Comments Add Comment

नक्कली बैंक ग्यारेन्टी लिएर ठेकदारलाई भुक्तानी, ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२६ चैत, काठमाडौं । नक्कली बैंक ग्यारेन्टीका आधारमा ठेकदारलाई मोविलाइजेसन रकम दिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भोजपुरका तत्कालिन जिल्ला प्राविधिक कार्यालय प्रमुख लालु गिरीसहित ७ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

भोजपुर-टक्सार-कोट-गगने-लेखर्क सडक स्तरोन्नतिको ठेक्कामा आफूले पनि लाभ लिने गरी ठेकदार एमकेवाईपी जेभीले पेश गरेको नक्कली बैंक ग्यारेन्टी लिएर मोविलाइजेसन रकम दिएको खुलेको अख्तियारले जनाएको छ ।

अख्तियारले तत्कालिन कार्यालय प्रमुख गिरी, लेखापाल रामबहादुर दाहाल, शाखा अधिकृत छविलाल ढकाल तथा एम के निर्माण सेवाका प्रबन्ध निर्देशक माधवप्रसाद खनाल र वाईपी कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक राजु श्रेष्ठविरुद्ध १ करोड १० लाख ८० हजार रुपैयाँ विगो दावी गरेको छ ।

ठेक्काको मोविलाइजेसन रकम माग गर्दा एमके वाईपी जेभीले कृषि विकास बैंक मुख्य शाखा कार्यालय रत्नपार्कको बैंक ग्यारेन्टी पेश गरेका थिए । कार्यालय प्रमुख गिरीसहित कर्मचारीहरुले बैंक ग्यारेन्टीको वैधतासम्बन्धी कुनै सोधपुछ र पुष्ट्याई नलिई निर्माण कम्पनीका प्रतिनिधि र सञ्चालकसँग मिलेमतो गरी सरकारी सम्पत्ति हानी नोक्शानी पुर्‍याउने र आफूले लाभ लिने उद्देश्य राखेको पाइएको अख्तियारले जनाएको छ ।

अख्तियारले एमके वाईपी जेभीका अधिकारिक प्रतिनिधि रणधीर तुम्बासँग ५५ लाख ३० हजार र देवजंग शाहीसँग ५ लाख ५५ हजार रुपैयाँ विगो माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment