Comments Add Comment

‘आमा भन्नुहुन्थ्यो, धत् ! केटीले पनि फुटबल खेल्छन्’

१७ चैत, काठमाडौं । मैदानमा आक्रामक फुटबलरको रुपमा चिनिन्छिन् मञ्जलीकुमारी योञ्जन । तर, उनको हृदयको कोमलता उनीसित कुरा गर्दा मात्रै महसुस हुन्छ । कठिन संघर्षमा हुर्किएकी मञ्जली आफ्नो अतितमा फर्किँदा अहिले पनि भावविह्वल बन्छिन् ।

उनी ८ वर्षकी हुँदा आर्थिक अभावका कारण आमा फूलमाया वैदेशिक रोजगारीका लागि लेबनान गइन् । बाबा टेकबहादुर योञ्जन कामकै कारण घर बाहिर नै हुन्थे । त्यसैले बाबुआमाकी जेठी छोरी भएकाले परिवारको सम्पूर्ण बोझ मञ्जलीको टाउकोमा थियो ।

घरमा मञ्जली, बहिनी र भाइ गरी तीन जना थिए । बेलाबेलामा बाबा घरमा आए पनि भाइबहिनी हेर्नेदेखि घरको काम मञ्जलीले नै गर्नुपर्थ्यो । साथीभाइसँग खेल्ने रमाउन त परैको कुरा, विद्यालय पनि उनको लागि बिरानो जस्तै हुँदै थियो । दुःखै दुःखले थिचिएकी मञ्जलीका लागि फुटबलर बन्ने कुरा त कल्पनाभन्दा पनि बाहिर थियो ।

रौतहट चन्द्रनिगाहपुरमा हुर्किएकी उनी गाउँमा दाइहरुले फुटबल खेलेको चाख मानेर हेर्थिन् । खेल्न मन पनि लाग्थ्यो । तर, केटाहरुको हुलमा मिसिएर खेल्न सम्भव थिएन ।

तर उनको जीवनले एकाएक नयाँ मोड लियो । अहिले राष्ट्रिय महिला फुटबल टिमकी महत्वपूर्ण सदस्य छिन् उनी । उनले मैदानमा आफूलाई प्रमाणित पनि गरिसकेकी छिन् । विराटनगरमा सम्पन्न साफ महिला च्याम्पियनसिपमा पनि उनको खेल लोभलाग्दो नै रह्यो । उनले भुटान र बंगलादेशविरुद्ध गोल गरेकी थिइन् ।

यसरी बनिन् फुटबलर

बाल्यकालमा पाएको दुःख सम्झिँदा मञ्जलीका आँखा रसाउँछन् । अन्तरवार्ताका क्रममा पनि भावुक बनेकी मञ्जलीले पारिवारिक अवस्थाका कारण सानोमा राम्रोसँग पढ्न नपाएको दुःख पोखिन् ।

‘हाम्रै लागि भनेर आमा विदेश जानु भएको होला । तर, ‘मैले स्कुल पनि जान पाइनँ । घरमा सबै काम गर्नुपर्थ्यो । बहिनी र भाइलाई हेर्नुपथ्र्यौ । आमालाई सम्झेर रुन्थेँ’ मञ्जली सुुँक्सुकाइन् ।

करिब तीन वर्ष लेबनानमा बसेर आमा घर फर्किएपछि भने उनको लुटिएको खुशी फर्कियो । अब उनी घरबाट फुर्सदिलो भइन् । साथीभाइसँग समय बिताउन थालिन् ।

फुटबल खेल्ने चाहना मनमनै दबाइरहेकी मञ्जलीले एक दिन हिम्मत गरेर आमालाई भनिन्, ‘आमा म पनि फुटबल खेल्ने ।’

आमाले भनिन्, ‘धत् लाटी, केटीले पनि फुटबल खेल्छन् ?’

आमाले अनुमति नदिए पनि उनले गाउँकै चौर र खेतमा मोजाको बल हानेर धीत मार्ने प्रयास गरिन् । त्यो देखेर गाउँका दाइहरुले उनलाई फुटबल खेल्न अवसर दिए ।

 

गाउँमा खेल्दाखेल्दै उनी खारिँदै गइन् । उनले रौतहट जिल्लाबाट फुटबल खेल्ने अवसर पाइन् । ‘दुई वर्ष रौतहट जिल्लाबाटै खेलेँ । इन्टर स्कुल र एनसेल कप भएमा भाग लिएँ,’ उनी सुनाउँछिन् ।

यू–१४ प्रतियोगितामा छनोट हुँदै काठमाडौं आएकी मञ्जलीले २०७२ वैशाखमा नेपालमै सम्पन्न एएफसी यू–१४ गर्ल्स क्षेत्रीय च्याम्पियनसिप फुटबलमा पहिलोपटक राष्ट्रिय जर्सी लगाएकी थिइन् । त्यसपछि उनको फुटबल करिअरले लय समात्यो । यू–१४ मा राम्रो छाप छोडेकी मञ्जलीमाथि विभागीय टिम एपीएफको नजर प¥यो ।

पूरा भएको सपना

सपना साकार हुनु या नहुनु आफ्नो ठाउँमा छ तर, सपना देख्ने अधिकार सबैलाई हुन्छ । फुटबलमा भिज्न थालेपछि मञ्जलीले नेपाली राष्ट्रिय टिमबाट खेल्ने सपना बुन्न थालिन्, लगातार मेहनत पनि गरिन् । एक दिन यो सपना पनि यथार्थमा बदलियो ।

एपीएफ क्लबमा आबद्ध भएपछि लिग खेलिन् । आफ्नो कमजोरीलाई सुधार्दै गइन् । प्रधानसेनापति कपमा राम्रो प्रदर्शन गरेपछि उनलाई भारतको सिलिगुढीमा हुने चौथो साफ महिला च्याम्पियनसिप फुटबलका लागि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाइयो । क्लोज क्याम्पमा पनि मिहिनेत गरिन् । लेफ्ट एट्याकिङ मिडफिल्डर मञ्जली फाइनल लिस्टमा पनि पर्दै साफ च्याम्पियनसिप खेल्न भारततर्फ लागिन् ।

भुटानविरुद्ध नेपालको पहिलो खेलमै मञ्जलीले डेब्यु गरेकी थिइन् । त्यसपछि उनले साफ च्याम्पियनसिपको सबै खेल खेलिन् भने गोल पनि गर्दै आफ्नो डेब्यु प्रतियोगितामै राम्रो छाप छोड्न सफल भइन् । उनले माल्दिभ्सविरुद्ध एक गोल गरेकी थिइन् ।

‘साफ महिला च्याम्पियनसिपको लागि टिममा परेँ । सिनियर टिममा पर्दा छुट्टै उमंग हुने त भइहाल्यो’, मञ्जली सुनाउँछिन् ।

साफ च्याम्पियनसिपको इतिहासमा नेपाल सेमिफाइनलबाट बाहिरिएको त्यो एक मात्र प्रतियोगिता बन्यो । यसअघि लगातार तीनपटक नेपाल फाइनलमा पुगेको थियो । टिम असफल भएपनि मञ्जली भने व्यक्तिगतरुपमा सफल भइन् । त्यसयता, उनी बेन्चमा बस्नु परेको छैन । पहिलो रोजाइमै परेर खेल्ने गरेकी छिन् ।

उनका अनुसार अब आमा फूलमाया पनि छोरी फुटबल खेलाडी भएकोमा खुशी मान्न थालिन् ।

हौसला र साथ दिनेहरु पनि बढिरहेका छन् । उनी भन्छिन्, ‘गाउँघरबाट पनि आजभोलि निकै राम्रा सन्देशहरु पाइरहेको हुन्छु । अझै राम्रो खेल्दै जानू भन्नुहुन्छ । खुशी लाग्छ ।’

लक्ष्य गोल्ड मेडल

भारतको एकाधिकार तोड्दै साफ च्याम्पियनसिपको उपाधि नेपालले आफ्नै भूमिमा जित्ने अवसर चुकायो । यसले अन्य खेलाडी जस्तै मञ्जलीलाई पनि खिन्न बनाएको छ ।

उनको पनि सपना हो, नेपाललाई साफ च्याम्पियन बनाउने । ‘हामीले हार खाएको भने होइन । जसरी भए पनि नेपाललाई गोल्ड मेडल जिताएरै छाड्ने लक्ष्य छ,’ मञ्जली भन्छिन्, ‘पहिले यस्तो राम्रो टिमचाहिँ थिएन । प्रतियोगिता हुनुभन्दा १०–१५ दिनअघि मात्रै क्लोज क्याम्प हुने गरेको थियो । तर अहिले त्यस्तो छैन ।’

अनिता बस्नेत राइट विङबाट खेल्छिन् भने मञ्जली लेफ्टबाट । दुवै आक्रामक फुटबल खेल्न रुचाउँछन् र दुवैको खेल्ने शैली एउटै छ । दुवै खेलाडी एपीएफका ब्यवसायिक फुटबलर हुन् ।

यो पनि पढ्नुहोस साफ च्याम्पियनसीपमा जर्सी नम्बर ११

‘क्लबमा पनि सँगै हो । राष्ट्रिय टिममा पनि अहिलेसम्म सँगै खेलिरहेका छौं । पासहरुदेखि तालमेल पनि राम्रोसँग मिल्छ,’ उनी भन्छिन् । तालमेल मात्र होइन, गोल सेलिब्रेसन गर्ने स्टाइल पनि दुवैको मिल्छ ।

तस्वीर/भिडियो :  शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment