Comments Add Comment

खानपान शैलीः पितापूर्खाबाट केही सिक्ने कि ?

हाम्रा पिता-पूर्खाले सदियौंदेखि खानपानको आफ्नै विशिष्ठ शैली अपनाउँदै आए । उनीहरु भुँईमा गुन्द्री (सुकुल) ओछ्याएर पँलेटी कसेर बस्थे । शीरको टोपी उतार्थे । आफ्नो भागमा आएकामध्ये केही खानेकुरा अघिल्तिर चढाउँथे । विस्तारै आनन्दपूर्वक भात खान्थे ।

खाना खाइरहँदा उनीहरु संवाद गर्दैर्नथे । हतार गर्दैनथे । गुनासो गर्दैनथे । जुठो छर्दैनथे । भन्थे, ‘खाना खाँदा राजसी ठाँटले खानुपर्छ ।’ खाना खाइसकेपछि एक गाँस खाना थालमै छाड्ने गर्थे । यसरी छाडेको गाँस कुकुर, बिरालो वा काग, चाराचुरुङ्गीका लागि हुन्थ्यो ।

यस्तो थियो, पितापूर्खाको खानपान शैली ।

हाम्रो शैली

अहिले हाम्रो खानपान शैली बद्लिएको छ । बजारमा तयारी खानेकुरा उपलब्ध छ । त्यही खानेकुरा छिटो र मिठो लाग्छ ।

हतारमा खानेकुरा पकाउँछौं । डाइनिङ टेबलमा सजाउँछौं । काँटा चम्चाले खान्छौं । मिठो लागे भरपेट खान्छौं । नमिठो लागे जुठो बनाएर मिल्काउँछौ । खाना खाइरहँदा एउटा हातमा काँटा चम्चा हुन्छ, अर्को हातमा मोवाइल हुन्छ ।

मोबाइलमा कुरा गर्दै, भिडियो हेर्दै, फेसबुक चलाउँदै खानुपर्छ हामीलाई । खानेकुराको फोटो खिच्ने, सामाजिक सञ्जालमा राख्ने, साथीहरुलाई पठाउने गर्छौं । कतिबेला प्लेट रित्तिन्छ, हामी स्वय्म भेउ पाउँदैनौ । खाना कस्तो थियो ? कति खाइयो ? त्यसको पनि हेक्का हुँदैन । बस्, खाना खाने कर्म सकियो, यत्ति भए पुग्छ ।

अर्कोतिर हामी आधुनिकताको नाममा फास्टफुड शैली अपनाइरहेका छौं । काम, करियर, प्रतिस्पर्धा आदिको चक्करमा हामीलाई खाने फुर्सद छैन । त्यसैले हातमा प्लेट समाएर उभिएरै खानेकुरा खाइदिन्छौं । खाना खानु भनेका पेट भर्नु र शरीरलाई आवश्यक उर्जा प्रदान गर्नु हो भन्ने बुझाईले हामीले खानपानको महत्वलाई उपेक्षा गर्दैछौं ।

घरमा अर्थात आफ्नो भान्सामा खानेकुरा बनाउने फुर्सद छैन । बिहान तयारी नास्ता दुध वा पानीमा भिजाएर खायो । त्यसपछि हतार हतार आफ्नो काम, पेशातिर लाग्छौ । खाना फुर्सद छैन हामीलाई ।

पितापुर्खा भर्सेस युवापुस्ता

भनाई नै छ, ‘विश्वमा जति मान्छे खान नपाएर मर्छन्, त्यो भन्दा बढी खान नजानेर ।’ हाम्रो खानपान शैली त अझ खराब छ । त्यही कारण अधिकांश नेपाली पेटका रोगी छन् भनिन्छ । ठट्यौली छ, ‘नेपालीको राष्ट्रिय रोग हो ग्याष्ट्रिक ।’

खानपानको खास तौर-तरिका नमिल्दा वा नजान्दा हामीलाई पेटको समस्याले गाँजेको छ । जबकी हामीसँग खानपानको आफ्नै संस्कृति थिए । पितापूर्खाले त्यही संस्कृतिलाई अंगाल्दै आए । आज हामी आधुनिकताको नाममा सदियौंदेखि अभ्यास हुँदै आएको खानपानको शैली तल्याएका छौं ।

हुन त आधुनिक समाजमा पनि कसरी खाने भन्ने सन्दर्भमा व्यापक सोधीखोजी हुने गर्छ । खानालाई शिष्टचारसँग पनि जोडेर चर्चा गरिन्छ । बालबालिकालाई पूर्व प्राथमिक तहमै ‘इटिङ म्यानर’, ‘डाइनिङ म्यानर’ सिकाइन्छ । त्यस क्रममा भनिन्छ, खाना खाँदा हल्ला गर्नु हुँदैन । मुख बन्द गरेर चपाउनुपर्छ । ठूलो गाँस हाल्नु हुँदैन । विस्तारै चपाएर खानुपर्छ । जुठो छर्नु हुँदैन । इत्यादि ।

यद्यपी हाम्रो खानपान शैली भने अधकल्चो भयो ।  न त हामीले पूर्णत आधुनिक शैली अपनाउन सक्यौं, न त पिता पूर्खाले सिकाएको शैली अंगाल्न सक्यौ ।

के गर्ने त ?

भनिन्छ, जस्तो खान्छौं, हामी त्यस्तै हुन्छौ । खानपानसँग हाम्रो समग्र स्वास्थ्य, शरीर, मस्तिष्क, मन, विचार सबैकुरा अभिन्न रुपमा जोडिन्छ ।

हामी शुद्ध खान्छौं । सन्तुलित खान्छौं । सही ढंगले खान्छौ । त्यसो हो भने, हाम्रो शरीर पनि निरोगी हुन्छ । यद्यपी खाना र खानपान शैली खराब छ भने त्यसको नकारात्मक असर हाम्रो शरीरमा मात्र होइन, मन र विचारमा पनि पर्छ ।

त्यसैले खानेकुरा खाने क्रममा केही कुरा जान्नैपर्छ ।

हाम्रा पितापूर्खाले जैविक खानेकुरालाई महत्व दिए । आफ्नै भान्सामा पकाएको खानेकुरालाई महत्व दिए । अझ आफ्नै हातले पकाएको खानेकुरालाई महत्व दिए ।

खानेकुरा पकाइरहँदा भान्सेको मन प्रशन्न हुनुपर्छ भनिन्छ । खानेकुरामै दत्तचित्त भएर पकाएको खानेकुरा नै सेवन गर्न योग्य हुने बताइन्छ । यदि रिसाएर, झर्किएर, हतारमा, असहज मानेर पकाएको खानेकुरा खानका लागि लायक नहुने बताइन्छ ।

त्यसैले सकेसम्म आफ्नै घर वा भान्सामा पकाइएको खानेकुरा सेवन गर्नुपर्छ । खानपान शैली हाम्रा पितापूर्खाले झै अपनाउनुपर्छ । शान्त चित्तले, प्रशन्न मनले, आनन्द मानेर, स्वाद लिएर खानुपर्छ ।

हातले खानुको फाइदा

हामी अहिले काँटा चम्चाले खानेकुरा खान्छौं । हाम्रा पितापूर्खाले हातले खाना खाने अभ्यास गर्दै आए । हातले खानुको फाइदा छ । जब कुनैपनि कुरा हामीले हातमा राख्छौं, तब त्यसको तापमानबारे अनुमान गर्न सक्छौं । धेरै तातो वा चिसो खानेकुरा स्वास्थ्यका लागि राम्रो मानिदैन । अतः हातमा लिएर सन्तुलित तापक्रमको खानेकुरा खाइन्छ ।

अर्को कुरा जब हामी हातले खाना खान तयार हुन्छौं, तब हाम्रो मस्तिष्कले पेटलाई संकेत गर्छ कि हामी खाना खाँदैछौ । यसले गर्दा पेट पनि खाना पचाउनका लागि तयार हुन्छ । यसले पाचन यन्त्र राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment