Comments Add Comment

दुई करोड खर्चेर मिलन पार्कलाई आकर्षक बनाइँदै

२८ चैत, बुटवल । बुटवलको मिलन पार्कलाई दुई करोड रुपैयाँ खर्च गरेर आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न लागिएको छ ।

२२ हेक्टरमा फैलिएको यो पार्कलाई व्यवस्थित र सुविधा सम्पन्न बनाउन बुटवल उपमहानगरपालिकाले काम सुरु गरेको हो । यसका लागि पुल, कल्भर्ट, पर्खाल र सभाहल निर्माणको काम सुरु भएको छ । करिब डेढ करोडको लागतमा बन्न लागेको सभाहलको बिहीबार नगरप्रमुख शिवराज सुवेदीले शिलान्यास गरे ।

पार्कमा गत वर्ष संसद विकास कोष मार्फत ५० लाखको लगानीमा सभाहलको जग बसाल्ने र पिल्लर राख्ने काम भएको थियो । ५ सय ५० जना अट्ने सभाहललाई बुटवल उपमहानगरपालिकाले यसवर्ष सक्ने गरी काम अघि बढाएको नगरप्रमुख सुवेदीले बताए ।

२०५७ सालमा मिलन बगैंचाका रुपमा काम सुरु भए पनि अहिले यो पार्कको मुहार फेर्ने गरी काम थालनी भएको हो । चारपाला सामुदायिक वन क्षेत्रमा रहेको यो पार्क पूर्व–पश्चिम राजमार्गदेखि करिब एक किलोमिटर उत्तरमा पर्छ ।

मिलन पार्कलाई रमाइलो पार्कका रुपमा विकास गर्नेगरी उपमहानगरपालिकाले गुरुयोजनासमेत बनाइसकेको र अब नयाँ चरणको काम सुरु भएको सुवेदीले जानकारी दिए ।

दोस्रो चरण अन्तर्गत पर्खाल उठाउन र दुई तला ढलान हुनेछ । त्यसका लागि ८२ लाख ४४ हजार रुपैयाँमा ठेक्का लगाइएको छ । पार्कमा जाने सतगढी नालामा पुल निर्माण भएको छ भने पार्कको वरिपरिको क्षेत्रमा व्यवस्थित र वातावरणमैत्री पर्खाल निर्माणको काम चलिरहेको पार्कका अध्यक्ष सावित्रा रेग्मीले जानकारी दिइन् ।

‘बगैंचाका रुपमा सुरु भएको करिब २० वर्षपछि अहिले रमाइलो र व्यवस्थित पार्कका रुपमा विकास गर्ने प्रभावकारी काम सुरु भएको छ’ वडा अध्यक्ष दुर्गा सुवेदीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment