Comments Add Comment

१० वर्षे बच्चाले खोले आफ्नै वायुसेवा कम्पनी

उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक भन्ने उद्गार नै छ । आखिर सपना देखेपछि ठूलै देख्नु पर्दछ ।

अष्ट्रेलियामा एकजना १० वर्षका बालकले यस्तै सपनालाई सार्थक बनाउने प्रयास गरेका छन्, जो हामी धेरैका लागि केवल दिवास्वप्न मात्र हुनसक्छ ।

१० वर्षीय एलेक्स जेक्वाट आफ्नै वायुसेवा कम्पनी सुरु गर्न चाहन्थे । तर कसरी सुरु गर्ने उनलाई थाहा थिएन ।

एलेक्सले अष्ट्रेलियाको सबैभन्दा पूरानो वायुसेवा कम्पनी क्वान्टस एयरलाइन्सका सिइओ एलन जोयसलाई एक पत्र लेखे । त्यसमा उनले आफ्नो एयरलाइन कम्पनी खोल्नका लागि के गर्नुपर्छ ? भनेर सोधेका थिए ।

१० वर्षे बालकको जिज्ञासाको उत्तर क्वान्टसका सिइओले पत्र मार्फत नै दिए । उनले कसरी एयरलाइन्स कम्पनी खोल्ने र कसरी त्यसलाई सफलताको शिखरसम्म पूराउन सकिन्छ भन्ने कुराको बेलिविस्तार पत्रमा लेखेका थिए ।

जिज्ञासा र उत्तरका दुबै पत्रलाई क्वान्टास एयरलाइन्सले आफ्नो अफिसियल ट्विटर अकाउन्टमा शेयर गरेपछि यो अहिले निकै चर्चाको विषय बनेको छ र भाइरल भएको छ ।

यतिठूलो वायुसेवा कम्पनीले एक १० वर्षे सामान्य बालकको जिज्ञासालाई पनि गम्भीर रुपमा लिन्छ भन्ने कुरा सायद कमैले सोच्दछन् ।

बालकको पत्रको जवाफमा क्वान्टासका सिइओ लेख्छन्, ‘हाम्रा प्रतिस्पर्धीहरु सामान्यतया हामीसँग सल्लाह माग्दैनन् । तर जब कुनै एयरलाइनको प्रमुख आफैले हामीसँग जिज्ञासा राख्छ, हामी त्यसलाई नजरअन्दाज गर्न सक्दैनौँ । सामान्य रुपमा प्रतिक्रिया दिने एउटा तरिका हुन्छः सिइओ टू सिइओ ।

एलेक्स जेक्कटले ओसेनिया एक्सप्रेस नामक वायुसेवा कम्पनी खोलेका छन् । उनी त्यो कम्पनीका सिइओ हुन् । अन्ततः क्वान्टासका सिइओले एलेक्सलाई सिइओकै हैसियतमा भेटे । त्यस बैठकमा विमान, विमानभित्रको खानपिन, लामो दूरीको उडान लगायका विषयमा छलफल भयो ।

अझ रोचक कुरा त के भने यी दुई सिइओको बीचमा एम ओ यू पनि भयो । जस अनुसार क्वान्टस एयरलाइन्स र ओसेनिया एक्सप्रेसले सन् २०२६ देखि एक अर्कालाई सहयोग गर्नेछन् । त्यतिबेला सम्म एलेक्सको हाइस्कुलको अध्ययन पनि पूरा भैसकेको हुनेछ ।

क्वान्टासका सिइओले १० वर्षे ती बालकको उत्साह देखेर आफु निकै प्रभावित भएको र उनीसँगको बैठकलाई गम्भीरताका साथ लिएको बताएका छन् ।

उड्ययन उद्योगमा ठूलो सोँच राख्ने मानिसहरुको आवश्यकता रहेको र एलेक्समा त्यो क्षमता रहेको उनको भनाइ छ ।

ओसेनिया एक्सप्रेसका संस्थापक तथा सिइओ एलेक्सले पनि आफ्नो लागि उक्त बैठक निकै महत्वपूर्ण दिन रहेको बताएका छन् । आफुले क्वान्टासबाट धेरै कुरा सिक्न पाएको भन्दै उनले आफुहरुबाट पनि क्वान्टासले भविष्यमा सिक्न पाउने दाबी गरे ।

उनको उत्साहलाई मध्यनजर गर्दै क्वान्टासले एयरलाइन्सको क्षेत्रमा रुची राख्ने बालबालिकाका लागि वायुसेवाको आन्तरिक कार्यहरुको बारेमा सिकाउने नयाँ कार्यक्रम सुरुवात गर्ने घोषणा पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment