Comments Add Comment

एसईई दिएका विद्यार्थीलाई झापाबाट एसपीको पत्र

प्रिय भाइ/बहिनीहरु, मीठो सम्झना अनि धेरै माया ।

‘म आज जे छु, मैले हिजो गरेको कर्मको कारणले छु’ – स्टेफन कोबे ।

सर्वप्रथम त तपाईंहरुलाई परीक्षामा सफलताका लागि धेरै धेरै शुभकामना छ, अनि सँगसँगै बधाई पनि । किनकि तपाईंको परिवारमा आज तपाईं एक जिम्मेवार र परिपक्व सदस्यको भूमिकामा उभिने क्रममा हुनुहुन्छ । जीवन रमाइलो छ र प्राज्ञिक जीवनको लामो सङ्घर्षको यात्रामा तपाईं निस्कन लाग्नु भएको छ ।

बिहानीले दिनलाई दिशानिर्देश गर्दछ भने झैँ यस जिल्लामा हुर्की, बढी, पढी आज एसईई ग्राजुएट हुने क्रममा भाइरबहिनीहरुलाई आजको यो महत्वपूर्ण दिनको अर्थ पक्कै थाहा हुनेछ । मलाई लाग्छ, अहिलेसम्मको तपाईंको जीवनयात्रामा तपाईं अभिभावक र साथीहरुको सहयोगमा आफ्नै गतिमा हिँडिरहनु भएको थियो होला तर आउने भविष्यमा तपाईंको आफ्नै योजना, आकांक्षा, सपना र गन्तव्यहरू त छँदैछन् सँगसँगै परिवार समाज र देशप्रति समेत तपाईं का केहि कर्तव्य र जिम्मेवारीहरु पनि रहनेछन् ।

आमाबुबाले व्यबस्थापन गर्नु भएको खाना, नाना, छाना, औषधिमुलो, विद्यालय लगायतको शुल्क, हजुरबुबा र हजुरआमाले सुनाउनु भएको गीत, कथा, कविता र गुरुले खियाउनु भएको तीनवटा औंलाको सार्थकता तपाईंहरूको उज्ज्वल भविष्य सँगसँगै अध्ययन अनुसन्धान पश्चात सवल राष्ट्र निर्माणमा तपाईंहरुबाट गरिएको योगदानबाट मात्रै सार्थक हुन्छ। आज म तपाईंहरुसमक्ष एक सचेत नागरिक र जिम्मेवार प्रहरीको हैसियतले केही कुराहरु राख्न चाहन्छु । मलाई लाग्छ तपाईंहरुबाट यसमा सकारात्मक पहल हुने नै छ यसको रोकथाम र नियन्त्रणका लागि निरन्तर लागि पर्नु हुनेछ ।

तपाईंहरुलाई थाहा नै होला, लागू औषधको अवैध ओसारपसार र दुर्व्यसनले आज हाम्रो समाज र देशलाई मात्र नभएर पुरै विश्वलाई नै नराम्रोसँग गाँजिरहेको छ । तपाईं हरुको उमेरका युवा तथा उर्जावान दाजु-भाइ र दिदी-बहिनी लागू पदार्थको कुलतमा डुबेका छन् र आफ्नो जीवनलाई कष्टकर बनाइरहेका छन्।

एसपी मैनाली ।

तपाईं हामी सबैले बुझ्ने भाषामा भन्दा लागू पदार्थको दुर्व्यसन भनेको चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह वा परामर्श बिना आफूखुशी औषधि प्रयोग गर्ने तथा कानूनले लागूऔषध भनी परिभाषित गरी निषेध गरेको पदार्थको प्रयोग गर्ने कार्य वा प्रबृत्ति हो । कुनै व्यक्तिलाई सधैभरी लागू औषधको सेवन गरिरहनु पर्ने अबस्थाको सिर्जना हुनु र सेवन गर्ने व्यक्तिको मानसिक र शारीरिक अबस्थामा परिबर्तन आउने कार्य नै दुर्व्यसन हो ।

तसर्थ, लागूऔषध कसैले पनि प्रयोग नगरौं । प्रयोग गर्ने गरेको भए आजैको दिनबाट बन्द गरौं । लागूऔषधको उत्पादन, ओसार-पसार, भण्डारण, खरिद- बिक्री तथा सेवनजन्य कार्य दण्डनीय अपराध (पन्ध्र वर्षदेखि जन्म कैद र पाँचलाख रुपैयाँदेखि पच्चीसलाख रुपैयाँसम्म जरिवाना) हुने भएकोले यस्ता कार्य कसैले पनि नगरौ । लागूऔषध दूर्व्यसनको कारणले मानिसको अकालमा ज्यान जान सक्छ र परिवार तहस-नहस हुन सक्छ, त्यसैले यसबाट हामी सधैं टाढै रहौ ।

साथीहरुको देखासिकी, नक्कल गर्ने तथा फेसनको रूपमा लागू औषधको प्रयोग कहिल्यै नगरौं । कानूनले प्रतिबन्ध लगाएका अवैध औषधिहरू (लागूऔषध)को प्रयोगलाई निरूत्साहित गरौं । व्यक्तिगत समस्याबाट टाढा रहन तथा तनाब कम गर्न लागूऔषधको साहारा कहिले पनि नखोजौं । यो गलत हो । साथीभाइको करकाप, पारिवारिक समस्या तथा पढाइमा असफलताको कारणबाट लागू औषधको प्रयोग भुलेर पनि नगरौं । सामान्य व्यक्ति भन्दा लागूऔषधको प्रयोग गर्ने व्यक्तिमा फोक्सोको क्यान्सर,स्नायु ग्रन्थी सम्बन्धी समस्या, मुटु सम्बन्धी रोग, कुपोषण, महिलामा महिनावारीमा समस्या तथा विभिन्न श्वासप्रश्वास सम्बन्धी रोग लाग्ने सम्भावना बढी हुने भएकोले लागू औषधको कुलतबाट आफू पनि बचौं अरुलाई पनि बचाऔ । म आजको यो विशेष दिनमा तपाईंहरुलाई लागूऔषध विरुद्धको यही सन्देश दिन चाहन्छु ।

जसरी नङ र मासुको सम्बन्ध प्रगाढ छ, त्यसरी नै जनता र प्रहरीबीचको सम्बन्ध रहेको हुन्छ । तपाईं हरुले पनि गाउँ गाउँ अनि टोल टोलमा ‘लागू औषध त्यागौ, स्वस्थ, सवल, समृद्ध र समुन्नत समाजको निर्माण गरौं’  र ‘लागू औषधको गरे प्रयोग, सकिनेछ । जीवनको उपयोग’ जस्ता सन्देशहरु प्रचार-प्रसार गरी झापा जिल्लाको यस पवित्र भूमिबाट लागूऔषध विरुद्धको महाअभियानमा आफ्नो परिवारसहित सहयोग गर्नु नै हुनेछ भन्ने पूर्ण बिश्वास समेत लिएको छु ।

त्यस्तै प्रकारले हामीले प्रयोग गर्ने गरेको सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, भाइबर, ह्वाट्स एप, इन्स्टाग्राम, लगायतका पेज र वेवसाइटहरु प्रयोग गर्दासमेत उचित ध्यान पुर्‍याउन हुन र यसको गलत प्रयोगले समाजमा अपराध घट्न जाने र सम्बन्धित ब्यक्तिउपर कडा कानूनी सजाय (पाँच वर्षसम्म कैद र दुई लाखसम्म जरिवाना) हुने प्रावधान कानूनमा रहेको तथ्य त यहाँहरुलाई जानकारी नै होला । जसरी अलिअलि पौडन सिकेको ब्यक्तिले सावधानीपूर्वक मात्रै नदिरसमुन्द्रमा पौडनु उचित हुन्छ, त्यसरी नै सामाजिक सञ्जाल आदिको प्रयोग गर्दा पनि हरहमेशा सावधानीपूर्वक मात्र समाजको बृहत्तर हितमा गर्नु नै हुनेछ ।

अन्त्यमा, परिश्रमको फल अवश्य नै मीठो हुनेछ र चाडै नै त्यो फल तपाईंहरुलाई प्राप्त हुन सकोस भन्ने शुभेक्षासहित देशले मागेको र खोजेको बेला तपाईंहरुबाट उचित योगदान हुने नै छ भन्ने भन्ने पूर्ण बिश्वास लिदैं पुनः एक पटक परीक्षाको पूर्ण सफलताको शुभकामना दिदैं विदा लिन्छु । धन्यवाद, जय नेपाल ।

(जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी दिनेशराज मैनालीले एसईई परीक्षा दिएका विद्यार्थीका लागि लेखेको पत्र हो यो । उनले जिल्लाबाट सोमबारको अन्तिम दिनको एसईई परीक्षामा संलग्न १५ हजार ५ सय ८७ विद्यार्थीलाई यो पत्र प्रेषित गरेका थिए । अपराधशास्त्रमा स्नातकोत्तर गरेका मैनाली नेपाल प्रहरी स्कुल साँगाका पूर्वकमाण्डेन्ट हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment