Comments Add Comment

पुस्तक समीक्षा : वियस राईको ‘हिउँमाझी’

नेपाली आख्यान बजारमा आएका मध्ये करिब एक तिहाई पुस्तकहरु पठनीयमा दरिन्छन् । कतिपय स्तरीय रचना पनि भिडमा विलुप्त भइरहेका हुन सक्छन् । यही मेसोमा थपिएको छ, कथाकार वियस राईको कथा संग्रह ‘हिउँमाझी’ ।

१३ वटा कथाको पहिलो संगालोमा वियसले एकदम ठेट र तिख्खर रैथाने स्वाद दिएका छन् । मूलप्रवाहको नेपालीमा अभ्यस्त पाठकलाई उनको भाषा अनौठो, खस्रो तर प्रांगारिक स्वादको लाग्छ ।

वियस राईले बुबासँग घरिघरि जोरी खोज्दै ‘कुइरे–कुइरेनी’को भारी बोक्ने तिखे दमै, हिमाली ठिहीमा हराउँदै जीवन निर्वाह गर्ने पासाङ, अर्काको खेत जोतेर हातमुख जोर्ने छत्रे, चरम गरिबीमा आफ्नै नवजात शीशुलाई पुलमुनी फाल्न विवश मैता, ईटा भट्टाको चिम्नीबाट निस्कने धुँवा जस्तै मूल्यहीन जीवन बाचिरहेकी चम्पा खत्रीहरुका कथा लेखेका छन् ।

कथाहरु पढ्दै जाँदा सगरमाथा हिमालमुनिको भेगमा भएका रोचक घट्नाहरुको विवरण जस्ता पात्रहरु महाकुलुङको कुनै गाउँ, बजार वा चौतारीमा भेटेको जस्ता लाग्छन् । अधिकांश कथा त्यही भेगको संस्कृति, सुखदुख, सपना र नियतीमाथि लेखिएको छ । लाग्छ, भुई तहका मानिसहरुको दैनान्दिनको तस्वीर हो, हिँउमाझी ।

आधुनिकताको हावाले नछोएका खस्रा–फुस्रा गाउँका संस्कृति, चालचलन, भाषा–लवज हिँउमाझी चटनी हुन् । माओवादी द्वन्द्वदेखि महाभूकम्प हुँदै भारतीय नाकाबन्दीसम्मका राजनीतिक, प्राकृतिक र सामाजिक विच्छृंखलताको परकम्पनमा परेका जिउँदाजाग्दा पात्रहरु छन्, वियसको कथाहरुमा । उनीहरुको संघर्ष, बाच्ने ढंग, चिन्तनको तह र आकांक्षाको दायरा कथाहरुले देखाउँछन् । यस्ता पात्र, परिवेश, प्रसंग र घटनाहरु छन्, जसका आवाज र अनुभूति समृद्विको उडानमा रहेको राज्यको प्राथमिकतामा पर्दैन ।

संग्रहको पहिलो कथा ‘नाम्लो’ मा मिङ्मा शेर्पा भन्छन्, ‘ओई तिखे, काम्पानीमा गाइडहारु खाली बोयेन । युकेबाटा एकजाना लेडिज गेष्ट आउँदै छा, एब्रेष्ट बेसक्याम् गुमाएर लेईदे होइ !’

यसरी अचानक भैपरिआउँदाको आवश्यकताले टुरिष्ट गाइड बन्न पुगेको मखमले दमाईका छोरन तिखेले वेलायती तरुनी डेजी इडेनको बेस क्याम्पसम्मको यात्रालाई यति सम्झना लायक बनाउँछ कि पाठकको लागि पनि त्यो अविष्मरणीय हुन्छ । शीर्ष कथा ‘हिउँमाझी’ले हिमाल आरोहण अभियानभित्रको इतिश्री बताउँछ । सगरमाथा आरोहण आफैंमा साहसको कथा हो । त्यसभित्रको वास्तविकता र धोकाघडीको उपकथाहरु चाही वियसको ‘हिउँमाझी’ले भन्छ ।

वियस राई

संग्रहमा समेटिएका अन्य कथाहरु– टुङ्ना, चन्दा, जिम्मा, हिजोका कुरा, माफ, नाकाबन्दी, चम्पाको नाम, बसन्त भर्सेज बसिटन, वयान, सरुवा र जोखानाले पाठकलाई फरक–फरक मजा दिन्छन् । ‘जोखाना’ त नाटकमा रुपान्तरण भएर पनि चर्चित रह्यो ।

‘वयान’ र ‘सरुवा’ प्रहरी कर्मसँग सम्बन्धित छन् । वियसले आफ्नै पेशाका यी कथामा अपराध नियन्त्रण अपरेशनको अन्त्यमा आइलाग्ने धर्मसंकट र नमज्जाको दृश्यात्मक वर्णन गरेका छन् ।

कथाकारले चम्पा खत्री, मैता थामी, बुद्धिसिंह तामाङ आदिलाई गरिब वा असहाय नभनिकनै तिनको नियति केलाएर करुणा जगाएका छन् । उनले मिलेसम्म पात्रलाई कथा भन्न दिने शैली अपनाएका छन् ।

‘जुन खोलामा दुवाली, उही खोलाको चपरी’ भनेझैं कथाकारले जुन भेगको कथा हो, पात्रको जिब्रोमा त्यहीको ठेट लवज राखिदिएका छन् ।

कमजोर सम्पादन

१३ थान स्वादिला कथाको यो संग्रहमा नभएको एउटै चिज हो– सम्पादन । परिणाम, कथाहरु बहकिएकै अवस्थामा पाठकले पढ्नुपरेको छ । सम्पादन गरेर नकसिएका कथाहरु अनावश्यक रुपमा तन्किएका छन् । कतिपय सहायक प्रसंगमा दिक्कलाग्दो अलमल छ । ‘जोखना’ कथा सकिएर फेरि सुरु भएजस्तो लाग्छ ।

सम्पादन अभावकै कारण ठाउँठाउँमा ‘हलुवामा बालुवा’ भएको छ । दिउँसोको तीन, रातको आठ बज्न लाग्नु र नेपालका तेन्जिङ नोर्गेलाई ‘बालुवा’ नै भन्न नसकिए पनि अल्टिमिटरले तापक्रम नाप्ने काम भएको छ । कथालाई ठेट शब्दहरुले मिठो बनाइरहेका बेला छालालाई विस्थापित गर्न त्वचा आइपुग्छ । ‘नाकाबन्दी’का पात्र नविनले ‘सहयोगको याचना अपील’ गर्छन् ।

यद्यपि, कथाको स्वादले यस्ता कमजोरीहरुलाई झिनामसिना लाग्ने बनाएको छ । पढिसक्दा लाग्छ, वियस राईले पहिलो कृतिमा नै हामी बाँचेको समय र हाम्रो समाजबाट एक से एक पठनीय कथाहरु दिएका छन् । अर्को संस्करणमा यी कमजोरी हटाए यो संग्रह संग्रहणीय पनि बन्नेछ ।

पुस्तक : हिउँमाझी

विधा : कथा

पृष्ठ : २१४

लेखक : वियस राई

प्रकाशक : फिनिक्स बुक्स

शिव मुखियाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment