Comments Add Comment

जेष्ठ नागरिक भन्छन्– मानसिक रुपमा कमजोर छैनौं, राज्यलाई सहयोग गर्न सक्छौं

२१ चैत, वीरगञ्ज । ज्येष्ठ नागरिकले आफूहरु मानसिक रुपमा कमजोर नरहेको बताएका छन् । उनीहरुले शारीरिक रुपमा केही कमजोर जस्तो देखिए पनि मानसिक रुपमा कमजोर नठान्न चुनौति दिए ।

वीरगञ्जमा आयोजना हुन गइरहेको जेष्ठ नागरिक सम्मेलन एवं महासंघको सातौं महाधिवेशन सम्बन्धमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनीहरुले त्यस्तो बताएका हुन् । राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष मदनदास श्रेष्ठले ज्येष्ठ नागरिक शारीरिक रुपमा केही कमजोर हुने भएपनि मानसिक रुपमा कमजोर नहुने बताए ।

उनले राज्य र ज्येष्ठ नागरिकका सन्तानले यसबाट फाइदा लिन सक्नुपर्नेमा जोड दिए । पछिल्ला दिनमा बैंकमा भएको रकम झिकिदिन जाने मानिस समेत ज्येष्ठ नागरिकले नपाउने गरेको उनको भनाइ छ । ‘पैसा नहुने ज्येष्ठ नागरिकको कुन विजोग छ तपाईं हामीलाई थाहा नै छ । पैसा हुनेहरुको पनि छोरा बुहारी विदेशमा हुन्छन्, कसैको जिम्मामा आमा बुवा छोडिएको हुन्छ,’ उनले भने, ‘बैंकमा भएको पैसा पनि झिकिदिने मानिस हुँदैन ।’

जेष्ठ नागरिक संघ पर्साका जगदिश शर्माले ज्येष्ठ नागरिकले राज्यलाई सहयोग गर्न सक्ने बताए । ‘ज्येष्ठ नागरिकलाई युटिलिटी घटेको जस्तो व्यवहार गरिन्छ, जुन सरासर गलत छ । हामी शारीरिक रुपमा कमजोर भएपनि मानसिक रुपमा कमजोर छैनौं,’ उनले भने, ‘हामी आफ्ना अनुभवबाट राज्यलाई सहयोग गर्न सक्छौं ।’

सरकारी जागिरबाट सेवा निवृत्त भएका ज्येष्ठ नागरिकहरुले राज्यबाट दोहोरो सुविधा लिएको भन्ने गुनासो आउने गरेको बताउँदै उनीहरुले त्यसबारेमा महासंघमा छलफल भइरहेको बताएका छन् । ज्येष्ठ नागरिक संघ पर्साका शर्माले सामाजिक सुरक्षा भत्ताको आवश्यकता नपर्ने ज्येष्ठ नागरिकले रकम नलिनुभन्दा पनि लिएर विभिन्न काममा लगाउनेबारे छलफल भइरहेको बताए ।

‘कतिपय साथीहरुले सामाजिक सुरक्षा भत्ता नलिने गरेको पनि पाइएको छ । यसरी नलिँदा ज्येष्ठ नागरिकलाई कुनै फाइदा नहुने देखियो । राज्यले त सामाजिक सुरक्षा कर लिई नै राखेको हुन्छ,’ उनले भने, ‘आवश्यक नभएकाहरुले पनि लिने अनि एउटा कोष बनाएर केही नभएकाहरुलाई सहयोग गर्नेबारे छलफल भइरहेको छ ।’

महासंघले ज्येष्ठ नागरिकको हक अधिकार संरक्षण र सम्वर्द्धनको क्षेत्रमा सशक्त रुपमा आवाज बुलन्द गर्नुको साथै विभिन्न विषयमा पैरवी गर्दै आइरहेको छ ।

वीरगञ्जको नगर सभागृहमा जेष्ठ नागरिक सम्मेलन एवं महासंघको सातौं महाधिवेशन चैत २३ गतेबाट हुने भएको छ । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले उदघाटन गर्ने सम्मेलनमा ६८ जिल्लाका प्रतिनिधि एवं पर्यवेक्षक गरी ३०० जना सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

ज्येष्ठ नागरिकको समस्या, पीर मर्का र समय सापेक्ष सेवा सुविधाबारे छलफलपछि सम्मेलनले वीरगञ्ज घोषणापत्र समेत जारी गर्ने महासंघका महासचिव एवं प्रवक्ता छत्रबहादुर प्रधानले बताए । ‘सम्मेलनमा ज्येष्ठ नागरिकलाई आवश्यक सेवा सुविधाबारे गहन बहस र छलफल गर्छौं,’ प्रधानले भने ।

‘ज्येष्ठ नागरिक सम्बन्धी वर्षभरी गरेका प्रगति विवरण, आगामी वर्ष सञ्चालन गर्ने कार्यक्रम र ठोस नीतिबारे विमर्श हुन्छ,’ उनले भने, ‘ज्येष्ठ नागरिकलाई राज्यले प्रदान गरिरहेको सेवा सुविधाका बारेमा जानकारी गराउँदै वीरगञ्ज घोषणापत्र पनि जारी गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment