Comments Add Comment

यी हुन् बर्षका ५ उत्कृष्ट फिल्म

यो बर्ष संख्यात्मक रुपमा एक सय वटा चलचित्र रिलिज भएको रेकर्ड छ । एक सय चलचित्र रिलिज हुँदा ३ वटा चलचित्रका निर्माता मात्र हाँस्न पाउनु आफैमा दुखद अवस्था हो । यो बर्ष अधिकांश चलचित्रलाई दर्शकले पत्याएनन् ।
केही चलचित्र राम्रो समिक्षा पाउँदा पनि चलेनन् भने केही चलचित्रलाई समिक्षकले नरुचाउँदा पनि बम्पर कमाई गरे । यो बर्ष पनि ‘अनलाइनखबरले उत्कृष्ट ५ फिल्म’ चयन गरेको छ । यो बर्षको उत्कृष्ट ५ को सूचीमा परेका चलचित्रलाई ‘व्यापार, बिषयवस्तु, बजार चर्चा, मेकिङ, गीतसंगीत’ लगायतका मापदण्डका आधारमा छनोट गरिएको हो ।

५. इन्टु मिन्टु लण्डनमाः रेनशा वान्तवा राइको निर्देशनमा तयार भएको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ले नेपालबाट औषत व्यापार गर्यो । तर, यो चलचित्रले रिलिज अगाडि र रिलिजपछि पनि हलमा राम्रै क्रेज देखाएको थियो । प्रेमकथामा निर्माण भएको यो चलचित्रलाई दर्शकले रुचाए । चलचित्रको मेकिङ उच्च थियो भने कलाकारको अभिनयले पनि प्रभावित बनायो । गीतसंगीतका हिसाबले पनि यो चलचित्र अब्बल रहन सक्यो । यही चलचित्रबाट नायक धिरज मगरले राम्रो चर्चा बटुले । हिजोआज बन्ने फिल्महरु फिल्म जस्तो नलागेको अवस्थामा ‘इन्टु मिन्टु लण्डनमा’ फिल्म लाग्यो । यी र यस्तै कारणले यो चलचित्र यो बर्षको ‘अनलाइनखबर उत्कृष्ट ५ फिल्म’को सूचीको पाँचौ स्थान ओगट्न सफल भएको छ ।

४. नाई नभन्नु ल ५ः यो बर्षको सर्वाधिक कमाई गर्ने दोश्रो चलचित्र हो, ‘नाई नभन्नु ल ५’ । ‘नाई नभन्नु ल’ सिरिजको पाँचौ श्रृङ्खलासम्म आइपुग्दा पनि निर्देशक विकासराज आचार्यले दर्शकलाई निराश बनाएका छैनन् । बालप्रेम देखाएको भनेर आलोचित भएपनि यसपटक विकासले चलचित्रमा केही ट्विष्ट भित्राएका थिए । मान्छे मरेपनि प्रेम मर्दैन भन्ने थीममा तयार भएको यो चलचित्र गीतसंगीतका हिसाबले पनि अब्बल रह्यो । चलचित्रको लोकेशन, मेकिङ पनि दर्शकलाई रिझाउने खालको नै थियो ।

नायिका स्वस्तिमा खड्काको दोहोरो भूमिकाले दर्शकलाई सरप्राइज दियो । व्यापारदेखि चर्चाका हिसाबले सफल मानिएको यो चलचित्रको बिषयवस्तु पनि कमजोर थिएन । यी र यस्तै कारणले यो बर्षको ‘उत्कृष्ट ५ चलचित्र’को चौथो स्थान ओगट्न ‘नाई नभन्नु ल ५’ सफल भएको छ ।

३. बुलबुलः ट्याम्पो ड्राइभर महिला र उनको मनोविज्ञानलाई निर्देशक विनोद पौडेलले पर्दामा सुक्ष्म रुपमा उतारेका थिए । यो चलचित्रलाई समिक्षकले उत्कृष्ट भनेका छन् । व्यापारिक रुपमा भने यो चलचित्र चिप्लियो । नायिका स्वस्तिमा खड्का र कलाकार मुकुन भुषालको अभिनयले चलचित्रलाई बलियो बनायो । समाजभित्र देखिएको सुक्ष्म कथालाई निकै नै मार्मिक भाषामा निर्देशकल पस्किएका छन् । चलचित्र ‘बुलबुल’ कमर्सियल रुपमा नचलेपनि हेर्ने दर्शकलाई रिझाउन सफल भयो । यसैले पनि यो बर्षको उत्कृष्ट ५ चलचित्रको सूचीमा यसले तेश्रो स्थान कब्जा गरेको छ ।

२. प्रसादः नायक विपिन कार्की र नायिका नम्रता श्रेष्ठलाई मुख्य पात्रको रुपमा र कलाकार निश्चल बस्नेतलाई खलपात्रको रुपमा प्रस्तुत गर्दै निर्देशक दिनेश राउतले तयार पारेको यो चलचित्रले दर्शकको मन जित्यो । चलचित्रले समाजभित्र गुम्सिएको तर उठ्न नसकेको कथालाई मार्मिक तरिकाले उठान गर्यो । निःसन्तान दम्पत्तीको मनोभावलाई निर्देशक राउतले सुक्ष्म रुपमा उठान गरेका थिए । चलचित्रमा समावेश ‘बनकी छोरी के भन्छे र बरी लै’ गीतले दर्शकको मन जित्यो । सामान्य मेकिङमा मार्मिक कथा बोलेको यो चलचित्रले नेपालबाट १ करोड भन्दा बढी शेयर निर्माताको गोजीमा भरिदिएको छ । यी र यस्तै कारणले पनि यो चलचित्र बर्षको उत्कृष्ट ५ चलचित्रको दोश्रो स्थान ओगट्न सफल भएको छ ।

१. छक्का पन्जा ३ः छक्का पन्जाको ब्रान्डमध्ये सबैभन्दा गहकिलो कथावस्तु तेश्रो सिरिजमा उठान गरेका थिए लेखक दिपकराज गिरीले । विशेषगरि, नेपालका सरकारी विद्यालयमा हुने राजनीति र विद्यार्थीको करिअरमाथिको खेलवाडको कथालाई यसपटक यो सिरिजमा उठान गरिएको थियो । निर्देशक दीपाश्री निरौलाले तेश्रो सिरिजमा समाजमा सबैले देखेको तर बोल्न नसकेको कथालाई क्यामेराको आँखाबाट हेर्ने आट गरेकी थिइन् ।

कमेडीलाई समाजको गम्भिर कथामा ढालेर प्रस्तुत गरिएको यो चलचित्रले नेपाली चलचित्रको इतिहासमै सर्वाधिक धेरै कमाई गर्यो । १६ करोड भन्दा बढी ग्रस कलेक्शन गरेर अहिलेसम्मकै ब्ल्कबस्टर बनेको यो चलचित्रमा कलाकारको अभिनय पनि उत्कृष्ट छ । चलचित्रमा समावेश ‘पहिलो नम्बरमा’ बोलको गीतले दर्शकलाई तान्यो ।

सामाजिक कथालाई कमेडीको माध्यमबाट प्रस्तुत गरेर दर्शकको मन जित्न सफल भएका कारण चलचित्र ‘छक्का पन्जा ३’ अनलाइनखबरको उत्कृष्ट ५ चलचित्रको पहिलो स्थानमा दमदार रुपमा कब्जा गर्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment