Comments Add Comment

विश्वकै धनी अमेजन मालिक दम्पत्तिको डिभोर्स टुङ्गियो, जेफ पहिलो नम्बरमै कायम रहने

पत्नीको भागमा पर्‍यो ३६ अर्ब डलर

विश्वका सबैभन्दा धनी दम्पत्ति अर्थात् ट्रिलियन डलर कम्पनी अमेजनका मालिक जेफ बेजोस र उनकी पत्नी म्याकेन्जी बेजोसको सम्बन्ध विच्छेदले अन्ततः पूर्णता पाएको छ ।

जेफ र म्याकेन्जीले बिहीबार आ-आफ्नो ट्वीटरमार्फत आफूहरुको वैवाहिक सम्बन्ध भंग गर्ने प्रक्रिया टुंगाएको घोषणा गर्दै विज्ञप्ति जारी गरेका छन् ।

आफ्नो विज्ञप्तिमा म्याकेन्जीले दम्पत्तिको नाममा वासिङ्टन पोष्ट र ब्लु ओरिजिन कम्पनीमा रहेको शेयरको अधिकार आफूले पूर्णरुपमा त्याग गरेको र अमेजन कम्पनीको शेयरमध्ये ७५ प्रतिशत जेफलाई छाडेको बताएकी छिन् । बेजोस दम्पत्तिको नाममा रहेको शेयर मध्ये २५ प्रतिशत मात्र आफूले लिएकी म्याकेन्जीले आफ्नो शेयरबापतको भोटिङ अधिकार पनि जेफ बेजोसलाई नै प्रदान गरेकी छिन् ।

आफ्नो ट्वीटमा म्याकेन्जीले डिभोर्सको प्रक्रिया टुंगो लगाउने क्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै अब जेफसँग साथी तथा बच्चाहरुको अभिभावकको नयाँ अध्ययन सुरु गर्ने बताएकी छिन् ।

अमेजनलगायतका कम्पनीमा जेफ बेजोसको निरन्तर योगदानलाई सहयोग गर्नका लागि आफूले त्याग गरेको पनि उनले बताएकी छिन् । साथै उनले आफ्नो भावी योजनाबारे आफू निकै उत्साहित हुनुका साथै विगतप्रति पनि अनुग्रहित रहेको उल्लेख गरेकी छिन् ।

यस्तै जेफ बेजोसले आफ्नो ट्वीटमा भूतपूर्व पत्नी म्याकेन्जीको सहयोगका लागि आफू कृतज्ञ रहेको र म्याकेन्जीसँग आगामी दिनमा साथी तथा सह-अभिभावकको सम्बन्धका लागि आफू उत्साहित रहेको पनि बताएका छन् । उनले म्याकेन्जीको प्रसंसा गर्दै आफूले भविष्यमा सधै उनीबाट सिकिरहने पनि बताएका छन् ।

अब म्याकेन्जीको सम्पत्ति कति ?

बेजोस दम्पत्तिको नाउँमा रहेको शेयरमध्ये अब म्याकेन्जीको नाममा जम्मा २५ प्रतिशत मात्र शेयर रहनेछ । डिभोर्सअघि यो दम्पत्तिको नाउँमा अमेजनको कूल ७ करोड ८८ लाख कित्ता शेयर थियो । त्यो भनेको अमेजनको कूल शेयरको १६ प्रतिशत हो ।

दम्पत्तिको नाउँमा रहेको १६ प्रतिशतमध्ये म्याकेन्जीको नाउँमा २५ प्रतिशत गएसँगै अब म्याकेन्जी बेजोसको नाउँमा अमेजनको कूल शेयरको ४ प्रतिशत शेयर हुनेछ । त्यो भनेको हालको मूल्यमा ३५ अर्ब ९० करोड डलर हो ।

त्यस्तै जेफ बेजोसको नाममा अब अमेजन कम्पनीको कूल १२ प्रतिशत शेयर हिस्सा रहेको छ । त्यो भनेको १ खर्ब ७ अर्ब ६० करोड डलर हो ।

स्मरण रहोस् बेजोस दम्पत्तिले गत जनवरीमा २५ वर्ष लामो वैवाहिक सम्बन्धमा पूर्णविराम लगाउने घोषणा गरेका थिए । उनीहरुको डिभोर्सको घोषणासँगै दुनियाको सर्वाधिक धनी यो दम्पत्तिमा सम्पत्ति बाँडफाँडको लफडा हुने अनुमान गरिएको थियो । तर, म्याकेन्जीले डिभोर्स पछिको सम्पत्ति बाँडफाँडमा निकै लचकता अपनाएको देखिन्छ ।

जेफ बेजोसको पहिलो नम्बर कायमै रहने

फोर्ब्सको पछिल्लो तथ्यांक अनुसार जेफ बेजोस कूल १ खर्ब ३१ अर्ब डलर सम्पत्तिसहित विश्वका सबैभन्दा धनी मानिस हुन् । उनको त्यो सम्पत्तिमा उनकी तत्कालीन पत्नी म्याकेन्जीको पनि हक थियो । डिभोर्ससँगै म्याकेन्जीको भागमा झण्डै ३६ अर्ब डलर परेको छ । यति हुँदा हुँदै पनि अमेजन कम्पनीको बढेको शेयरका कारण बेजोसको अमेजनमै १ खर्ब ७ अर्ब डलर बराबरको शेयर छ ।

उनको सम्पत्तिको रुपमा अन्य कम्पनीहरु पनि रहेका छन् । यी सबै जोड्दा दुनियाको सबैभन्दा धनी व्यक्तिको रुपमा बेजोसको पहिलो स्थान खल्बलिने देखिँदैन । किनकी बेजोसलाई पछ्याइरहेका दोश्रो स्थानका बिल गेट्सको कूल सम्पत्ति साढे ९६ अर्ब डलर मात्र रहेको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment