Comments Add Comment

विद्युतीय बस कारखाना खोल्न निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रह

२८ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रलाई विद्युतीय बस उत्पादन उद्योग खोल्न आग्रह गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभाको उद्घाटन गर्दै उनले विद्युतीय बस उत्पादन गर्न चाहनेलाई सरकारले सहयोग गर्ने बताएका छन् ।

करको विषयमा नमिलेका र अस्पष्ट रहेका केही विषय रहेको भन्दै प्रधानमन्त्री ओलीले सरकार त्यसलाई समाधान गर्न तत्पर रहेको पनि बताए । संघीयता कार्यान्वयनका क्रममा करमा केही समस्या देखिएको भन्दै यो विषय आग्रह पूर्वाग्रहका रुपमा लिन नहुने उनको भनाइ छ ।

नेपालमा लगानीको वातावरण कति बनेको छ भन्ने लगानी सम्मेलनले नै पुष्टि गरेको भन्दै उनले नेपालमा लगानी गर्न विदेशी लगानीकर्ता पनि उत्साहित भएको जिकिर गरे ।

प्रधानमन्त्री ओलीले सरकार सार्वजनिक निजी साझेदारी (पीपीपी) मा काम गर्न इच्छुक रहेको बताएका हुन् । उनले पीपीपीका लागि निजी क्षेत्रभन्दा सरकार बढी उदार रहेको जिकिर गरे ।

‘अहिले सरकार पब्लिक प्राइभेट पार्टनरसीपमा काम गर्न सरकार विल्कुलै तयार छ । त्यसका लागि प्राइभेट सेक्टर भन्दा सरकार बढी उदार छ’ उनले भने ।

प्रधानमन्त्रीले त्यसका लागि के के गर्नुपर्छ भनी निजी क्षेत्रलाई प्रश्न समेत गरे । उनले कुन कुन ऐन कहाँ कहाँ संशोधन गर्नुपर्छ सरकार तयार रहेको पनि बताए । ‘त्यसका निम्ति के के गर्नुपर्छ ? कुन ऐनको कहाँनेर संशोधन गर्नुपर्छ ?’ प्रधानमन्त्री ओलीले भने ‘भएन भनेर मात्र होइने भएन कहाँ भएन त्यसलाई कस्तो बनाउनुपर्छ, त्यसलाई उपयुक्त ढंगबाट एड्रेस गर्छौं ।’

तर उनले निजी क्षेत्रले भनेका शत प्रतिशत माग पूरा नहुन सक्ने पनि बताए । ‘अधिकार, अवसर, सहुलियत, वातावरण सबै दिने पक्षमा सरकार छ’ प्रधानमन्त्रीले भने ।

उनले उद्योगी व्यवसायीलाई एक अर्काको खुट्टा तान्ने काममा नलाग्न पनि आग्रह गरे । ‘तपाईंहरु खुट्टा तान्ने काम नगर्नुस् खुट्टा तान्ने काम राजनीतितिर छाडिदिनुस्’ प्रधानमन्त्री ओलीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment