Comments Add Comment

विमानस्थल प्रमुखलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण

२७ चैत, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियम उल्लघंन गरी उडान अनुमति दिएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीलाई स्पष्टीकरण सोधेको छ ।

मन्त्रालयले नेपाल वायु निगम र फ्लाइ दुबईसँग किन फरक फरक व्यवहार भयो भनी क्षेत्रीसँग प्रष्टीकरण मागेको हो । मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले क्षेत्रीसँग स्पष्टीकरण सोधिएको पुष्टि गरे ।

उनका अनुसार बुधबार कार्यालय समयभित्रै नेपाल नागरिक उड्ययन प्राधिकरणमार्फत पत्र पठाइएको छ ।

‘हामीले यथाशिघ्र जवाफ दिनू भनि पत्र पठाइसकेका छौं, सम्भवतः आजै वा भोलि बिहानसम्म जवाफ आइपुग्ला’, उनले भने ।

मंगलबार राति विमानस्थलसम्बन्धी अन्तर्राष्ट्रिय नियम (नोटाम) को उल्लंघन गरी विमानस्थल बन्द भएको १७ मिनेटपछि पनि फ्लाई दुबईलाई उडान अनुमति दिएको समाचार बाहिर आएपछि स्पष्टीकरण सोधिएको उनको भनाइ छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नतिको काम चलिरहेकाले हाल राति १० बजेपछि उडान अवतरण बन्द गर्ने गरिएको छ । नोटाम लागू भएको अवस्थामा बिमानस्थलमा उडान-अवतरण गर्न पाईंदैन ।

एक साता पहिले विमानस्थल प्रशासनले यही नियम देखाएर नेपाल एयरलाइन्सको फ्लाइट नम्बर आरए २३१ को दुबई उडान रोकेको थियो । नोटाम लागू भएको ४ मिनेटपछि उडान गर्न खोज्दा हुँदा नेपाल एयरलाइन्सले विमानस्थल प्रशासनबाट अनुमति पाएन ।

२७४ जना यात्रुसहित दुबई उड्न लागेको नेपाल एयरलाइन्सको ए-३३०-२२० वाइडबडी विमानलाई विमानस्थल प्रशासनले रोकेको समाचार बाहिर आएपछि चौतर्फी बिरोध भएको थियो ।

उस्तै घटनामा विमानस्थल प्रशासनले फ्लाइ दुबईलाई उडान अनुमति दिएपछि यो विषय मन्त्रालयसम्म पुगेको छ ।

अब क्षेत्रीको जवाफअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आवश्यक निर्देशन दिइने मन्त्रालयका प्रवक्ता उपाध्यायले बताए । विमानस्थलले भने नेपाल एयरलाइन्स रोकिएको घटनाका कारण यात्रु अलपत्र परेकोले त्यस्तो अवस्था नआओस् भनेर उड्न दिइएको जनाएको छ ।

यसअघि नेपाल एयरलाइन्स रोकिँदा महाप्रवन्धक क्षेत्री हङकङमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment