Comments Add Comment

आरुघाटको मुआब्जा निर्धारण वैशाखभित्रै

गोरखाका सीडीओ भन्छन् : केही प्राविधिक काममात्रै बाँकी छ

२८ चैत्र, गोरखा । बुढीगण्डकी डुवान क्षेत्रमा पर्ने गोरखाको आरुघाट, आर्खेत र धादिङको खहरे बजार क्षेत्रको मुआब्जा निर्धारण अन्तिम चरणमा पुगेको छ । केही प्राविधिक कामवाहेक अन्य सबै प्रक्रिया सकिएको जिल्ला मुआब्जा निर्धारण समितिका अध्यक्ष तथा गोरखाका प्रमुख जिल्ला अधिकारी गजेन्द्र श्रेष्ठले जानकारी दिए ।

‘राजनीतिक दल, जनप्रतिनिधि, प्रभावित स्थानीयलगायत सरोकारवालासँग छलफल गर्नुपर्ने काम जति सकियो,’ उनले भने, ‘अब छिटै मुआब्जा निर्धारण गर्छौं ।’ प्रजिअ श्रेष्ठले वैशाख महिनाभित्रै निर्धारण गरेर वितरण शुरु गर्ने बताए ।

‘मुआब्जा तोक्नका लागि मैले प्रभावितहरुसँगसमूहमा मात्र होइन एक्लै भेटेर पनि कुरा गरेँ, धेरै अध्ययन पनि गरेको छु । सरकारको पनि केही नम्र्सहरु हुन्छ्न् त्यही आधारमा मुआब्जा निर्धारणको तयारी गरेका छौ,’ प्रजिअ श्रेष्ठले भने ।

मुआब्जा स्थानीय वासिन्दाको अपेक्षा अनुसार हुन नसके पनि अन्यायमा पर्ने गरी निर्धारण नहुने उनी बताउँछन् । बुढीगण्डकी जलविद्युत आयोजनाको डुवान क्षेत्रमा पर्ने गोरखा र धादिङका व्यक्तिmगत जग्गाको मुआब्जा २०७३ साल मंसिर र पुसमा निर्धारण भए पनि बजार क्षेत्रमा पर्ने भनी आरुघाट, आर्खेत र खहरे बजारको मुआब्जा निर्धारण गरिएको थिएन ।

‘प्रभावितहरुको मागलाई पनि सम्बोधन गर्ने सक्दो प्रयास गर्छाै, मूल्यमा केही तलमाथि हुन सक्छ, त्यसमा उहाँहरुले पनि सहयोग गर्नुपर्छ’ प्रजिअ श्रेष्ठले भने ‘यो आयोजनाले अर्काे आयोजना नबन्ने अवस्था नहोस्, फेरि प्रभावितको घरबास उठ्ने काम पनि नहोस् ।’ उनले भने । आरुघाट बजारको करिव तीन हजार रोपनी क्षेत्रफल डुवानमा पर्ने आयोजनाले जनाएको छ ।

मुआब्जा तोक्न माग गर्दै गोरखाको आरुघाट बजारका वासिन्दाले पटक पटक स्थानीय स्तरमा, गोरखा सदरमुकाममा र काठमाडौंमा समेत प्रदर्शन गर्दै आएका छन् । जिल्ला प्रशासन कार्यालयले आरुघाटको मुआब्जा निर्धारणबारे अध्ययन गर्न सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलको संयोजकत्वमा उपसमिति पनि गठन गरेको थियो । उपसमितिले अन्य जिल्लाका केही आयोजनाहरुको मुआब्जा वितरण प्रक्रियाबारे अध्ययन गरेर प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

हालसम्म करिब २४ अर्ब मुआब्जा वितरण

बुढीगण्डकी जलविद्युत आयोजनाले हालसम्म करिब २४ अर्ब रुपैयाँ मुआब्जा रकम वितरण गरिसकेको छ । गोरखा र धादिङ तर्फका आयोजना प्रभावितलाई उक्त रकम वितरण गरिएको बुढीगण्डकी वातावरण, मुआब्जा, पुनर्बास तथा पुनर्स्थापना इकाइ प्रमुख कृष्णबहादुर कार्कीले बताए ।

गोरखा र धादिङ तर्फ करिब १२/१२ अर्ब रकम वितरण भएको उनले जानकारी दिए । चालु आर्थिक बर्ष मुआब्जाका लागि आएको रकम मध्य नौ अर्ब अझै बाकी रहेको उनले बताए ।

मुआब्जा निर्धारण भएका क्षेत्रमध्ये धादिङतर्फ एक चरण सबै ठाउँमा मुआब्जा वितरण भएको आयोजनाले जनाएको छ । गोरखातर्फ साविकका तान्द्राङ, आरुपोखरी, आरुचनौटे र आरुआर्वाङका केही ठाउँ बाकी रहेको कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment