Comments Add Comment

कांग्रेस मकवानपुर सभापतिको प्रश्न– राहत छाडेर गुटगत भेला किन ?

२० चैत, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले हावाहुरी प्रभावितको राहतबारे बेवास्ता गर्दै काठमाडौंमा पार्टी जिल्ला सभापतिहरुको भेला डाकिएको आरोप लगाएका छन् ।

हेटौंडा भेलाको म्यान्डेट पार्टीले बेवास्ता गरेको भन्दै कांग्रेस जिल्ला सभापतिहरुको भेला काठमाडौंमा बोलाइएको छ । तर, देउवा पक्षधर मानिने बानियाँले विधान र राष्ट्रिय आवश्यकताविपरीत भेला बोलाइएको भन्दै त्यसको कडा आलोचना गरेका छन् ।

‘हेटौंडा भेलाले दिएको म्याण्डेट कार्यान्वयन भएको छैन । यो दुःखद् हो’, हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा बानियाँले प्रश्न गरे, ‘मुलुक विपत्तिमा परेका बेला राहतबारे सोच्ने कि गुटगत भेला गर्ने ?’

विधानविपरीतको भेलाले पार्टीलाई थप कमजोर बनाउने तर्क नेता बानियाँको छ । बलियो प्रतिपक्षीको भूमिका खेल्नुपर्ने समयमा आयोजना गरिने यस्ता गुटगत भेलाले पार्टीलाई कमजोर पार्ने भएकाले यसबारे गम्भीर हुन उनले पार्टी पंक्तिलाई आग्रह गरे ।

बानियाँले काग्रेसको विद्यमान नियमावली र अनुशासन समिति गलत भएको आरोप पनि पत्रकार सम्मेलनमा लगाउन भ्याए ।

‘विधानमा अल्पमत र बहुमतको कुरा गर्ने, नियमावली, अनुशासन कमिटी सर्वसम्मत गर्ने । अहिले जिल्ला पार्टी सभापतिलाई ‘मेरो’ र ‘तेरो’ भनेर जुधाउने ?’ बानियाँले भेलाबारे आक्रोस पोख्दै भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment