Comments Add Comment

सीटीईभीटीको प्रादेशिक कार्यालय बुटवलमा

२१ चैत, बुटवल । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी)को प्रादेशिक कार्यालय बुटवलमा स्थापना भएको छ ।

बुटवल उपमहानगरपालिका वडानम्बर १२ नयाँगाउँमा स्थापना भएको कार्यालयको प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले बिहीबार उद्घाटन गरे ।  मन्त्री बरालले अहिलेको युग प्राविधिक शिक्षाको युग भएकोमा जोड दिंदै प्रदेश सरकारले सबै स्थानीय तहमा कम्तिमा एउटा प्राविधिक शिक्षालय स्थापना गर्ने लक्ष्यमा रहेको बताए ।

हाल प्रदेश ५ का १०९ तहमध्ये ५१ वटा गाउँपालिकामा प्राविधिक शिक्षालय नभएको मन्त्री बरालले उल्लेख गरे । प्रदेश सरकारले यो वर्ष ६ हजार युवालाई छाटो अवधिको प्राविधिक तालिम दिन लागेको समेत जानकारी गराए ।

प्रदेशसभा सांसद भोजप्रसाद श्रेष्ठ, निजी प्राविधिक महासंघका अध्यक्ष अरुण पाण्डेले मुलुकको विकास र समृद्धिका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न प्राविधिक शिक्षामा जोड दिनुपर्ने खाँचो औंल्याए ।

प्रदेश ५ मा सीटीईभीटीअन्तर्गत ८ वटा आंगिक शिक्षालय,साझेदारी १, निजी ८८, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा ६३ वटा र छाटो अवधिको तालिम सञ्चालन गर्ने संस्था १५८ वटा रहेका छन् ।

कार्यालयले मातहतका संस्थामा परीक्षा सञ्चालन, सीप परीक्षण, अनुगमन, मूल्यांकन र नियमन गर्नेछ । प्राविधिक शिक्षाको सम्बन्धनको अधिकार भने प्रादेशिक कार्यालयलाई तत्काल दिइएको छैन ।

कार्यालयका लागि ३५ जना कर्मचारीको दरबन्दी माग गरेर पठाइएको कार्यालय प्रमुख अरवीन्द्रकुमार चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment