Comments Add Comment

प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाविरुद्ध उजुरी आह्वान

१९ चैत, काठमाडाैं । प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएका दिनेशकुमार थपलिया र समावेशी आयोगको अध्यक्षमा सिफारिस भएकी विष्णुमाया ओझाविरुद्ध उजुरी आव्हान गरिएको छ ।

संसदीय सुनुवाई समितिको मंगलबार बसेको बैठकले थपलिया र ओझाविरुद्ध उजुरी आव्हान गरेको हो । थपलिया संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बहालवाला सचिव हुँदै प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएका हुन् ।

सुनुवाई समितिको निर्णयअनुसार बुधबार निर्वाचन आयोगको प्रमुखमा सिफारिस थपलिया र समावेशी आयोगको सदस्यमा सिफारिस ओझाविरुद्ध उजुरी आव्हान सम्बन्धी सूचना प्रकाशित हुनेछ ।

सूचना प्रकाशित भएको मितिले १० दिनभित्र अर्थात यहि चैत २९ गतेसम्ममा थपिलिया र ओझाविरुद्ध कुनै उजुरी भए जो कोही नेपाली नागरिकले समिति सचिवालयमा पेश गर्न सक्नेछन् । ‘उहाँहरुको नाममा कुनै उजूरी भए टिपाउन १० दिनभित्र अनुरोध गर्दछु ,’ बैठकमा समितिका सभापति लक्ष्मणलाल कर्णले भने ।

यसअघि संवैधानिक परिषदले चैत ११ गते सोमबार निर्वाचन आयोगको प्रमुख आयुक्तका लागि थपलिया र समावेशी आयोगको सदस्यमा विष्णुमाया ओझाको नाम सिफारिस गरेको थियो ।
उक्त निर्णय गर्दा प्रमुख प्रतिपक्षी दलका संसदीय दलका नेता शेरबहादुर देउवा उपस्थित थिएनन् । प्रमुख प्रतिपक्षीको उपस्थिति बिनै निर्णय भएको भन्दै कांग्रेसले संवैधानिक परिषदको निर्णयप्रति असन्तुष्टि जनाउँदै आएको छ ।

मंगलबारको सुनुवाई समिति बैठकमा कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले संवैधानिक परिषदको अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तारै संवैधानिक परिषदकै भूमिका कमजोर बनाउन लागेको आरोप लगाए ।

‘प्रधानमन्त्री स्टेप बाइ स्टेप सबै अंगहरु क्याप्चर गर्दै जाने र परिषदलाई कमजोर बनाउने दिशामा गए जस्तो देखियो,’ कांग्रेस सांसद कार्कीले भने, ‘प्रतिपक्षीको भूमीकालाई पनि कमजोर पारेर संसदमा होइन सडकमा जान भन्न खोजे जस्तो छ । यस्तो भयो भने दूर्भाग्य हुन्छ ।’

यसअघि पाँच संवैधानिक आयोगका अध्यक्षहरुको सिफारिस गर्दा प्रमुख प्रतिपक्षीको सहभागितालाई अनिवार्यता नगरिएको भन्दै कांग्रेसले सुनुवाई समितिको बैठक नै बहिष्कार गरेको थियो ।

यसपटक भने कांग्रेस सांसदहरु सुनुवाई प्रक्रियामा सहभागि भएका छन् । प्रक्रियामै रहेर आफ्ना कुराहरु राख्ने कांग्रेस सांसद कार्कीको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment