेरै पर पुगिसेककी छ ।

रीमाकी एउटी मिल्ने साथी छ उर्वशी । धेरैजसो साथी मन मिलेर नै बनेका हुन्छन् । उनीहरुमा पनि एउटा समानता छ, महत्वाकांक्षा । तर, उर्वशी रीमाजस्तो बाहिरै सार्वजनिक भैहाल्दिन । रीमाको अगाडि उर्वशीको महत्वाकांक्षा ओझेलमा परेको जस्तो देखिन्छ ।

आधुनिकतासँग संस्कार साटिसकेका उनीहरु वर्तमानमा रमाइरहेका जस्ता भने देखिन्छन् । वेप्रवाह । थाहा नपाएको हो कि थाहा नपाएजस्तो गरेको तर जीन्दगी र भविष्यप्रति खासै चिन्तित छैनन् उनीहरु । तर, मनमा छिटै धनी हुने चाहना भने छ । तर, कसरी ? अन्यौलमा छन् दुवैजना ।

आजभोलिको समय नै यस्तै हो । सायद सबै युवायुवतीलाई विनामेहनत छिटै धनी हुने चाहनाले तड्पाइरहेको हुन्छ । कर्म नगर्ने, तर सधैँ फलको मात्र आशा गर्ने युवा जमात बाक्लिँदो छ । त्यही भीडमा रुमल्लिरहेका छन् रीमा र उर्वशीहरु ।

‘अँ केटी भन् त के परो ब्यानै ?’ अल्छीलाग्दो पारामा रीमाले फोन उठाई ।

‘आज खाना खान मेरोमा आईज ल, एकजना मुर्गा पनि आउँदैछ तेरा लागि ।’

‘रियल्ली ? कस्तो मुर्गा ?’

‘हेर न मोरी एक्साइटेड भाकी, हल्ला नगर छिटो आइज हृयाँ ।’ उर्वशीको फोन कट्छ ।

मिर्मिरेमै आएको उर्वशीको फोनले निकै उत्साही बनाउँछ रीमालाई । सकेजति चिटिक्क परेर सजिन्छे अनि हान्निेन्छे उर्वशीको डेरामा । आँखामा महत्वाकांक्षा र स्वार्थको पट्टी बाँधेर ।

‘ओ ! प्यारी आइसकिस् तँ ? ल स्वागत छ तँलाई ।’ ढोकोबाटै हात समाएर रीमालाई भित्र लगी उर्वशीले । ‘खाना धेरै नै मिठो बनाइस् जस्तो लागेर हतारिँदै आकी नि ।’ आँखा झिम्काई रीमाले ।

‘हो त, तँलाई मनपर्ने खालको खाना बनाको छु नि ब्यूटिफूल ।’ उर्वर्शीले ढोका खोली । रीमा हेरेको हेर्‍यै भई ।

सर्लक्क मिलेको जिउडाल, आकर्षक पहिरन, अन्दाजी छ फिट उचाई, गोह्रो वर्ण अनि उस्तै हेयर स्टाईल । पहिलो नजरमै फिदा भई रीमा । चम्किएका नयन एकाएक भूइँतिर मात्र झुक्न थाले । शीर निहुरियो । लाजको लालीले रीमाको गोह्रो बर्णको अधरलाई छपक्क छोप्यो । गुलावी भई रीमा । कुर्चिमा बसिरहेको पुरुषको शरीरबाट आइरहेको सुगन्धले झनै मुग्ध बनायो उसलाई । वर्षौदेखि हराइरहेको कुनै बहुमूल्य बस्तु प्राप्त भएजस्तो अनुभूति भयो रीमालाई । झ्याप्पै अँगाल्ने चाहनाले हातलाई अगाडि बढ्न नखोजेका होइनन् तर केही कुराले रोक्यो उसलाई । टक्क अडिई ।

‘रीमा, उहाँ मेरो साथी उदय । दुवईमा व्यापार गर्नुहुन्छ । अनि उदयजी, उ चाँहि मेरो हितैसी साथी रीमा, भर्खरै बीएस्सी नर्सिङ्ग सकेर बसेकी छ ।’

निमेषभरमै परिचय गराइदिई उर्वशीले ।

‘हेलो !’ मन्द मुस्कानसहित नशालु आँखा रीमातिर फर्कायो उदयले ।

दिनभरको घटनाक्रमले उदय र रीमाको वीचमा एउटा नौलो सम्बन्धको विजारोपण भएजस्तो आभाष भइरहेको थियो । झलक्क हेर्दा दुईजनाको जोडी पनि निकै मिलेको देखिन्थ्यो

‘हजुर !’ झुकेको अधरलाई अलिकति उठाउँदै लजालु मुस्कानले स्वागत गरी रीमाले । सबैसँग धेरै नै बोल्ने रीमाको बोली अड्किएको जस्तो भईरहेको थियो । मुर्गा बनाउने सोचमा आएकी रीमालाई एकै नजरमा उदयसँग माया बसेको जस्तो अनुभूति भइरहेको थियो ।

उदयले मजैले हेर्‍यो रीमालाई । २४ वर्षकी युवती, गोह्रो बर्ण, सर्लक्क मिलेको कपाल अनि गालामा चन्द्ररुपी डिम्पल । पहिलो हेराइमै भुतुक्कै भएजस्तो भयो । उर्वशी भने रमाइलो मान्दै दुवैजनालाई हेरिरहेकी थिई ।

‘अनि कुन कलेजबाट सकेको नि विएस्सी नर्सिङ्ग ?’ कुरा गर्न खोज्यो उदयले । ‘हजुर, यहीँ ओम नर्सिङ्ग कलेजबाट हो ।’ केही सहज मान्दै उत्तर दिई रीमाले । ‘पढ्न गाह्रो, पढेपछी झन टिक्नै गाह्रो छ है नेपालमा ?’

‘हो नि , झन नर्सिङ्ग पेशाको त के कुरा गर्नु ?’ उदयको सवालमा जवाफ मिलाई रीमाले । ‘तिमी त बरु विदेशतिर गए राम्रो हुन्छ नि हैन र ? त्यहीँ दुबईमा पनि राम्रो कमाइ छजस्तो लाग्छ मलाई ।’

‘हजुर हो नि मेरा साथीहरु पिसिएल गरेर गाको हुन् कति प्रगति गरिसके, आफूलाई भने घरबाट जान दिए पो ?’

‘ल के भो त ? केही बिग्रेको छैन नि, उर्वशीको साथी रैछौ, म सहयोग गरिहाल्छु नि दुबई जान मन भए त ।’

उदयको सहयोगको भावनाले रीमाको अनुहारमा उत्साहले प्रवेश पाइसकेको थियो । खाना खाइसक्ने बेलासम्म धेरैपटक नजर जुध्यो उदय र रीमाको ।  बोलीभन्दा जुधेका नजरबाट धेरै कुरा गरिरहेका थिए उनीहरुले । पहिलो भेटमै निकै नजिकिएका थिए ।

दिनभरको घटनाक्रमले उदय र रीमाको वीचमा एउटा नौलो सम्बन्धको विजारोपण भएजस्तो आभाष भइरहेको थियो । झलक्क हेर्दा दुईजनाको जोडी पनि निकै मिलेको देखिन्थ्यो । दिनभरको रमाइलो कुराकानी पश्चात रीमा उर्वशीको कोठाबाट फर्किने बेला भयो । बिहान खाली आएको मन केही बोकेर जाँदै थियो ।

कस्तो गह्रुँगो । तैपनि बिहान गरेको मेकअपको तेजभन्दा अहिलेको खाली अनुहार बढी चम्किलो देखिन्थ्यो । प्रेम भन्ने चिजै सुन्दर, अनुहारमा पोखिइहाल्ने रंगीन बनेर । अनि यो प्रेम हुन लाग्ने समय पनि अनिश्चित हुँदोरहेछ कसैको वर्ष दिन, कसैको एकैछिन । अचम्म !

आज रीमाका खुट्टा भुइँमा छैनन् । उदयको नशालु प्रेमको नशामा चुर्लुम्म डुवेकी छ । रातको १० बजिसक्यो । एकान्त कोठामा गुलाम अलिका सुमधुर गजल सुन्दै दुईहातले चपक्क सिरानी समातेर उत्तानो पल्टिरहेकी छ । बन्द आँखाले उदयको सुन्दर तस्वीर भने देखिरहेका छन् । एकैदिनमा कति गहिरो मायामा डुबेकी रीमा ? प्रेम हो कि आकर्षण, थाहा छैन  । तर, रीमाको जीवनमा उदयको उदय भइसकेको छ ।

मोवाइल भाइब्रेट हुनासाथ गुलाम अलि रोकिए । रीमाले फोन उठाई । ‘हेलो !’ ‘हजुर, के छ मिस ? के गर्दै ?’

‘ए, यत्तिकै बसिराको निन्द्रा पनि लागेको छैन’

‘ओ ! त्यस्तो पो ? पहिलो भेटमै निद हराम गराइदिएँ कि क्या हो मैले ? सरी है’

‘हैन हैन त्यस्तो त, बरु मैले केही गल्ती गरेँ कि…. ?’

मध्यरातसम्म यस्तै प्रेमभावयुक्त कुराकानी चलिरहन्छ उदय र रीमाको ।

दिउँसोको १ बजेको छ । रीमा न्यूरोड गेटमा उभिइरहेकी छ, उदयको प्रतिक्षामा । भेट भएको एक महिनामै उदय र रीमाको प्रेम निकै कसिलो बनिरहेको जस्तो देखिन्छ । प्रायः हुने भेटघाट, घुमघाम, फिल्महल र सपिङ्गले रीमा उदयको मायामा फसिसकेकी छ ।

मुर्गा बनाउने स्वार्थको धरातलमा सुरुवात गरेको सम्बन्धले यति उचाई पाउला भन्ने रीमाले अञ्दाजसमेत गरेकी थिइन । दिन दुइगुना रात चौगुनाको दरले उदयप्रतिको प्रेम फैलिँदै गइरहेको थियो रीमाको मनमा ।

उदयपनि रीमालाई नयाँ नयाँ उपहारहरु टक्र्याउँथ्यो । नयाँ नयाँ ठाउँ घुमाउन लैजान्थ्यो । प्रेमिल बातहरु गर्थ्यो ।

मोबाइलमा आएको भिडियो म्यासेज देखाइदिन्छे । उदयको निधारबाट पनि पसिना छुट्न थाल्छ । ओठमुख सुकेको जस्तो हुन्छ । दरबारमार्ग गएको दिन राति होटलमा बसेको बेलाको भिडियो थियो त्यो

‘ओहो ! कति कुराउन सकेको यार ? एक घण्टा ढिलो हुन त अति भयो नि मिष्टर उदय जी’ निधार खुम्च्याई रीमाले ।

‘सरी डियर, जामले हैरान बनायो नि, हेर त धुलोले मेरी परीलाई आक्रमण गरिसकेछ, जाउँ हिँड ।’

‘कहाँ जान लाको र हामी ?’ उत्सुक हुन्छे रीमा ।

‘हिँड न सरप्राइज छ आज ।’

न्यूरोड गएपछि एउटा नयाँ मोवाइल उपहार दिन्छ उदयले, बाटोमै नाचिहालुँ जस्तो हुन्छ रीमालाई । उदयले साँच्ची चोखो माया गरेको अुनभूती हुन्छ उसलाई ।

‘रीमा तिम्लाई था’छ आज हामी कहाँ जाँदैछौँ ?’

‘उम् घरमा ।’ ‘हाहा ! हैन आज साँझ तिम्लाई दरबारमार्गको क्लवमा लग्दैछु नि मैले ।’ ‘रियल्ली ? आइ एम सो हृयाप्पी उदय ।’

एउटा हातले कसक्क कसेर समात्छे उदयको कम्मरमा ।

रातको १२ बजिसकेको छ । अरु ठाउँ सुतिसकेको भए पनि दरबारमार्ग वरिपरी मानिसहरु विशेषगरी युवायुवतीहरुको चहलपहल बढ्दै गइरहेको छ । शुक्रवारीय रमाइलो सकेर घर फर्किनेहरु र ट्याक्सीवालाहरुको बार्गेनिङ्ग चलिरहेको छ । मापसे चेक गर्ने पुलिसहरु तल्लिन भएर ड्यूटी गरिरहेका छन् । यही भिडमा छन् उदय र रीमा पनि ।

‘उदय आज एकदमै रमाइलो भयो थ्याङ्क्यू है ।’ वाइनको शक्तिले लरबरिएको जिब्रो सम्हाल्दै बोली रीमा । ‘यहाँ त के रमाइलो भयो र ? अझ रमाइलो त बाँकी नै छ नि, ल हिँड ट्याक्सीमा ।’

‘हैन, अब पुग्यो आजलाई । घर जाम अब ।’ रीमाले प्रस्ताव गरी ।

‘हैन आज हामी सँगै बस्छौँ, होटलमा स्पेसल डिलक्स रुप लिएको छु मैले हाम्रा लागि ।’

‘होइन उदय, विहेभन्दा अगाडि यसरी सँगै बस्नु त राम्रो हुँदैन, मलाई घर छोड्दिउ ‘ सँगै बस्ने कुराले डराएकी जस्ती हुन्छे रीमा ।

तर, उसको केही लाग्दैन, प्रेमीको प्रस्ताव स्वीकार गर्न बाध्य हुन्छे ।

आजभोलि रीमा उदयसँगको प्रेममा झनै डुब्न थालेकी छ । हरपल सँगै हुने चाहना बढ्दै गइरहेको छ । स्वार्थको लागि सुरु गर्ने भनेको सम्बन्ध निकै भावनात्मक भइसकेको छ ।

कोठामा एक्लै टोलाइरहेकी रीमा भाइवरमा आएको म्यासेजको रिङ्गटोनले झस्किन्छे । हेर्छे । छाँगाबाट खसेजस्ती हुन्छे, जताजतै चकमन्न अँध्यारोमात्र देख्छे । एक्कासी सास रोक्किएला जस्तो हुन्छ । औडाहा हुन्छ । चिच्याउन खोज्छे । तर, सक्दिनँ । तुरुन्त उदयलाई फोन गर्छे ।

‘उदय, म बर्बाद भएँ, छिटो आउ यहाँ मेरोमा, म पागल हुन लागिसकेँ ।’

उदय पनि आत्तिन्छ । ‘के भयो र ? किन आत्तिएकी ? म छु नि आइहालेँ ।’

केहीबेरमै आइपुग्छ । उदय आउनासाथ उसको अँगालोमा बेरिन्छे रीमा । आँशुको भेलले भिजेको अधरले उदयको काँध पनि भिजाउँछ ।

‘के भयो भनन मलाई’ सान्तवना दिँदै बुझ्न खोज्छ उदयले ।

मोबाइलमा आएको भिडियो म्यासेज देखाइदिन्छे । उदयको निधारबाट पनि पसिना छुट्न थाल्छ । ओठमुख सुकेको जस्तो हुन्छ । दरबारमार्ग गएको दिन राति होटलमा बसेको बेलाको भिडियो थियो त्यो ।

नचिनेको नम्बरबाट आएको भिडियो म्यासेजमा २५ लाख रुपैयाँ तुरुन्त नदिए सामाजिक सञ्जालमा भाइरल बनाइदिने धम्की दिइएको थियो ।

‘अब पुलिसकोमा जानुपर्छ रीमा आत्तिन्छे ।’ ‘हैन हैन जानुहुन्न पुलिसकोमा, झन् हाम्रो बेइज्जत हुन्छ’ रीमालाई सम्हाल्न खोज्छ उदयले ।

‘बरु कतैबाट पैसा खेाजेर दिम रीमा, इज्जतभन्दा ठूलो पैसा हुँदैन, मसँग पनि यही बेला एक पैसा छैन कस्तो समस्या ।’

उदय सम्झाइरहन्छ, रीमा भने टोलाइरहन्छे । धेरै समयको तनावपछि छुट्टिन्छन् दुईजना ।

रीमालाई भने के गरौँ र कसो गरौँ भइरहेको थियो । पैसा ल्याउने ठाउँ कतै थिएन । घरमा माग्नलाई न त आधार थियो, न त भन्न सकिने कारण । किंकर्तव्यविमूढ हुन्थे रीमा । सोच्दासोच्दै रात बितेको पत्तै भएन ।

‘ममाथि कसले यस्तो गर्‍यो सर ? मेरो इज्जत बचाइदिनुपर्‍यो, मर्नु न बाँच्नु भएकी छु म ।’

प्रहरीको सामुन्नेमा सबै घटनाको फेहरिस्त बताई रीमाले । प्रहरीले तुरुन्त अनुसन्धान सुरु गर्‍यो । तीनदिनमै अपराधी पत्ता लगाउनसमेत सफल भयो । त्यसको भोलिपल्ट पत्रिकामा समाचार आयो- ‘युवतीको अश्लील भिडियो बनाएर ब्ल्याकमेल गर्न खोज्ने खरिदार उदय र उर्वशी पक्राउ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment