Comments Add Comment

यी हुन् बर्षका ५ उत्कृष्ट नायिका

यो बर्ष नेपाली चलचित्र बजारमा संझनलायक चलचित्र निकै कम आए । चलचित्र भित्र पनि कलाकारको भूमिकालाई लिएर बजारमा कमै मात्र चर्चा भयो । तर, पनि यो बर्ष केही यस्ता नायिकाहरु देखिए, जसको उत्कृष्टता विभिन्न आधारमा देखियो ।

हामीले यो बर्षका उत्कृष्ट ५ नायक प्रस्तुत गरिसकेका छौ । आज हामी, यो बर्षको उत्कृष्ट ५ नायिका प्रस्तुत गर्दैछौ । उत्कृष्ट ५ नायिकाको छनोटमा अनलाइनखबरले ‘स्टारडम, चलचित्रको व्यापार, बजारको माग, अभिनय, अनलाइनखबरको समाचार र भिडियोमा पाठक तथा दर्शकले दिनुभएको प्रतिक्रिया’ आदिलाई मुख्य मापदण्ड बनाएको छ ।

५. जसिता गुरुङः गतबर्ष चलचित्र ‘लिलिबिली’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका जसिता गुरुङले पहिलो चलचित्रबाट नै प्रवल संभावना देखाइन् । यो बर्ष उनी अभिनित चलचित्र ‘लभ स्टेशन’ हलमा लागिरहेको छ । चलचित्रबाट जसिताले राम्रै प्रतिक्रिया पाइरहँदा उनलाई लिएर चलचित्र बनाउन चाहने निर्माताको संख्या पनि कमी छैन ।

अशोक शर्मा, रेनशा वान्तवा राइ लगायतका निर्माताको चलचित्रबाट उनलाई महंगो पारिश्रमिकमा अफर जानु यो कुराको प्रमाण हो । जसितालाई सामाजिक संजाल र युटुबमा पनि खुबै खोजिन्छ । उनको नाम विशेषगरि, नायक प्रदिप खड्कासँग जोडिएतापनि जसिताले आफ्नै पहिचान चलचित्र क्षेत्रमा बनाइरहेकी छिन् । यहीकारणले जसिता गुरुङले पहिलो पटक अनलाइनखबरको ‘उत्कृष्ट ५ नायिका’को सूचीमा आफ्नो स्थान जमाएकी छिन् ।

४. प्रियंका कार्कीः नम्बर १ स्थानबाट गतबर्ष नम्बर २ मा झरेकी नायिका प्रियंका कार्कीले यो बर्ष चौथो नम्बरमा आफूलाई टिकाएकी छिन् । नायिका प्रियंका कार्कीको यो बर्ष ‘ह्याप्पी डेज, कोहलपुर एक्सप्रेस, नाई नभन्नु ल ५, कथा काठमाण्डु, छक्का पन्जा ३, चंगाचेट’ लगायतका चलचित्र रिलिज भए । यो बर्ष प्रियंकाले चलचित्रमा आइटम नृत्य पनि खुबै गरिन् । यो बर्ष उनी अभिनित चलचित्र ‘कथा काठमाण्डु’मा उनले दिएको चुम्बन र बेडसिनले बजार ततायो ।

नायिका कार्कीको डिमाण्ड यो बर्ष चलचित्रमा कमजोर बन्यो भने म्यूजिक भिडियोमा खुबै देखियो । उनलाई चलचित्रमा केमियो, आइटम नृत्य खेलाउन मात्र निर्माता–निर्देशक बढी लालयित देखिए । तर, पनि यो बर्ष उनी विज्ञापन बजार, विदेशका कार्यक्रममा व्यस्त बनिन् । यी र यस्तै कारणले प्रियंकाले यो बर्षको ‘उत्कृष्ट ५ नायिका’को सूचीमा आफूलाई चौथो स्थानमा राख्न सफल भएकी छिन् ।

३. नम्रता श्रेष्ठः यो बर्ष नायिका नम्रता श्रेष्ठको एउटा मात्र चलचित्र ‘प्रसाद’ रिलिज भयो । यो चलचित्रले व्यापारिक रुपमा राम्रै कमाई गर्दा नम्रताको अभिनयको पनि प्रशंसा भयो । नम्रता बर्षभरी एउटा चलचित्र मात्र खेल्ने तर मिहिनेत गर्ने नायिकाको रुपमा चिनिन्छिन् । यो बर्ष उनले चलचित्र ‘जाइरा’मा अभिनय गरिन् । यो चलचित्रका लागि उनले गरेको मिहिनेत पनि लोभलाग्दो नै छ । नायिका नम्रता श्रेष्ठको रिजर्भ बस्ने र मिहिनेत गर्ने बानीको प्रशंसक खुबै छन् । यो बर्ष उनी प्रेम प्रसंगले पनि चर्चामा रहिन् । एउटै चलचित्रमा उत्कृष्ट अभिनय गर्ने नायिका श्रेष्ठ यही कारणले ‘ओके टप ५’ नायिकाको तेश्रो स्थान ओगट्न सफल भएकी छिन् ।

२. साम्राज्ञी राज्यलक्ष्मी शाहः गतबर्ष पहिलो नम्बर कब्जा गरेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह यो बर्ष एक स्थान तल झरेकी छिन् । साम्राज्ञीको यो बर्ष चलचित्र ‘कायरा र इन्टु मिन्टु लण्डनमा’ रिलिज भए । यी दुबै चलचित्र बक्स अफिसमा पूर्ण सफल भने भएनन् । तर, लभ स्टोरी चलचित्रका लागि साम्राज्ञी सधै नै पहिलो रोजाइमा परेको पाइयो । साम्राज्ञीको अभिनयमा विविधता नआएपनि उनको माग भने घटेन । यो बर्ष उनलाई १५ देखि १६ लाख पारिश्रमिक दिएर दुई चलचित्रमा निर्माताले काम गराएका छन् । साम्राज्ञी सर्वाधिक पारिश्रमिक लिने नायिका पनि बनिन् ।

यस्तै, यो बर्ष नै उनी धनाढ्य व्यापारीसँगको प्रेमका कारण पनि चर्चामा रहिन् । प्रेमीलाई लिएर विभिन्न सार्वजनिक कार्यक्रममा पुगेपछि उनको मिडियामा हाइप खुबै देखियो । बजारमा देखिएको माग, स्टारडम, चलचित्रको व्यापार आदि कारणले नायिका शाह यो बर्षको ‘ओके टप ५’को दोश्रो स्थानमा छिन् ।

१. स्वस्तिमा खड्काः नायिका स्वस्तिमा खड्काका लागि फूलेको बर्ष हो यो । यो बर्ष स्वस्तिमा अभिनित चलचित्र ‘नाई नभन्नु ल ५, जय भोले, बुलबुल’ रिलिज भए । ‘नाई नभन्नु ल ५’ले नाफा दिदा ‘जय भोले’ले लगानी उठायो । चलचित्र ‘बुलबुल’ बक्स अफिसमा खासै नचलेपनि स्वस्तिमाको कामको प्रशंसा भने सर्वत्र भयो । ट्याम्पो ड्राइभर महिलाको भूमिकालाई उनले न्याय दिइन् । स्वस्तिमाको क्रेज म्यूजिक भिडियो, विज्ञापन बजारमा पनि खुबै देखियो ।

स्वस्तिमालाई लिएर चलचित्र बनाउन चाहने निर्माताको संख्या पनि धेरै छ । स्वस्तिमा खड्काले आफूमा ग्ल्यामर मात्र नभएर अभिनय पनि छ भन्ने पुष्टी गरिन् । उनी अभिनित चलचित्रको व्यापार, उनको माग, अभिनय आदिका कारण उनी यो बर्षको ‘ओके टप ५’ नायिकाको सूचीको पहिलो स्थानमा दमदार रुपमा कब्जा गर्न सफल छिन् ।

हुनत, उत्कृष्ट ५ मा परेका नायिकाहरुले आफ्नो अभिनयमा पनि निकै मिहिनेत गर्न आवश्यक छ । चलचित्र क्षेत्रमा कलाकारले फरक अभिनय गर्न सक्दैनन् भन्ने दर्शकको जुन आरोप छ, यी आरोपबाट यो बर्षका ५ नायिका मुक्त भने छैनन् । तर, उत्कृष्ट ५ मा पर्न सफल सबै नायिकालाई हार्दिक बधाई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment