Comments Add Comment

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त थपलियाको सुनुवाइ प्रक्रिया सुरु

१७ चैत, काठमाडौं । प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलियाको संसदीय सुनुवाइ प्रक्रिया सुरु हुँदैछ ।

थपलियाको सुनुवाइ प्रक्रिया अगाडि बढाउनका लागि संघीय संसदीय सुनुवाइ समितिले आइतबार बिहान ११ बजे समितिको बैठक बोलाएको छ । आजको बैठकले थपलियाविरुद्ध उजुरी आह्वान गर्न सक्ने समितिले जनाएको छ ।

गत ११ गते बसेको संवैधानिक परिषदको बैठकले निर्वाचन आयोगको प्रमुख आयुक्तमा थपलियालाई नियुक्तिको सिफारिस गरेको थियो ।

थपलिया संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव पदमा रहेकै बेला संवैधानिक आयोगमा नियुक्तिको सिफारिस गरिएपछि सरकारको आलोचना हुँदै आएको छ । थपलियाले आफूले पदबाट राजीनामा दिइसकेको दाबी गरे पनि कर्मचारी समायोजन सकिएको जानकारी दिन मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा थपलियाले सचिवकै रुपमा आसनग्रहण गरेका थिए । मन्त्रालयको आधिकारिक वेबसाइटबाट उनको नाम हटाइएको छैन ।

त्यतिमात्र होइन, संविधानको धारा २८४ को उपधारा ३ मा संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिना अगावै संविधानबमोजिम नियुक्तिका लागि सिफारिस गर्नुपर्ने व्यवस्था छ । तर प्रधानमन्त्री नै अध्यक्ष रहने परिषदले भने अयोधीप्रसाद यादव प्रमुख आयुक्त पदबाट विदाइ भइसकेपछि मात्रै रिक्त भएको पदमा थपलियालाई सिफारिस गरेको थियो ।

निवर्तमान प्रमुख आयुक्त अयोधीप्रसाद यादव र आयुक्त इला शर्माले यही चैत १० गते अवकास पाएका थिए । आयोगको रिक्त प्रमुख आयुक्त पदमा थपलियालाई सिफारिस गरिए पनि आयुक्त पदमा भने कसैलाई सिफारिस गरिएको छैन ।

संसदीय सुनुवाइ समितिका अनुसार आइतबार नै समावेशी आयोगको सदस्यमा नियुक्तिका लागि प्रस्तावित विष्णुमाया ओझाविरुद्ध पनि उजुरी आह्वान गर्ने तयारी छ । गत ११ गते नै बसेको संवैधानिक परिषदको बैठकले समावेशी आयोगको सदस्यमा ओझालाई नियुक्त गर्न सिफारिस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment