Comments Add Comment

आँधीकोे लीला ! घर छैन, बालीनाली पनि छैन !

भुइँचालोमा त कमसेकम बारीको अन्न बचेको थियो !

१८ चैत, फेटा (बारा) । सिमरा विमानस्थलबाट सोमबार साँझ वीरगञ्जतर्फ लाग्दा हावाहुरी र त्यसले बच्चाएको वितण्डाको कुनै संकेत पाइएन । जीतपुरबाट अगाडि बढ्दा जब परवानीपुर गाउँपालिकाको चैनपुर भन्ने ठाउँमा पुगियो, त्यहाँ आँधीको मच्चाएको तहस-नहस आँखामा ठोक्कियो ।

बिजुलीका पोलहरु ढलेर सडकमै आइपुगेका छन् । रोकिराखेका मालवाहक ट्रक र बसहरु लडेका छन् । हामी पुग्दा क्रेनले सवारी साधनलाई पन्छाउने प्रयास गरिरहेको दृश्य देखियो ।

रुख लडेर बाटो छेकिएको थियो । मूल सडक त सुचारु भएको छ, तर, सहायक सडक अस्तव्यस्त छ । तर, चैनपुर कटेर वीरगञ्ज आइपुग्दासम्म फेरि ठूलो क्षति देखिँदैन ।

वीरगञ्जबाट कलैया रोड लागेपछि केही मिनेटमा भलवी पुगिन्छ । यो चैनपुर पछाडि पर्ने भएकाले त्यहाँबाट आएको हावाहुरी फेटा गाउँपालिकाको भलवीमा पुगेर भूमरी परेको अनुमान लगाउन सकिन्छ ।

भल’वी भरवलीयाको सुरुमा एउटै घरमा सासूबुहारीको मृत्यु भएको रहेछ । मानिसहरु शव उठाउन सक्ने अवस्थामा समेत थिएनन् । सबैभन्दा धेरै मानवीय क्षति यही गाउँमा भएको छ ।

गाउँमा करिव २५० घर थिए । तर, तीमध्ये आधाभन्दा बढी ध्वस्त भएका छन् । बाँकी सग्लो बसेका केही पक्की घरहरु भेटिए । गाउँभरिका मानिसहरु ती घरमा अटाउन सक्दैनन् । बाँकी बचेको जायजेथा कुरेर मानिसहरु भत्किएका घरको भग्नावशेषमै बसिरहेका भेटिए ।

सोमबार दिउँसो केही सहयोगी मन भएकाहरुले चाउचाउका पोका र पानी ल्याएर दिएका थिए । तर, त्यसले पेट भरिने अवस्था छैन ।

प्रदेश २ सरकारका मुख्यमन्त्री, मन्त्री र अधिकारीहरु राहत तथा उद्दारमा सक्रिय देखिएका छन् ।

खानाका लागि सामूहिक मेस र त्रिपालको बन्दोबस्त मिलाउने प्रयास भइरहेको उनीहरु बताउँछन् । तर, स्रोत साधनको अभावमा उनीहरुको सक्रियता पर्याप्त हुन सकेको छैन । असाध्यै लामखुट्टे लागेकाले बालबालिकाको अवस्था दयनीय छ ।

पक्की घर पनि बचेनन्

०७२ बैशाखको भूकम्पले गाउँहरुमा जेजति क्षति गरेको छ, यहाँको अवस्था त्यो भन्दा फरक छैन । हामीले भूकम्पको भन्दा हावाहुरीको क्षति ठूलो देख्यौं । एक त यहाँका घरहरु कमजोर संरचना थिए, जसलाई हावाहुरीले उडाएर ध्वस्त बनायो ।

तर, पक्की घरहरु समेत भत्किएका छन् । पानी तान्ने कलसमेत उखेलिएका छन्, पार्किङ गरेर राखेका बस ट्रकहरु पल्टिएका छन् ।

कतिसम्म भने बाँसका झ्याङ नै उलेखिएको देखियो । यो दृश्य भने धेरैका लागि अनौठो लाग्ने थियो । मान्छेले मुला उखेलेजसरी आँधीले बाँस उखेलेको देखियो । यसैबाट अनुमान लगाउन सकिन्छ आँधीबेहेरी कति शक्तिशाली थियो ।

छानो र मानो दुबै छैन

हावाहुरीले घरको छानो मात्र होइन, घरभित्र रहेको धान राख्ने भकारी (बेरी) समेत उडाएको छ ।

भत्किएका संरचनाहरु हेर्दा ०७२ सालको भूकम्पमा खण्डहर बनेको सिन्धुपाल्चोकजस्तै देखिन्छ । तर, भूकम्प गएका बेला घरमा भएको अन्नबाली क्षति भए पनि खेतबारीमा भएको अन्न त थेरथोर बचेको थियो । तर, यहाँ त त्यो पनि रहेन । अधिकांशको बर्षभरि खाने अन्ने छैन । ढिकुटीको मात्र हैन, खेतबारीमा लगाएको मकै तथा गहुँ पनि सोत्तर बनेको छ ।

सोमबार दिउँसो हामी पुग्दा फेटाको अवस्था विभत्स छ, विजोग छ । शब्दमा बयान नै गर्नै सकिँदैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment