Comments Add Comment

हावाहुरीबाट रौतहटमा एक जनाको मृत्यु

२६ चैत, रौतहट । हावाहुरीले रौतहटमा एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान ९ बजे आएको हावाहुरीबाट देवाही गोनाही नगरपालिका ३ मा ६० बर्षकी रामसखी देवी चमइनको मृत्यु भएको छ ।

हावाहुरीले घरको छाना उडाउदा टाली खसेर चोट लागेपछि रामसखीको मृत्यु भएको परिवारजनले जनाएका छन् । रौतहटका एसपी भुपेन्द्र खत्रीले हावाहुरीबाट वृद्धाको मृत्यु संयोग मात्रै भएको बताए । घरको छाना उडाएपछि पानीमा भिजेर चिसो भई मृत्यु भएको हुनसक्ने उनको भनाइ छ ।

हावाहुरीसंगै असिनापानीबाट परोहा नगरपालिकाको १, २, ३ र ४ स्थित दलित बस्तीका पचास भन्दा बढी घरको छाना उडाएको छ । वृन्दावन नगरपालिकाको खैरा र रमौली वैरियामा पनि हावाहुरीले क्षति पुर्‍याएको छ । घरको छाना खस्दा रमौलीमा ६३ बर्षका तिलक सहनी घाइते भएकाा छन् । उनको गरुडामा उपचार भइरहेको छ ।

देवाही गोनाही, गौर नगरपालिका, राजदेवी नगरपालिका, दुर्गा भगवती गाउँपालिका, यमुनामाई गाउँपालिका, राजपुर नगरपालिकासहितको स्थानीय तहका विभिन्न गाउँहरुमा हावाहुरीसंगै आएको असिनापानीले घर, अन्नबालीमा गहु, मकै, आप, लिचिलगायतको लागि निकै क्षति पुर्‍याएको जानकारी दिदै एसपी खत्रीले मातहतका प्रहरी युनिटबाट क्षतिको विवरण संकलन गर्ने भइरहेको बताए ।

हावाहुरीको अत्याधिक वेगका कारण गौर भन्सार कार्यालयको फलामको वैरियर समेत भाँची दिएको छ । जिल्लाको विभिन्न स्थानहरुमा फल लागेका आँप र लिचीलाई निकै क्षति पु¥याएको छ भने इटाभटामा तयार पारिएको करोडौंको काँचो इटा नष्ट भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment