Comments Add Comment

कृषिमन्त्री भन्छन् : कृषिमा राजा महेन्द्रले राम्रो गर्न खोजेका रहेछन्

२२ चैत, बुटवल । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रमा तत्कालीन राजा महेन्द्रले राम्रो शुरुवात गर्न खाजेको बताएका छन् ।

५५ वर्षअघि राजा महेन्द्रले देशभर कृषि उत्पादन बढाउन व्यवसायीकरणको प्रयास गरेका तर पञ्चायत ढलेको धेरै वर्षसम्म पनि प्रगति हुन नसकेको उनले बताए ।

शुक्रबार बुटवलमा आयोजित एक कार्यक्रममा मन्त्री खनालले सम्बन्धित सरकारी निकाय निष्क्रिय हुँदा कृषिमा उल्लेख्य प्रगति गर्न नसकेको खुलाए । ‘५५ वर्षअघि राजा महेन्द्रले कृषिमा देशैभरी राम्रो गर्न खाजेका रहेछन्,चीन, रुसतिरबाट बुझेर पनि होला तर हामीले केही गर्न सकेका रहेनछौं’ मन्त्री खनालले भने ‘ब्युराक्रेसी र अति न्यून वजेटका कारण कृषिमा प्रगति हुन सकेन ।’

६५ प्रतिशत जनसंख्यालाई २.९ प्रतिशत वजेट छुट्टयाएर कृषिमा कसरी कृषिमा आत्मनिर्भर हुन सकिन्छ भन्दै मन्त्री खनालले विदेशमा ५ प्रतिशत जनसंख्या कृषिमा संलग्न देशले ११ प्रतिशतसम्म वजेट छुट्टाएकाले राम्रो गरेको बताए ।

उनले झण्डै डेढ खर्बको खाद्यान्न आयात गरेर मुलुक समृद्ध हुन नसक्ने पनि जिकिर गरे । ‘एक सय ४० अर्बको खाद्यान्न आयात गरेर मुलुक कसरी समृद्ध बन्न सक्छ ?’ मन्त्री खनालले प्रश्न गरे ।

कृषिमा आश्रित जनसंख्या ६५ प्रतिशतबाट घटाएर २५ प्रतिशतमा झार्नुपर्ने, कृषिमा वजेट बढाउनुपर्ने र आधुनिकीकरण गर्नुपर्नेमा मन्त्री खनालले जोड दिए । जमिनको खण्डीकरण बढ्नु र जग्गाको वर्गीकरण गर्न नसक्दा कृषियोग्य जमिन घट्दै गएको मन्त्रीले औंल्याए ।

कृषिका लागि नेपाल ज्यादै उर्बर भूमि भए पनि उचित व्यवस्थापन हुन नसकेको बताए । दक्षिण कोरियाको शैलीमा विदेश जाने जनशक्तिको आम्दानीलाई सरकारले नै उत्पादनशील क्षेत्रमा लगानी गर्ने हो भने मात्रै कृषिमा फड्को मार्न सकिने उनले बताए ।

नेपालमा कफी उत्पादन ५ सय मेट्रिक टन र माग ११ सय टन रहेकाले अवसर प्रशस्त रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment