Comments Add Comment

हुरी प्रभावितलाई चार कोठे घर बनाइदिने प्रदेश सरकारको घोषणा

२० चैत, जनकपुरधाम । प्रदेश २ सरकारले वारा र पर्सामा गएको हुरी प्रभावितहरुलाई चारकोठे घर बनाइदिने भएको छ । जसमा शौचालय समेत हुनेछ ।

बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले हुरीका कारण पूर्ण रुपमा क्षतिग्रस्त घरहरु सरकार बनाइदिने बताउका हुन् । आगामी चार महिनाभित्रै सबै घर बनाइसक्ने उनको दाबी छ ।

अहिले हुरी पीडितहरु कष्टकर जीवन जीउन बाध्य भएको भन्दै यसप्रति प्रदेश सरकार गम्भीर रहेको बताए ।

त्रिपालमुनी रहेका पीडितहरुलाई गर्मीका कारण समस्या भइरहेको भन्दै उनले केहि दिनभित्रै टेन्टभित्र सारिने बताए । ‘प्रभावित क्षेत्रमा लामखुट्टेको प्रकोप अत्यधिक देखिएपछि झुल पठाइसकिएको छ’ मन्त्री यादवले भने, ‘घटना भएदेखि नै प्रदेश सरकार पीडितहरुका लागि काम गरिरहेको छ र यसलाई निरन्तरता दिइरहेको छ ।’

उद्दार सकिए लगतै राहत वितरण प्रभावकारी भएको भन्दै उनले सहयोग गर्नेहरुलाई धन्यवाद दिए ।

१०४० घर पूर्ण रुपले क्षति

प्रदेशका आन्तरिक मामिलामन्त्रीले प्रदेशसभालाई दिएको जानकारीअनुसार हुरीका कारण बारामा २७ र र पर्सामा एक जनाको मृत्यु भएको छ । करिव एक हजार घाइते भएका छन् ।

उनका अनुसार बारामा ९ सय ५८ परिवारको घर पूर्णरुपले र ९ सय २२ को आंशिक रुपले क्षतिग्रस्त भएको छ । यस्तै पर्सामा १ सय २२ घर पूर्ण रुपले र ३ सय ८७ घर आंशिक रुपले क्षतिग्रस्त भएको प्रारम्भिक तथ्यांक आएको उनले बताए ।

एक परिवारलाई चार कोठे घर

प्रदशे सरकारले पूर्णरुपले घर क्षतिग्रस्त भएका परिवारलाई नयाँ घर बनाइदिने बताए । प्रदेश सरकारले बनाउने घरमा भन्सा र ३ वटा कोठा गरी चार कोठा हुनेछ । साथै शौचालय पनि हुनेछ ।

प्रदेशसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री यादवले बर्षा अगाबै सबैको घर बनिसक्ने बताए । संघीय सरकारसँग समन्वय गरेर घर बनाउन थाल्ने उनले बताए ।

तीन दिनभित्रै बत्ति बालिने, हरेक वस्तीमा ट्युवेल

प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री यादवले हुरीका कारण प्रभावित क्षेत्रमा बत्तिको समस्या भएको सुनाए । तीन दिनभित्र बत्ति बाल्ने काम सम्पन्न गर्ने गरी काम भइरहेको बताए । ‘यसका निम्ति वैकल्पिक उर्जाको क्षेत्रमा काम गर्नेहरुसँग कुरा भइसकेको छ’ मन्त्री यादवले भने, ‘तीन दिनभित्र पीडित समक्ष बत्ति पुग्छ ।’

प्रभावित वस्तीमा खानेपानीको अभाव हुन नदिन प्रभावित वस्तीमा ट्युववेलको व्यवस्था गरिएको सुनाए । ‘हरेक वस्तीमा दुई वटा ट्युववेल जडान गरिएको छ’ उनले भने ।

सांसदहरुले आफ्नो तलबबाट सहयोग गर्ने

प्रदेश २ का सांसदहरुले बारा र पर्साका हाबाहुरी पीडितका निम्ति आफ्नो तलव दिने घोषणा गरेका छन् । प्रदेशका २ जना सांसद अशोक यादव र फूल बाबुले एक महिनाको तलव दिने घोषणा गरेको प्रदेश २ का सभामुख सरोज यादवले जानकारी दिए ।

यस्तै १ सय ५ जना सांसदले एक हप्ताको तलव दिने घोषणा गरेको सभामुख यादवले बताए ।

शोक प्रस्ताव पारित

बुधबारको प्रदेशसभा बैठकले हाबाहुरीका कारण ज्यान गुमाउनेहरुप्रति श्रद्वाञ्जली व्यक्त गर्दै शोकसभा पारित गरेको छ । शोक प्रस्ताव पारित भएसँगै प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको सभामुख यादवले घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment