Comments Add Comment

कांग्रेस नेतालाई जिल्ला अध्यक्षहरुको प्रश्न– कठै ! कांग्रेस किन यस्तो ?

Photo Credit : यूपी लामिछाने । पोखरामा बिहीबार आयोजित कोषाध्यक्ष भेलामा सहभागी कांग्रेसका नेताहरु

२९ चैत, पोखरा । पार्टीका शीर्ष नेतालाई एउटै मञ्चमा देख्न पाउनु पनि कांग्रेस कार्यकर्ताका लागि दुर्लभ दृष्य बन्न थालिसकेको छ । महासमिति बैठकपछि शीर्ष नेतालाई कार्यकर्ताले बिहीबार पोखरामा शुरु भएको जिल्ला कोषाध्यक्षहरुको भेलामा एउटै मञ्चमा देख्न पाए ।

जिल्ला कोषाध्यक्ष भेलामा कार्यकर्ताको निराशा र असन्तुष्टि छताछुल्ल भइरहेका छन् । तीनै तहका निर्वाचनमा ब्यहोरेको हारले निराश बनेका कार्यकर्तालाई नेताहरुको गुटबन्दीले आक्रोशित पनि बनाएको देखियो ।

पार्टीभित्रको अन्तरविरोध, विभाग तथा संगठनहरुको गठन हुन नसक्नु र जिम्मेवारी नै नपाउनु, जनतासँग जोडिने गरी प्रतिपक्षको एजेन्डा नै नभएकोमा नेता कार्यकर्तामा निराशा छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, प्रवक्ता विश्वप्रकाश शर्मालगायत शीर्ष नेता एउटै मञ्चमा भएको मौकामा जिल्ला तह र केन्द्रीय समस्या सम्ममा नेताले दुखेसो र पार्टी नेतृत्वलाई खबरदारी गरेका छन् ।

कांग्रेस नेता तथा कार्यकर्ताले शीर्ष नेताहरुलाई सुनाए–कठै कांग्रेस किन यस्तो भयो ? जुन प्रश्न केही दिनअघि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणीसँग मिल्दोजुल्दो थियो । ओलीले कठैबरा कांग्रेस, हेर्दा हेर्दै हिंसाको समर्थन गर्ने अवस्थामा पुग्यो भनेर कटाक्ष गरेका थिए ।

भेलाका सहभागीले कांग्रेस यतिबेला कमजोर बनेकोमात्रै नभएर नेता कार्यकर्ताले जिम्मेवारी नै नपाउँदा निराशा बढ्दै गएकोप्रति पनि नेताहरुलाई अवगत गराएका छन् ।

‘के भयो कांग्रेस, किन यस्तो भयो ? पार्टीको संरचना बनाउनु भएको छ ? जनताका बीचमा कोही गएको छ ? जनताको घर कांग्रेसले चिन्न छाडिसक्यो,’ तनहुँ कांग्रेसका कार्यवाहक अध्यक्ष जीतप्रकाश आलेले भने, ‘कांग्रेस त जराबिनाको आकासे बेलीजस्तो भयो । अबको युगमा यो तरिकाले राजनीति स्थापित गर्न सक्दैन । जनतामा आधारित पार्टी कांग्रेस किन हुन सकिरहेको छैन ।’

कार्यक्रमका अधिकांश नेता कार्यकर्ताले पार्टीभित्रैको अन्तरविरोधले कांग्रेसमा ठूला समस्या पैदा भएको बताउँदै सभापति लगायतका नेतालाई आक्रोश पोखे । कांग्रेस चितवन जिल्ला अध्यक्ष जीतनारायण श्रेष्ठले कम्युनिस्ट सरकारको राज चलिरहेका बेला कांग्रेस एउटै भाषा र एउटै आवाज हुन नसकेको गुनासो गरे ।

‘आज हामी फुर्सदिला भएका छौं । किनकी हामीसँग जनतासँग जाने कार्यक्रम नै छैन, पार्टीले दिएको जिम्मेवारी पनि छैन,’ श्रेष्ठले भने, ‘केन्द्रीय तहका नेताहरु जिल्लाजिल्लामा आउनुस्, खाने बस्ने व्यवस्था हामी मिलाउँछौं ।’

कांग्रेस भातृ संगठनभित्रको भद्रगोल र कतिपय विभाग गठन नै हुन नसकेकोतर्फ नेता कार्यकर्ताले शीर्षस्थ नेताको कमजोरीप्रति औंला ठड्याएका छन् । ‘म देउवाको, म रामचन्द्र पौडेलको, म सिटौलाको, म शशांकको नेता जोड्ने, काम नगर्ने भइरहेको छ,’ श्रेष्ठले भने, ‘सबै नेताको गुट भए । तर, कांग्रेस जनतासँगै भए ।’

एकले अर्काको अस्तित्व नै नस्विकार्नु कांग्रेसको सबैभन्दा ठूलो समस्या रहेको नवलपरासी जिल्ला अध्यक्ष विष्णु लामिछानेको भनाइ छ । ‘एकले अर्कोको अस्तित्व नै नस्विकार्नु कांग्रेसको सबैभन्दा ठूलो समस्या हो,’ लामिछानेले भने, ‘आजदेखि गुटउपगुट र गणेश प्रवृतिको अन्त्य गर्ने प्रण गरौं ।’

केन्द्रले कम्तिमा पनि जिल्लामा काम दिनुपर्ने कार्यकर्ताको आवाज छ । हरेक जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउने व्यवस्था हुनुपर्ने कांग्रेस पर्वतका सभापति खिमप्रसाद भुसालको भनाइ छ । पाका नेता तथा कास्कीका पूर्वसभापति शुक्रराज शर्माले कांग्रेसले अहिले जनताको आवाज बोल्न नसकेकोप्रति गुनासो गरे । ‘कांग्रेसले अहिले जनताको आवाज बोल्नु पर्ने हो, नेताहरु साहस र आँटका साथ आउन सक्नुभएन,’ शर्माले नेताहरुप्रति हेर्दै व्यंग्य गरे ।

महासमिति बैठकमा शीर्ष नेताहरुले हात मिलाएर अब एक भयौं भनेपछि होला भनेर पत्याएका नेता कार्यकर्ताको विश्वास लामो समय टिक्न नसकेको उनीहरुले बताए । ‘महासमिति बैठकमा धेरै कुरा भयो । अब नेताहरु मिल्नुभयो, हात मिलाउनुभयो, भनेर फर्क्यौं,’ पूर्व केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सांसद कृष्णचन्द्र नेपाली पोखरेलले भने, ‘अहिले फेरि उस्तै अवस्था कसरी आयो ?’

कार्यसमितिलाई पूर्ण दिन नसकेको र जिम्मेवारीमा दिँदा असमान गरिएको पनि नेता कार्यकर्ताले शीर्षस्त नेताहरुलाई आक्रोस पोखेका छन् । ‘हिजो सुशील कोइरालालाई पनि भनेका थियौं, छिटो गर्नुभएन भने झन् जटिल हुन्छ । त्यस्तै भयो । पार्टीभित्र ब्यालेन्स गराउने काम सभापतिको हो,’ पोखरेलले भने, ‘केन्द्रीय कार्यसमितिलाई छिटोभन्दा छिटो पूर्णता गरिदिनुस् । विभागहरु गठन गरिदिनुस् ।’

देश संघीयतामा भएको लामो समय बितिसके पनि संगठनात्मक हिसाबले कांग्रेसमा संघीयता नआएको सहभागीले नजिकैबाट शीर्षस्त नेताको कानमा पुर्‍याएका छन् । तत्काल प्रादेशिक समिति गठन गर्ने उनीहरुको माग छ ।

चार वर्षपछिको चुनावलाई सम्झिएर कार्यक्रम ल्याउन नेता कार्यकर्ताको आग्रह छ । जिल्ला तह तथा केन्द्रीय नेताको यो असन्तुष्टिलाई सभापति देउवाले भने खासै सम्बोधन नै गरेनन् । सधैंझै देउवाले भने, ‘गुटबन्दी अन्य नभएसम्म पार्टी चल्दैन, चल्दैन, चल्दैन ।’

महामन्त्री शशांक कोइरालाले गुटबन्टीको अन्त्य गर्न आफू जे पनि गर्न तयार गरेको भन्दै देउवा र पौडेलप्रति इंगित गरे । वरिष्ठ नेता पौडेलले महामन्त्रीलाई जवाफ दिए, ‘केन्द्रीय कार्यालयमा बसेर व्यवस्थापन मिलाइदिनु, न्याय दिलाइदिनोस् पार्टी एक हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment