Comments Add Comment

गोर्खाल्यान्ड आन्दोलन भोगेकाहरुको कथा

त्यसबेला म चार क्लासमा पढ्थें ।

घिसखोलामा लाग्ने बाङ्गे बजारमा आमा जाँड बेच्न जान्थिन् । आपा खुजुरा व्यापारमा लागेका थिए । अदुवा, खोर्सानी आदि ओदलाबाडी पुर्‍याउँथे । तैपनि घरको अवस्था खराब थियो । हो, निकै खराब थियो !

ठीक त्यही बेला हो, कङ्ग्रेस सरकारले लोन दिने भयो । डिस्टि्रक्ट रूरल डेभलपमेन्ट एजेन्सी -डिआरडिए) फन्डको लोन । आपाले गाईपालनका निम्ति लोन पाउने भए, जम्माजम्मी आठ हजार रूपैयाँको । त्यो हामीले सोचेको भन्दा निकै ठूलो रकम थियो । अझै ठूलो कुरा त के थियो भन्नुस् न, त्यसमा ५० प्रतिशत त “सब्सिडी” नै थियो ।

त्यो लोन होइन, हाम्रो परिवारका निम्ति नयाँ सपना थियो । तर यस्तै सपना अघिल्लो वर्ष तुहिएको थियो ।

पञ्चायत प्रधान घर आएका थिए, इन्दिरा आवासको सपना लिएर । इन्दिरा आवासको आश्वासन दिएपछि हामीले चुपचाप बस्नु भो र? आमाले घरको बेच्ने जाँड जम्मै निकालिन् । आखिर नयाँ घर बन्नेवाला थियो ।

रातभरि प्रधानले भोज लगाए । माते, हाँसे, नाचे । र बिहानै चुपचाप हिँडे ।

प्रधान हिँडेपछि इन्दिरा आवास पनि फर्कियो । हामीले घर पाएनौं ।

त्यसको एक वर्षपछि डिआरडिए लोनको कुरा आएको थियो । त्यसले फेरि हाम्रो सपना रङ्गीन बनाइदिएको थियो । पोहोर साल मरेको सपनाले बल्ल फेरि टाउको उठाएको थियो ।

त्यही बेला हो, मैले पहिलो पटक बुझेको- राजनीतिले हाम्रो सपना कसरी मारिदिन्छ । फेरि मरेको सपनाले टाउको उठाउँदाको अनुभूति कस्तो हुन्छ ।
यो कथा त्यही सपनाको कथा हो । मैले ती दिन नदेखेको भए, यो उपन्यास लेखिने थिएन ।

चार क्लासको परीक्षा दिने बेला आपाले कसम खाए, “फस्ट भइस् भने तँलाई कालेबुङ घुमाउन लैजान्छु ।”

म साँच्चै फस्ट भएँ ।

हावामा उड्दै, उड्दै घर पुगें । पुगेपछि रिपोर्ट कार्ड देखाउँदै भनें, “अब म कालेबुङ जान पाउँछु !”

आमाले हाँस्दै रिपोर्ट कार्ड हेरिन् र आपालाई दिइन् । आपा केही क्षण चुपचाप भए । त्यसपछि ओठको मुस्कान लुकाउँदै भने, “कालेबुङमा गाडीहरु धेर हुन्छ । थाहा नपाई कुच्चाई राखेर हिँड्छ । तँ ऐले सानै छस् । नजा ल ।”

मेरो सपनामा आगो लाग्यो । रातभरि रोइदिएँ । रोएको पर्सिबिहान त हो, हामी कालेबुङ हिँड्न तयार भयौं ।

मसँग आपा थिए । अनि थिए ठूलोघरे बतिम साहिँला पनि । हामी दिनभरि हिँडिरहृयौं । हिँड्दा आपाहरु आन्दोलनका कुरा गर्थे । ऐंसेलुको घारी देखाउँथे र भन्थे, “त्यैं काटेको हो, छत्रेका केटारूलाई ।”

मेरा निम्ति छत्रे सुब्बा मिथ बराबर थियो ।

पूरै ११ घण्टा हिँडेपछि हो, हामी रेली पुगेका । थाकेर हैरान थियौं, ढुङ्गा भरिएको ट्रक देखियो । आपाले त्यही ट्रकमा मलाई चढाए र ल्याइपुर्‍याए, कालेबुङ ।
कथामा लेखिएका केही मिथ त्यही बेला सुनेको हुँ । कथामा रहेको भूगोल मैले त्यही दिन हिँडेको हुँ । त्यस दिन म आपाको पछिपछि नहिँडेको भए, यो कथा अधुरो हुने थियो ।

०००

उच्च माध्यमिक शिक्षा गर्दैगर्दा एउटा लेख लेखेको थिएँ । मैले थाहै पाइनँ, त्यो त राजनीतिक लेख बनेछ ।

गाउँमा काउन्सिलरको धम्की आइपुग्यो, “त्यसलाई भन्नू, ऐले केटाकेटी नै छ, त्यसैले छाडियो । आइन्दादेखि कहिल्यै यस्तो नलेखोस् !”

म तीन दिन काँप्दै सुतें । र मनमनै घोषणा गरें, “विद्या कसम, अब राजनीतिबारे लेख्दिनँ ।”

त्यही बेला रिजल्ट आइपुग्यो । म फस्ट डिभिजनमा पास भएछु । जान्नेहरुले भने, “जियोग्राफीमा अनर्स गर् । काम पाइहाल्छस् ।”

मलाई चाहिएको काम थियो । केही नबुझी मैले जियोग्राफीमा अनर्स गर्ने भएँ । त्यसैका लागि म कालेबुङ छिरें । कलेजको लाइन देखेपछि पो बल्ल बुझें, “संसारका हरेक कुनामा राजनीति छ । मैले नलेख्दैमा राजनीति कम हुन्छ र ?”

त्यही राजनीतिका कारण मैले जियोग्राफीमा अनर्स गर्न पाइनँ । पोलिटिकल साइन्स पढ्न बाध्य भएँ ।

त्यस बेला मेरो स्थिति मायालाग्दो थियो । गोजीमा पैसा थिएन । दुई छाक खानलाई चामल हुन्थेन, लाउन लुगा हुन्थेन । मसँग केही थियो भने एउटा सपना थियो । त्यही सपनाले मलाई पत्रकारितातिर तान्यो ।

पत्रकार भएपछि पहिलो महिना सानसँग बित्यो । किनकि मेरो नामको अघि पहिलो चोटि केही जोडिएको थियो । म त्यही जोडिएको उपनाम दोहोर्‍याउँदै हिँडिरहन्थें ।
दोस्रो महिनाको कुरा हो । दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलन चरममा थियो । विमल गुरूङको नेतृत्वमा उर्लिएको भीड सडकमा थियो । भीड भन्थ्यो, “पत्रकारले हाम्रो कुरा मात्रै लेख्नुपर्छ । किनकि जनता हामीसँग छ । गोर्खाल्यान्ड माग्ने हामी मात्रै हौं ।”

सडकमा गोर्खाल्यान्डको नारा लागिरहेकै थियो । यस्तो बेला गोर्खा लिगका स्वर्गीय नेता मदन तामाङले नयाँ खुलासा गरे, “गोर्खा जनमुक्ति मोर्चाले गोर्खाल्यान्डको घोडामा चढेर काउन्सिलको चौकी ताक्दै छ । गोर्खाल्यान्ड बेचिसकेको छ । सरकारसँग अर्कै ँसेटअप’को कुरा गर्दै छ । जनता होसियार ।”

“हँ यस्तो पनि हुन्छ र ?” आमरण अनशनमा बस्नेहरु तीनछक परे ।

दार्जिलिङमा नयाँ हलचल आयो । ज्यान दिने जनता खिसि्रक्क भए । आन्दोलन लिड गर्नेहरुमाथि नयाँ दबाब आयो । ठीक त्यही बेला नै त हो, गोर्खा लिगका कालेबुङे नेताले फेरि ‘सेटअप’ दोहोर्‍याएका ।

मैले उनको चेतावनी जस्ताको तस्तै लेखिदिएँ । खबर भोलिपल्ट प|mन्ट पेजमा छापियो । त्यसपछि पो नसोचेको घटना भयो । लिगका कालेबुङे नेतालाई आन्दोलन लिड गर्ने पार्टीका क्याडरहरुले दिउँसै खेदाउन थाले । बिचरा, उनले सरकारी ट्वाइलेटमा पसेर ज्यान जोगाए ।

समाचार मेरो नाममा प्रकाशित भएकाले म निकै नर्भस थिएँ ।

आन्दोलन लिड गर्ने एक युवा नेताले सोधेछन्, “को हो त्यो नयाँ केटा ? जनताबिनाको पार्टीको कुरा मनपरी लेख्ने हो ? आन्दोलन बिथोल्नेलाई चैं हामी छाड्दैनौं नि ?”
त्यो थाहा पाएपछि म काँपें । त्यसपछि नै त हो, मैले असली दिन देख्न थालेको ।

त्यस बेला म हरेक दिन सकसमा हुन्थें । फोन आउँदा टाउको दुख्थ्यो । प्रत्येक दिन जस्तै गाली खाइन्थ्यो । धम्की पाइन्थ्यो ।

पार्टीका टाउकेहरु टाउन हलमा आएर दिनभरि भाषण फुक्थे, “एक्काइसबर्से कालो शासन गयो । अब लेखक, साहित्यकारहरुले खुलेर लेख्नुपर्छ ।”

भोलिपल्ट उनैका क्याडरले फोन लगाउँथे र सोध्थे, “भाइलाई कालेबुङ बस्ने मन छैन ?”

लाग्छ, ती अपुगका दिन, ती सकसका दिनले मलाई धेरै कुरा सिकाए । ती दिन नदेखेको हुँदो हुँ त यी किताबका धेरै पन्ना गायब हुने थिए ।

०००

कालेबुङभित्र दर्जनौं ससाना कालेबुङ छन् । त्यहाँ सडक छैन । स्कुल छैन । बिजुली छैन । अस्पताल छैन । म त्यस्तै एउटा सानो कालेबुङमा जन्मिएको मान्छे हुँ ।

त्यही सानो कालेबुङलाई म ठूलो कालेबुङसँग चिनाउन चाहन्छु । अझ बाहिर पनि देखाउन चाहन्छु । त्यसैका लागि पनि मैले फातसुङ लेखेको हुँ ।

खासमा के हो त फातसुङ ?

फातसुङ लेप्चा शब्द हो । यसको शाब्दिक अर्थ हुन्छ- माटोको कथा ।

खासमा यो धरतीको कथा हो । अर्थात् दार्जिलिङको कथा हो । यो दार्जिलिङका निम्ति लड्ने दर्जनौं युवाको कथा हो, जसका सपना हराएका छन् । यो ती सुस्केराहरुको कथा हो, जसले आˆनो उमेर गुमाएका छन् । यो एउटा सहिद सपना हो, जसका निम्ति हजार जीवन चढाइएको छ ।

हो, यो कथा लेख्नुअघि मैले केही दर्जन आन्दोनकारीसँग भेट गरें । सबभन्दा पहिले छत्र सुब्बालाई भेटें । उनी १०वर्षपछि जेलबाट आएका थिए । मैले केही दिन उनीसँग बिताएँ । उनका आँखाबाट दार्जिलिङ हेर्ने कोसिस गरें ।

मैले गोर्खाल्यान्ड भोलिन्टियर सेलमा खट्नेहरुसँग पनि भेट गरें । उनीहरुको कथा सुनें । पीडा बुझें । लगभग तीन दर्जन आन्दोलनकारीको कथा डायरीमा कोरें । र तीन जना पात्रको आँखाबाट गोर्खाल्यान्ड मुभमेन्टलाई हेर्न थालें । अनि पो किताब जस्तो केही बन्यो । र बल्ल मैले सुस्तरी मुस्कुराउन सकें !

खासमा यो मेरो होइन, आन्दोलन भोगेकाहरुको कथा हो । उनीहरु नहुँदा हुन् त यो उपन्यास बन्ने नै थिएन ।

(छुदेन काविमोको पुस्तक फातसुङबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment