Comments Add Comment

मोरङ प्रहरीमा कञ्चनपुरको झल्को, कुटाइ खानेले न्याय पाएनन्

‘माथिको आदेश छैन’ भन्दै प्रहरी प्रधानमन्त्रीको सुरक्षामा व्यस्त

१७ चैत, बिराटनगर । निर्मला पन्त हराएको मौखिक उजुरीलाई बेवास्ता गरेको र घटनाको छानविनमा लापरवाही गरेको आरोपमा कञ्चनपुरका एसपीसहितको प्रहरी टोली निलम्बनमा परेर मुद्दा खेपिरहेको छ ।

यतिबेला मोरङका प्रहरी प्रमुखले पनि कञ्चनपुरकै झल्को दिने गरी पीडितमाथि उपेक्षापूर्ण व्यवहार देखाएको पीडितले गुनासो गरेका छन् ।

दोहोरो सुविधा लिएर अध्यापन गराउने शिक्षकलाई कारवाहीको माग गर्दै सुकुना क्याम्पसमा ज्ञापनपत्र बुझाउन गएका नेविसंघका कार्यकर्ताले कुटाइ खाएको आइतबार पाँच दिन बितिसकेको छ । घाइते पक्षले उजुरी दिएको ५ दिन बितिसक्दा पनि मोरङ प्रहरीले अहिलेसम्म कुटपिटमा संलग्न सत्तापक्षका कार्यकर्तालाई गिरफ्तार गर्ने आँट गरेको छैन ।

जनताले सुरक्षा माग्दा वास्ता नगर्ने प्रदेश १ का प्रहरीहरु आइतबारदेखि झापा र मोरङमा प्रधानमन्त्रीको सुरक्षामा व्यस्त बनेका छन् । प्रधानमन्त्री ओली आइतबार मोरङ आएका छन् । उनी झापामा बास बसेर सोमबार मात्रै काठमाडौं फर्कने कार्यक्रम छ ।

ज्ञापनपत्र बुझाउँदा सत्तापक्षको धुलाइ

मोरङको सुकुना क्याम्पसमा बुधबार ज्ञापनपत्र बुझाउन गएका नेविसंघका कार्यकर्ताहरु अखिलका कार्यकर्ताबाट कुटिएका थिए । घटनापछि स्थानीय इलाका प्रहरी कार्यालय बेलबारीमा अखिलका कार्यकर्ताविरुद्ध किटानी जाहेरी दिइएको थियो ।

तर, सत्तापक्षका विद्यार्थी कार्यकर्तालाई प्रहरीले अहिलेसम्म कारवाही नगरी संरक्षण गरिरहेको विपक्षी दलका कार्यकर्ताको गुनासो छ ।

बुधबार बिहान झण्डै दुईघण्टा क्याम्पस परिसरमा कुटाकुट भएको थियो । त्यसक्रममा नेविसंघका ३ नम्बर क्षेत्रीय सभापति होमनाथ पोखरेल, नेविसंघ क्याम्पस इकाई सभापति विजय तोलाङ्गी, सचिव समीर सम्राट र सदस्य जीवन बस्नेत घाइते भएका थिए ।

अखिलका नेता एवं स्ववियु सभापति सन्तोष लिम्बु, स्ववियु सदस्य कमल कार्की, क्याम्पस कमिटी अध्यक्ष मिलन बस्नेत, उमेश सेन्चुरी लगायतले आफूहरुमाथि कुटपिट गरेको भन्दै नेविसंघले जाहेरी दिएको छ । तर, प्रहरीले अखिलका नेताहरुमाथि अहिलेसम्म कुनै कारवाही गरेको छैन ।

सुकुना क्याम्पस प्रशासन पनि अहिलेसम्म ‘दोहोरो सुविधा’ को वचाऊमा वकालत गर्दै नेविसंघको आलोचनामै केन्द्रित देखिन्छ । कुटपिट र गुण्डागर्दीमा संलग्नमाथि कारवाही चलाउन र शैक्षिक संस्थामा शान्ति कायम गर्न क्याम्पस प्रशासन पनि चुकेको छ । क्याम्पस प्रशासनले कुटपिटमा संलग्न अखिल कार्यकर्ताको बचाऊ गरिरहेको र प्रहरी पनि अहिलेसम्म मूकदर्शक बनिरहेको पिटाइ खानेहरुको गुनासो छ ।

कुटपिटजस्तो फौजदारी घटनामा कारवाही चलाउन प्रहरीले राजनीतिक आस्थाका आधारमा निरीहता प्रदर्शन गरिरहेको र यसले शान्ति सुरक्षामा नेपाल प्रहरी तीव्र राजनीतिकरणको शिकार बनेको कांग्रेसका नेताहरु बताउँछन् । यही तनावका कारण बुधवारयता सुकुना बहुमुखी क्याम्पसमा पठनपाठन ठप्प हुँदा विद्यार्थीहरु मारमा परिरहेका छन् ।

बिग्रेको वातावरणलाई सहज बनाउन क्याम्पस प्रशासन, मोरङ प्रहरी र प्रमुख राजनीतिक दलका नेताहरु निकम्मा सावित भएका छन् ।

नेविसंघ भन्छ– बहालवाला मन्त्रीको क्षेत्रमा दुई तिहाइको छायाँ

आफ्ना कार्यकर्ता कुटिएपछि दिएको जाहेरी दर्ता नगरेका कारण नेविसंघ र कांग्रेसका नेताहरु प्रहरीसँग असन्तुष्ट बनेका छन् ।

सुकुना बहुमुखी क्याम्पस मोरङ क्षेत्र नम्बर ३ मा पर्छ । क्षेत्र नम्बर ३ बाट निर्वाचित संसद भानुभक्त ढकाल केपी ओली नेतृत्वको सरकारमा कानुन मन्त्री छन् ।

आफ्ना कार्यकर्तालाई पक्राउ नगर्न प्रहरीमाथि मन्त्री ढकालको दबाव रहेको नेविसंघको आरोप छ । नेविसंघ नेताहरु प्रहरीमा दुईतिहाई बहुमतको सरकारको छायाँ परेको गुनासो गर्छन् ।

आफ्ना कार्यकर्ता कुट्नेविरुद्ध कारवाहीका लागि किटानी दिँदा पनि प्रहरीले छानविन नगरेको नेबिसंघ क्षेत्रीय सभापति होमनाथ पोखरेल बताउँछन् ।

‘हामीले जाहेरी त दियौं, तर प्रहरीले दर्ता नै गरेन,’ पोखरेल भन्छन् ‘यो बहालवाला मन्त्री (भानुभक्त ढकाल) को क्षेत्र पर्‍यो ।’

पोखरेल आफैं फौजदारीमा संलग्न

अखिलको कुटाइबाट सामान्य घाइते भएका नेविसंघका क्षेत्रीय नेता होमनाथ पोखरेल तिनै व्यक्ति हुन्, जसको विरुद्धमा समेत बेलबारी प्रहरीमा उजुरी परेको छ । शुक्रबार बिहान पोखरेलकै नेतृत्वमा स्थानीय पत्रकार निकेश बरालमाथि  कुटपिट भएको थियो । नेविसंघको जुलुसमा तस्वीर खिच्दै गर्दा क्रममा बराललाई ‘तँ अखिले होस्’ भन्दै पोखरेल र उनका सहयोगीहरुले कुटेका थिए ।

नेविसंघका नेता होमनाथ पोखरल समेतको समूहबाट पिटाइ खाएका पत्रकार बरालले पोखरेलविरुद्ध बेलबारीमा किटानी जाहेरी दिँदा प्रहरीले ‘माथिको आदेश चाहिन्छ’ भन्दै दर्ता गर्न नमानेको पीडित पत्रकार बताउँछन् ।

त्यसैगरी सुकुना क्याम्पसका प्राध्यापक केशव भट्टराईमाथि आक्रमण गर्नेलाई पनि प्रहरीले अहिलेसम्म कुनै कारवाही गरेको छैन । प्राध्यापक भट्टराईलाई नेविसंघका कार्यकर्ताले कुटपिट गरेको पीडित पक्षको दाबी छ ।

पत्रकार महासंघका अध्यक्ष भन्छन् – ‘माथिको आदेश’ भन्दै जाहेरी लिएनन्

यसैवीच पत्रकार कुटिएको घटनामा पत्रकार महासंघ प्रदेश १ अध्यक्ष बिक्रम लुइँटेल उजुरी दर्ताका लागि बिराटनगरबाट बेलबारी पुगेका थिए । तर, ‘कुटपिट गर्नेविरुद्ध जाहेरी लिन माथिको आदेश चाहिन्छ’ भन्दै इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईले जाहेरी नै दर्ता गर्न नमानेको पीडितलाई उधृत गर्दै लुइँटेलले बताए ।

बेलबारीमा जाहेरी दर्ता नभएपछि लुइँटेलले प्रदेश १ प्रहरी प्रमुख डीआइजी केदार रिजाललाई यसबारे गुनासो गरे । डीआइजी रिजालले जाहेरी दर्ता गर्ने आश्वासन त दिए । तर, मोरङ र झापाको भ्रमणमा आएका प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौं फर्किएपछि मात्रै उजुरीको छानविन अघि बढाउने रिजालले आश्वासन दिएको अध्यक्ष लुइँटेलले अनलाइनखबरलाई बताए ।

प्रदेश अध्यक्ष लुइँटेल पत्रकार कुटिएको घटनामा मोरङ प्रहरी निरीह भएको बताउँछन् । ‘मोरङका एसपी नियम कानुनभन्दा बाहिर जादिनँ, प्रेसर पनि मान्दिनँ भन्थे,’ लुइँटेलले अनलाइनखबरसँग भने ‘तर किटानीसहितको उजरी दर्ता गरेनन् ।’

आफूलाई मन लागेका साना–साना उजुरीमा समेत छिटो प्रकृया अघि बढाउने प्रहरी उपरीक्षक केसीले पत्रकार कुटिएको विषयमा भने छानविन गर्न तदारुकता नदेखाएको लुइँटेल बताउँछन् ।

उता इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक रामकुमार राई रीतपूर्वक उजुरी नआएका कारण दर्ता नभएको बताउँदै पन्सिएका छन् । उनले दुईवटा घटनामा निवेदन लिए पनि रीतपूर्वक उजुरी नआएका कारण पत्रकारको उजुरी दर्ता नगरेको बताए । तर, स्थानीय पत्रकार चाहिँ ‘यो घटना राष्ट्रिय स्तरको भएकाले माथिको आदेशका कारण दर्ता गर्न नसकिने’ इन्स्पेक्टरले बताएको दाबी गर्छन् ।

एसपी भन्छन्– त्यसै जाहेरी लिन मिल्दैन

मोरङ प्रहरी उपरीक्षक एसपी मनोजकुमार केसी घटनाको अनुसन्धान भइरहेकाले त्यसै जाहेरी दर्ता गर्न नमिल्ने बताउँछन् । ‘एउटा मात्रै केसको जाहेरी एउटा हुन्छ भन्ने हो ।’ उनले अनलाइनखबरसँग भने ‘एउटा घटनाको धेरै जाहेरी लिन अवस्था हुँदैन, हामी अनुसन्धान गरिरहेका छौं ।’

सुकुना क्याम्पसको विवादमा ४/५ वटा जाहेरी प्रहरीसमक्ष आएको एसपी केसीको भनाइ छ । उनी भन्छन्, ‘हामी अनुसन्धान गरिरहेका छौं, पत्रकार कुटिएको विषयमा घाउ जाँचको रिपोर्ट मगाएको छु ।’

यसैवीच नेवि संघमाथि कुटपिट गरेको आरोप खेपिरहेका सत्तारुढ अखिलका कार्यकर्ताले पनि आफूहरुमाथि अभद्र व्यवहार भएको भन्दै नेविसंघका केही स्थानीय नेताविरुद्ध किटानी जाहेरी दिएको प्रहरीको भनाइ छ ।

सुरुमा क्याम्पस प्रशासनले क्याम्पसभित्रको विषय आफैं मिलाउने भन्दै प्रहरीलाई रोकेको बताउँदै क्याम्पस प्रशासनले रोकेपछि कुटपिटमा संलग्न विद्यार्थीलाई पक्राउ नगरेको प्रहरीको दाबी छ । क्याम्पसको विवादमा अनुसन्धान गर्दा ज्यानमार्ने उद्योग प्रमाणित गर्न सक्ने अवस्था नहुने मोरङका डीएसपी घनश्याम श्रेष्ठ बताउँछन् ।

तर, क्याम्पस प्रशासनमा नेकपा हावी रहेको कांग्रेस नेताहरुको आरोप छ । त्यसैगरी प्रहरीमा पनि नेकपा सरकारको छायाँ देखिएको विपक्षी कार्यकर्ताको आरोप छ ।

डीआइजी भन्छन्– मोरङमै बुझ्नुहोला !

यसैवीच हामीले प्रदेश १ प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) केदार रिजाललाई यी घटनाहरुबारे जिज्ञासा राख्यौं । उनी सुकुना क्याम्पसको विवादबारे ‘मोरङ प्रहरीमै बुझ्नुहोला’ भन्दै तर्किए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सवारीमा व्यस्त रहेका डीआइजी रिजालले सुकुनाको विवाद मोरङ प्रहरीले हेर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment