Comments Add Comment

मकवानपुरमा ३ सवारी दुर्घटना, ३ जनाको मृत्यु

२ वैशाख, हेटौंडा । मकवानपुरमा भएका ३ छुट्टा–छुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । १२ जना घाइते छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–७ मा ग १ ख ७६२६ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । पोखराबाट विरगंजतर्फ जाँदै गरेको उक्त बसको ठक्करबाट ६५ वर्षीय वृद्धको ज्यान गएको हो । उनको परिचय खुलेको छैन ।

त्यस्तै मनहरीकै खरंगामा अर्को सवारी दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । हेटौंडातर्फ आउँदै गरेको ना १ ज ४८६७ नम्बरको सुमो र को ३४ प ५४९७ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक ३१ वर्षीय रवीन्द्रकुमार पोदारको घटनास्थलमै मृत्यु भएको हो । उनी मोरङका हुन् ।

प्रहरीका अनुसार, घटनामा सुमोमा सवार ११ जना र मोटरसाइकलमा सवार १ जना गरी १२ जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनाको हेटौंडाको चुरेहिल अस्पताल र ३ जनाको चितवन भरतपुरमा उपचार भइरहेको छ ।

उता, कान्तिलोकपथअन्तर्गत मकवानपुरगढी गाउँपालिकाको शिखरकटेरीमा रोकिराखेको ना ८ ख ४३२६ नम्बरको टिपरसँग ना ३२ प १८४९ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गढीगाउँपालिका धरमपानीका ३५ वर्षीय गोविन्द वमजनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा प्रहरी निरीक्षक सागरविक्रम रानाले जानकारी दिए । उनको उपचारका क्रममा चितवनमा मृत्यु भएको हो ।

तीन वटै दुर्घटनाका ठक्कर दिने सवारी र चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment