Comments Add Comment

नेपाली फिल्मका निरिह निर्माता, शक्तिशाली वितरक

हलिउड र बलिउड फिल्मको आक्रामण कहिलेसम्म हेरिरहने ?

फागूणको २४ गते नै रिलिज हुनुपर्ने हलिउड चलचित्र ‘क्याप्टेन मार्भल’ चैत्रको २२ गते नेपालमा रिलिज भयो । नेपाली वितरक र हलिउड चलचित्र वितरण कम्पनीविचको असमझदारीले यो लफडा श्रृजना भएको थियो । तर, ‘क्याप्टेन मार्भल’ चैत्र २२ गते रिलिज हुँदा त्यसको प्रत्यक्ष प्रभाव नेपाली चलचित्र ‘लभ स्टेशन’माथि परेको थियो । डिज्नीको चलचित्र नेपालमा रिलिज नै नगर्ने अडान लिएर बसेको काठमाण्डौको ठूलो मल्टिप्लेक्स क्यूएफएक्सले नेपाली वितरकले दिएको ह्यान्डसम शेयरलाई स्विकार गर्यो र चलचित्र लगायो । यो चलचित्र नेपालमा करिब एक महिनापछि लाग्दा प्रत्यक्ष प्रभाव नेपाली चलचित्रमाथि परेको छ ।

अब, चैत्र २९ गतेको कुरा गरौ । चैत्र २९ गते दुई नेपाली चलचित्र रिलिज हुँदैछन् ‘ए मेरा हजुर ३ र यात्रा’ । यी दुबै चलचित्रमा निर्माताका कम्तीमा ५ करोड लगानी परेको छ । संभवत यो चलचित्रको वितरण गर्ने वितरकले ५ देखि १५ प्रतिशत शेयर लिने गरी यसको वितरण गर्ने जिम्मा पनि लिएका होलान् । तर, चैत्रको ८ गते नेपालमा रिलिज हुन नसकेको हलिउड चलचित्र ‘डम्बो’ चैत्र २९ गते आउने भएको छ । ‘ए मेरो हजुर ३’का वितरक र यो हलिउड चलचित्रका वितरक एउटै हुन् । यी दुबै चलचित्रका वितरकलाई नेपाली चलचित्रबाट मात्र होइन हलिउड चलचित्रबाट पनि नाफा खाने ठूलै लोभ पलाएको देखिन्छ । यो मितिमा अन्य २ वटा हलिउड चलचित्र पनि रिलिज हुने पक्का छ । ‘डम्बो’ रिलिज गर्नका लागि मल्टिप्लेक्सले फेरि पनि ह्यान्डसम शेयरको लोभ पालेको कुरामा दुइमत छैन ।

नेपाली चलचित्रमाथि यो मनलाग्दी कहिलेसम्म चल्छ भन्न सकिने अवस्था छैन । एउटै वितरकले हलिउड, बलिउड र नेपाली चलचित्र एउटै मितिमा रिलिज गरिरहेका छन् । चैत्र ८ मा सरेको हलिउड चलचित्र ‘डम्बो’लाई चैत्र २९ को साटो कुनै पनि नेपाली चलचित्र नभएको मिति अर्थात वैशाखको ६ गते रिलिज गर्दा वितरकलाई घाटा लाग्ने थिएन । तर, पैसाको लोभमा ३ वटा भिन्न देशका चलचित्र एकसाथ लगाइदिने वितरकको नैतिकता खै किन हराएको हो ?

अब फेरि केही समय अगाडि नै उठाएको प्रसंग यहाँ उठाउन आवश्यक छ । वैशाखको ४ गते वुधबार नेपाली हलमा ‘कलंक’ नामको बलिउड चलचित्र रिलिज हुँदैछ । वुधबार नै नेपालमा हिन्दी सिनेमाको आक्रामणलाई चलचित्र विकास बोर्ड र चलचित्र निर्माता संघले कसरी लिन्छ, प्रतिक्षा गरौ ।

नेपाली चलचित्र बजारमा हलिउड र बलिउड चलचित्र एउटा डरलाग्दो ‘ड्रागन’को रुपमा देखिएको छ । जसले दुबैतिरबाट नेपाली चलचित्रलाई कर्लप्पै खाइदिएको छ । हो, एक हदसम्म नेपाली चलचित्र राम्रो नबनेर पनि नचलेका हुन् । तर, आफ्नै देशका चलचित्रका निर्माताबाट ५ देखि १५ प्रतिशत शेयर लिएर सोही मितिमा विदेशी चलचित्र रिलिज गर्ने नैतिकता वितरकलाई हुन्छ कि हुँदैन ? कि पैसा कमाउनु नै सवथोक हो ?

यसरी, एकैसाथ नेपाली चलचित्रमाथि हलिउड र बलिउड चलचित्र रिलिज गर्ने वितरकलाई नेपाली चलचित्र रिलिज गर्ने अधिकार दिने कि नदिने ? सबैभन्दा ठूलो कुरा नैतिकताको हो । यही नै हराएपछि कसैको केही लाग्दैन । नेपाली चलचित्र हलिउड र बलिउडका चेपुवामा त छन् नै । तर, तीनै हलिउड र बलिउड चलचित्रलाई आफूलाई मन लागेको डेटमा ल्याएर नेपाली निर्माता मार्न पाइन्छ कि पाइदैन ?

नेपाली चलचित्रका लागि डरलाग्दो ‘ड्रागन’ हलिउड र बलिउड चलचित्र हुन् वा ती चलचित्रलाई मनलाग्दी डेटमा रिलिज गर्ने नेपालकै चलचित्रकर्मी ? अब पनि चलचित्र विकास बोर्ड र चलचित्र निर्माता संघले यो बिषयमा सोचेनन् भने नेपाली चलचित्र केही बर्ष भित्रै इतिहासमा सिमित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment