Comments Add Comment

क्यानडाको नक्कली भिसा र टिकट देखाएर डेढ करोड ठगी

१९ चैत, विराटनगर । क्यानडा पठाउने भनेर रकम लिई दलालले ठगी गरेको भन्दै सुनसरी र मोरङका ३० भन्दा बढीले श्रम कार्यालयमा उजुरी गरेका छन् ।

उजुरी गरेको लामो समय भइसक्दा पनि ठगी गर्नेहरु फरार नै रहेका छन् । मुख्य एजेण्टहरु निरञ्जन पुरी, गणेशप्रसाद गिरी, दीपेन्द्रकुमार झालगायतले स्थानीय युवाको सहयोगमा ३० भन्दा बढीसँग डेढ करोड रुपैयाँ भन्दा बढी रकम लिएका पीडितहरुको भनाइ छ ।

दलालबाट ठगिएपछि सुनसरीका ६ जना र मोरङका ७ जनाले श्रम कार्यालय विराटनगरमा छुट्टाछुट्टै उजरी गरेका छन् । सुनसरी रामधुनी नगरपालिकाका ६ युवाबाट ३७ लाख उठाएर दलाल फरार भएका छन् ।

ठगिनेहरुमा धर्मेन्द्र चौधरी, योगनारायण चौधरी, सुरज चौधरी, लिलेन्द्र चौधरी, कृष्णकुमार चौधरी र सन्तोष चौधरी छन् । नक्कली भिसा र टिकट देखाएर दलालले रकम लिएको पीडितहरु बताउँछन् ।

गत असारमा नै पठाउने भन्दै पाँच जनाबाट सात लाखका दरले ३५ लाख र कृष्ण चौधरीसँग २ लाख रुपैयाँ उठाएर भागेको पीडितहरुले बताएका छन् । रामधुनीका ६ जना युवाबाट राजन राजवंशी, किशोरकुमार ठाकुर, विनोदकुमार ठाकुरले रकम उठाएका हुन् ।

त्यही समूहले मोरङका सात जना युवाबाट प्रतिव्यक्ति ५ लाख रुपैयाँको दरले ३५ लाख लिएको श्रम कार्यालयमा उजुरी परेको छ । आफूहरु ठगिएको भन्दै मोरङ सुनवर्षी नगरपालिका ९ का हंशराज राजवंशी, कशंराज राजवंशी पंकज राजवंशी, अजय देवगत राजवंशी, प्रेमलाल राजवंशी, सुवासकुमार मण्डल र रंगेली नगरपालिका ५ का सुवासकुमार मण्डलले गत पुसमा श्रम कार्यालयमा निवेदन दिएका थिए ।

यो समूहले मोरङ र सुनसरीका ३० भन्दा बढी युवाबाट डेढ करोड रुपैयाँ उठाएको जानकारी आएको श्रम कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले बताए । ठगी गिरोहका निरञ्जनको स्थायी ठेगाना नेपालगञ्ज हो । तर उनी दिल्लीमा बस्दै आएका छन् । त्यस्तै गणेशप्रसाद गिरी र दीपेन्द्रकुमार झा झापाका हुन् ।

रंगेली र सुनसरी रामधुनीको घटना एउटै प्रकृतिको भएकाले मुख्य दलाल पनि एउटै रहेको प्रेमप्रसाद सञ्जेल बताउँछन् । ठगीमा संलग्नलाई पक्राउ गरी उपस्थित गराउन श्रम कार्यालयले प्रहरी कार्यालयहरुलाई पत्र लेखेको छ ।

सञ्जेलका अनुसार मोरङबाट परेको उजरी भने वैदेशिक रोजगार बिभाग पुगेको छ । सञ्जेलले ठगी गर्ने गिरी र पुरीलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय झापा र बाँकेको प्रशासन कार्यालयलाई समेत प्रत्रचार गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment