Comments Add Comment

सिन्दूरमा रंगियो थिमी (फोटो फिचर)

Photo Credit : अनलाइनखबर/विकास श्रेष्ठ

२ वैशाख, काठमाडौं । मध्यपुरथिमि क्षेत्रमा सोमबार हर्षोल्लासका साथ ३२ खटसहितको सिन्दुर जात्रा मनाइएको छ । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिमा मात्र मनाइने विभिन्न जात्रामध्ये सिन्दुर जात्रा पनि प्रसिद्ध मानिन्छ ।

सिन्दुर जात्रालाई स्थानीय नेपाल भाषामा सुथः सिया भनिन्छ । एक आपसमा सिन्दुर दल्दै र छ्यापाछ्याप गरी मनाउनु यो जात्राको प्रमुख विशेषता हो । सिन्दुरे  जात्रा समापनसँगै दिउँसो मध्यपुर ठिमीको बोडेमा जिब्रो छेड्ने जात्रा पनि मनाइन्छ ।

यो पनि पढ्नुहोस जिभ्रो छेड्ने जात्राको कथा : बुद्धकृष्णको मन दुखेको छ

त्यसअघि पमाहरु हातहातमा चिराग अर्थात बत्ती लिएर पमा नाइकेको अनुमतिमा बालकुमारीको खट उचालेपछि दिगुटोलस्थित देवता घर परिक्रमा गराइन्छ । मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली सिन्दुरे जात्रा मनाइने गरिन्छ ।

जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ । यात्रामा एक अर्कामा सौहार्दपूर्ण रुपमा सिन्दुर दल्ने, छ्याप्ने र नेवारी बाजाको तालसँगै नाच्ने गरिन्छ ।

जात्रामा काँया बाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै एक अर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानीयले रमाइलो गर्ने भएकाले पनि यसलाई सिन्दुर जात्रा भनिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment