Comments Add Comment

सुरू भो चन्द्रागिरी महोत्सव, खानेपानी मन्त्रीद्वारा उद्घाटन

३० चैत, काठमाडौं । खानेपानी तथा सरसफाई मन्त्री विना मगरले चन्द्रागिरी नगरपालिकाको आफ्नै महत्व र विशेषता रहेको बताएकी छन् ।

चन्द्रागिरी नगरपालिकाको आयोजनामा ‘चन्द्रागिरिको सर्वाङ्गीण विकास र जगेर्ना गरौँ, कला, संस्कृति र प्राकृतिक सौन्दर्यताले चन्द्रागिरिको पहिचान बढाऔँ’ भन्ने मूल नाराका साथ शुक्रबारदेखि सुरु भएको महोत्सवको उद्घाटन गर्दै उनले प्राकृतिक सम्पदाले धनी रहेको नगरपालिकाको आफ्नै महत्व र विशेषता रहेको बताएकी हुन् ।

मन्त्री मगरले प्राकृतिक सम्पदाको संरक्षण गर्ने दायित्व नगरपालिकाको भएको बताइन् । “चन्द्रागिरी नगरपालिकाको मात्र होइन, देशभरका पानीका मुहान सुकिरहेका छन्, यसलाई संरक्षण गर्न सरकार लागिरहेको छ,” उनले भनिन् ।

खानेपानीको समस्या समाधान गर्नका लागि मन्त्रालय गम्भीर रहेको उनको भनाइ छ । मन्त्री मगरले समृद्ध नेपाल, सुखी नेपालीको आधारशीला सरकारले खडा गरिसकेको बताउँदै राष्ट्र निर्माणमा सबै दललाई सहयोग गर्न अपिल समेत गरिन् ।

सांसद् अन्जना विसंखेले चन्द्रागिरीभित्र खानेपानीको समस्या रहेको बताउँदै यसलाई सम्बोधन गर्नका लागि सरकारसँग आग्रह गरिन् ।

“खानेपानीका मुहान सुकेका कारण खानेपानीको समस्या हुँदै गएको छ, यसलाई सरकारले विशेष सहयोग गर्नुपर्छ,”–उनले भनिन् ।

प्रदेश सांसद रमा आलेमगरले धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्व बोकेको चन्द्रागिरीको विकासका लागि आफू लाग्ने प्रतिवद्धता व्यक्त गरिन् ।

चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले चन्द्रागिरीलाई काठमाडौँकै नमूना नगरपालिकाको रुपमा विकास गर्न आफू लागिरहेको बताइन् । “चन्द्रागिरीको विकासका लागि हातेमालो गरेर अगाडि बढौँ,”–उनले भने ।

प्रदेश सांसद केशव पोखरेलले चन्द्रागिरीभित्र उत्पादित वस्तुलाई देशभर चिनाउन महोत्सवले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

चन्द्रागिरी नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले दहचोक, कालुपाण्डे समाधि स्थल, मातातीर्थ, थानकोट, मच्छेनारायण जस्ता पर्यटकीय तथा धार्मिक स्थल चन्द्रागिरीमा रहेको बताए ।

पर्यटकीय स्थल चन्द्रागिरिलाई स्थानीय कला, संस्कृति, प्राकृतिक स्रोत र साधन, साँस्कृतिक सम्पदा, पहिचान, चन्द्रागिरिका ऐतिहासिक विषयवस्तु, उत्पादन तथा अन्य विषयलाई मूर्तरुपमा पहिचान र अझन् चिरपरिचित गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको महोत्सवका प्रचारप्रसार विभागका रोशन दानीले बताए ।

उनका अनुसार महोत्सवमा स्थानीय कृषि उपज, घरेलु तथा हस्तकला, साना उद्योग, अटो इन्जिन, अटो मोबाइल, स्थानीय कला संस्कृति, स्थानीय काष्ठकला, स्थानीय खानाका परिकार, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा र वडास्तरिय स्टल राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment