Comments Add Comment

एसएलसी बहिस्कार गर्ने ती निर्दोष अनुहार !

प्रत्येक वर्ष जब-जब एसएलसी (अहिलेको एसईई) परीक्षा आउँछ, तब-तब ती दृश्यहरु मानसपटलमा पुनर्ताजगी भएर आइदिन्छ । माओवादी द्वन्दको शुरुवात ताका अर्थात २ दशक अगाडि विसं. ०५४ मा रुकुमको दुर्गम उत्तरी भेगको प्रहरी चौकीमा भर्खरै खटिएको थिएँ । माओवादी जनयुद्ध वर्षगाँठको अघिल्लो दिन आफु खटिएको चौकीमा पुगेर गाउँको परिस्थिति अनि सुरक्षा स्थिति बुझ्दै स्थानीयसँग भिज्ने क्रममा थाहा हुँदै गयो, त्यस क्षेत्रमा माओवादीको सम्पूर्ण प्रभाव छ ।

हुन त माओवादीको पहिलो सफल एम्बुस कारवाही र प्रहरीको पहिलो हतियार लुटिएको अनि भर्खरै सम्पन्न स्थानीय निर्वाचन (विसं. ०५४ सालको) मा नेपाली कांग्रेस, तत्कालीन एमाले र राप्रपा समेतको उम्मेद्वारी हुँदा पनि मतपेटिकामा चाँहि शुन्य मत खसेको क्षेत्र थियो त्यो ।

यसबाट स्वतः अनुमान गर्न सकिन्थ्यो त्यहाँको अवस्था । त्यसैले आफु र आˆनालाई बचाउनका लागि पनि स्थानीय जनतामा प्रहरीलाई लैजाने प्रयास शुरु गर्दै थिएँ । फलस्वरूप जनताको घरदैलोसम्म पुग्ने, स्कुलमा पढाउनेदेखि भत्किएको पुल पुलेसो मर्मत गर्दै स्थानीय गाउँलेसँग खेलकुदमा सहभागी हुँदै जादा विस्तारै अलि सहज वातावरण बन्दै गएको महसुश हुँदै थियो ।

गाउँलेहरु पूर्णरुपमा प्रहरीसँग नजिक नभए पनि केही नजिक हुँदै गएकाले कहिलेकाहीँ अप्रत्यक्षरुपमा खबर आदान-प्रदान भने हुन थालिसकेको थियो । तर, जति जे भए पनि प्रहरीसँग कोही पनि प्रत्यक्ष देखिने गरी भेट गर्दैनथे । अझ भनौं, दोहोरो सम्वाद गर्न नपरे हुन्थ्यो भनेझैँ गर्दथे । प्रहरीसँग नजिक देखिनु भनेको जंगलमा रहेका माओवादीको कोपभाजनमा पर्नु थियो । अनि भौतिक कारवाहीको भागी भइन्छ भन्ने मानसिकता व्यापक थियो । त्यसैले प्रहरीका लागि गाउँभरि छ्यापछ्याप्ती पाउने आलु किन्न पाउनु पनि ठूलो कुरो थियो । झन् स्कुलका शिक्षकहरु त प्रहरीसँग बोल्नुपर्ला कि भनेर छेउ पनि पर्दैनथे ।

यस्तैमा एसएलसी नजिकिँदै गर्दा आफ्नो एरियाको परीक्षा केन्द्रमा सुनिन पनि थालियो ‘बुर्जुवा शिक्षा बहिस्कार गरौं ।’

पहिलेदेखि नै बुर्जुवा शिक्षा बहिस्कार गरेर जनताको बिश्व बिद्यालयमा पढ्नुपर्छ, जनताबाट सिक्नुपर्छ, त्यसैले बुर्जुवा शिक्षाको सर्टिफिकेटको कुनै आवश्यकता छैन भन्ने कुरा साना-साना बालबालिकाहरुलाई सिकाइँदैछ भन्ने कुरा सुनिँदैथियो । अब त सतहमै आएको एसएलसी बहिस्कारको कुराले हामीलाई गम्भीर बनायो ।

एकदिन हामी स्कुलमै गएर सबै शिक्षक-शिक्षिकाहरुसँगै सुनिएको यथार्थ के हो ? नम्रताका साथ सोधियो, तर खालि ‘हामीलाई थाहा छैन’ भन्दै टाउको हल्लाउनु भन्दा अरु सूचना केही चुहाउन सकिएन । तब यसरी अब काम हुन्न भन्ने लागेपछि हेडमास्टरलाई एक्लै राखेर भनेको थिएँ- तपाईहरुको अवस्था हामीले बुझेका छौं । तर, त्यो अवस्थाका नाममा भविश्यका कर्णधारहरुको भविश्यमा नै खेलवाड नहोस् ।

मैले अलि कडा भाषामा भनेँ कि उनीहरु (माओवादी) को तपाईहरुलाई थ्रेट त होला हामी मान्छौ, तर यसको मतलब यो होइन कि तपाईहरु हाम्रो निगरानीमा हुनुहुन्न । तपाईहरु पनि हाम्रो निगरानीमा हुनुहुन्छ । त्यति मात्र हैन, तपाई हामी सबैको आ-आˆनो कर्तब्य पनि त छ ।

हेडसर एकछिन घोरिए र मेरो अनुहारमा निराशापूर्वक हेर्दै सुस्तरी भने, ‘हो इन्स्पेक्टर सा’ब, हामीले पनि सुन्यांै एसएलसी बहिस्कार हुन सक्छ ।

यति भएपछि एसएलसी बहिस्कार हुने कुरा थप पुष्टि भो । हामी हेडमास्टरसँग त्यो साल एसएलसी दिने परीक्षार्थीहरुको नाम र तीनपुस्तेसहित ठेगानासमेत लिएर अफिस र्फक्यौं ।

रणनीति बनाएर एकैपटक सबै परीक्षार्थीहरुको घरमा गएर उनीहरुका अभिभावकसहित परीक्षार्थीहरुलाई चौकीमा जम्मा गरेर हामीले एसएलसीको बारेमा कुराकानी शुरु गर्न थाल्यौं । पहिले त उनीहरु सबै झस्किए । किन आफुहरुलाई चौकीमा ल्याए भनेर । पछि कुरा बुझाउँदै गयौं ।

हामीले केही थाहै नपाएझैँ सोध्यौं – ‘एसएलसीको तयारी कस्तो छ ?’ उनीहरुले मुखामुख गर्दै भने- ठिकै छ । तब मैंले साधारण तवरले शिक्षाको महत्व बताउँदै गएँ । उनीहरु बोलेनन् । अनि मैले विस्तारै सोधें- गाउँघरतिर सुनिँदैछ, माओवादीले एसएलसी बहिस्कार गराउँदैछ रे नि ?

अहँ कोही बोलेनन् । सबैले टाउको निहुराउन थाले । उनीहरुको मौनता अनि टाउको निहुर्याइलाई मैले आँधी आउनु अगाडिको संकेत अर्थात एसएलसी बहिस्कारको खतरनाक स्वरुपमा बुझ्न थालें । ती परीक्षार्थीहरुको टाउको निहुर्‍याइमा मैले उनीहरुको भविश्यमाथि मडारिँदै गरेको कालो बादल देख्न थालें । अनि अभिभावकको सन्नाटापूर्ण अनुहारमा उनीहरुले आफ्ना छोराछोरीहरुका बारेमा देखेको सपनामा छाउँदै गरेको शुन्यता देखे झैँ लाग्न थाल्यो ।

तब मैले यदि यो सुनेको कुरा सत्य हो भने तपाईहरुको भविश्यमाथि खेलबाड हुँदैछ, त्यसैले सत्यतथ्य बताउन सम्झाउन थालें । तर, अहँ । ‘सियो खसे आवाज आउने’ सन्नाटामा उनीहरु चुप रहे । मैले सम्झाउँदै गएँ । जस्तो व्यवस्था आए पनि, अनि जोसुकै सरकारमा आए पनि पढेलेखेकै मान्छे चाहिन्छ । उनीहरुकै खोजी हुन्छ । पढेकै मान्छे चाहिन्छ ।

मैले उदाहरण दिँदै भनें, त्यतिञ्जेल प्रचण्डको नाम निशाना नै थिएन । मुख्य नेताका रुपमा डा. बाबुराम भट्टराईको नाम जताततै सुनिन्थ्यो । तसर्थ उदाहरण दिएँ- तपाईहरुलाई बुर्जुवा शिक्षा बहिस्कार गर्न आह्वान गर्ने डा बाबुराम भट्टराई, उनले यही बुर्जुवा शिक्षामा नै पीएचडी गरेका हुन् । उनकी श्रीमती यही बुर्जुवा शिक्षा पढेरै इञ्जिनियर भएकी हुन् । अरु त अरु, तपाईहरुकै दौंतरी उमेरका बाबुराम भट्टराईकी छोरी अहिले हामीभन्दा पनि बुर्जुवा मानिने देशको शिक्षा लिँदैछन् ।

तब मैले बाबुराम भट्टराईलाई आरोप लगाउँदै भने- आफ्नी छोरीलाई बिदेशमा पढ्ने व्यवस्था मिलाएर अर्काका छोराछोरीको भविष्यमाथि खेलवाड गर्दैछन् । मैले यसोभन्दा सबैले एकपटक मतिर यसो छड्के हेरे । म अलि उत्साहित भएँ । सोचें, मेरो कुराको असर देखिन थाल्यो । अनि थप्दै गएँ । यी बाबुराम, महरा (त्यसबखत यिनको पनि नाम सुनिन्थ्यो) हरु सबै बुर्जुवा शिक्षाकै विश्वविद्यालय पढेका हुन् । जो आज तपाईहरुलाई एसएलसी बहिस्कार गरेर जनताको विश्वविद्यालय मात्रै पढ्न उत्प्रेरित गर्दैछन् ।

अनि मैले सोधें- लौ भन्नोस्, भोलि माओवादीको सरकार नै आयो रे, (तर, मैले भनेको थिएँ त्यो असम्भव छ) लौ मानौं आयो रे, त्यसबेला इन्स्पेक्टर को हुन्छ ? मै हुने हुँ । किनकि तपाईहरुले त एसएलसी बहिस्कार गर्नुहोला, बीए पास गर्नेले नै हो इन्स्पेक्टरमा जाँच दिने । अधिकृत हुने पनि बीए पास गरेकैले हो । अनि बीए पढ्न एसएलसी पास गर्नैपर्छ, हैन भन्नोस् त ?

मेरो प्रश्नमा उनीहरु टाउको हल्लाउँदै मुसुक्क मुस्कुराए । म पनि केही उपलब्धि भएझैँ गरी मुस्कुराए । माओवादीको राज आए नपढे पनि सांसद भइएला भन्ने लाग्ला । कति सिट होला संसदका लागि ? हजार/हजार त्यतिले त सबैलाई सिट नपुग्ला ? उनीहरु अलि खुलेर हाँस्न थाले । म झन् खुल्न थालें ।

हेर्नोस्, राणा शासन गए पनि त्यसबेलाकै कर्मचारीले निरन्तरता पाए । पञ्चायत गए पनि पञ्चायतकै संबिधान पढेकाहरु न्यायाधीश, पुलिस अनि सांसद भए ।

मैले अन्त्यमा भनें, तपाईहरुका बाबा-आमाका पनि तपाईहरुप्रति आशा अनि सपनाहरु छन् । त्यसैले घर जानोस्, एसएलसीको तयारी गर्नोस्, कसैको बहकाउमा नलाग्नोस् है । उनीहरु सबैले टाउको हल्लाए । अभिभावकसहित सबै जर्‍याक-जुरुक उठे । अनि नमस्ते गर्दै घरतिर लागे ।

हामीले ठूलै जित महसुस गर्‍यौं । लाग्यो कि यी कन्भिन्स भए । अब यिनले एसएलसी दिनेछन् । त्यही कुरा माथि पनि रिपोर्ट गर्‍यौं । हामीले गाउँमा झन् निगरानी बढायौं कि माओवादी आएर फेरि यी परीक्षार्थीहरुलाई भड्काउन नपाउन् । अनि लाग्यौं भोलिको परीक्षा केन्द्रको सुरक्षाको योजनातिर ।

एसएलसीको दिन आयो । हामी पूर्ण तयारीका साथ परीक्षाकेन्द्र पुग्यौं र सुरक्षा व्यवस्था मिलायौं । केन्द्राध्यक्षसहित सबै गार्ड अनि शिक्षकहरु तयार थिए । परीक्षाको समय नजिकै आयो । उत्तेजना र उत्साह बढ्दै गइरहेथ्यो । परीक्षाको समय आयो । तर, अहँ कोही परीक्षार्थी पनि परीक्षा केन्द्रमा झुल्किएनन् । समय बित्दै गयो । साँच्चै कोही पनि आएनन् ।

मन कस्तो-कस्तो भएर आयो । दिक्क लाग्यो । के नै पो गर्न सकिन्थ्यो र ? सकेजति गरेकै पनि हो । तर, पनि लागियो उनीहरुको घरतिर ।

घरमा कोही भेटिएनन् । ढोकामा भोटे ताल्चा अनि भोटे कुकुर । चुपचाप अफिस फर्कियौं ।

धेरै सोधीखोजी गर्‍यो भने मौका हेरेर बसेका ती माओवादीले झन् ‘देख्यौ, बुर्जुवा शिक्षाबाट दीक्षित प्रहरीहरुले तिमीहरुलाई खोज्दैछन्’ भनेर तर्साएर गाउँ नआई उतै जंगलतिरै बस्ने वातावरण मिलाउन लग्लान् कि ? तब ‘बिचरा ती निर्दोष बचेराहरुको भविश्य’ भन्ने सोच्दै फेरि आˆनो दैनन्दिन जीवन अगाडि बढाउनतिर लागियो ।

अचेल जब एसएलसी आउँछ, दुई दशक अगाडिको रुकुमको त्यो दृश्य अनि ती निर्दोष अनुहारहरु झल्झली अगाडि आउँछन् ।
विशेष गरी माओवादी सरकारमा आएपछि मैले ती निर्दोष अनुहारहरुलाई ‘माओवादी नै सरकार आए पनि अधिकृत हुने बीए पास गरेकैले हो’ भन्दा पुलुक्क मलाई हेरेको याद आइरहृयो । सबैभन्दा बढी याद त्यतिखेर आएको थियो, जब डा. बाबुराम भट्टराईकी छोरी मानुषीले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तरमा राम्रो नम्बर ल्याएर विश्वविद्यालयका कुलपति डा बाबुराम भट्टराईका हातबाट पुरस्कार थाप्दै मुस्कुराउँदै गरेको फोटो मिडियामा देखेको थिएँ ।

त्यसबेला मैले सोचें- त्यतिखेर मेरो कुरा नसुनेर एसएलसी बहिस्कार गर्नेहरु अहिले कहाँ होलान् ? कतै अयोग्य लडाकुको बिल्ला भिरेर खाडी वा मलेसियाको उखर्माउलो गर्मीमा जनताको विश्व विद्यालयको सर्टिफिकेट हातमा लिएर अनुहारमा हम्किँदै पो होलान् कि ?

यसपटक पनि फेरि आयो त्यो एसएलसी । तर, अर्कै एसईईका नाममा । परीक्षाको नाम फेरिए पनि ती दृश्यहरु मेरो मानसपटलमा कहिल्यै फेरिएनन् । यस्सो घोरिन्छु- त्यो एसएलसी परीक्षाको नाम फेर्न सकिएजसरी ०५४ सालतिर एसएलसी बहिस्कार गरेका ती निर्दोष अनुहारहरुको भविष्य पनि फेर्न सकिने भए ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment