Comments Add Comment

सिनेमा क्षेत्रमा ‘बेथिती नै बेथिती’, इमान्दार को हुने ?

चलचित्र पत्रकार संघको आयोजना तथा चलचित्र निर्माता संघको सहकार्यमा काठमाण्डौको बसुन्धरामा ‘चियापान तथा चलचित्र क्षेत्रको बेथिती’को विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना भएको छ । चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न संघसंस्थाहरुका अध्यक्षहरुको उपस्थित थियो । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदय, लगायतको उपस्थिती थियो ।

चलचित्र क्षेत्रका समस्याहरु केलाएर चलचित्र पत्रकार संघका सचिव समिर बलामीले अवधारण पत्र प्रस्तुत गरेका थिए । चलचित्र संघका अध्यक्ष प्रदिप कुमार उदयले अहिले चलचित्र क्षेत्रमा धेरै बेथिती तथा समस्याहरु भएको बोले । उनले अहिले चलचित्रकर्मीहरु सबैको मानसिकतामा समस्या भएको बोलेका छन् । उनले भने–‘पहिलो कुरा त हामी केही कसैमा सद्भाव नै राख्दैनौँ । सहयोगको भावना राख्न छाडेका छौ । हामीमा मानवता भन्ने चिज नै हराएको छ ।’ चलेको चलचित्रलाई चलेको स्विकार्न नसक्नु तथा नचलेको चलचित्रलाई बढाई चढाई भन्ने गुटबन्दीको समस्या पनि अहिले यस क्षेत्रले भोगिरहेको छ ।’

कलाकारको पारिश्रमिकको कुराले पनि यस क्षेत्रलाई ठुलो असर गरेको उदयको भनाई थियो । उनले भने–‘बर्षमा ३ वटा चलचित्रले नाफा कमाएका छन् । अरु सबैले लगानी सुरक्षित गर्न सकेका छैनन् । तर पनि कलाकारहरुले आफ्नो पारिश्रमिक घटाउन चाहँदैनन् ।यो कुराले पनि समस्या दिइरहेको छ ।’ कलाकारले पारिश्रमिक बढाउने भन्दा पनि क्षमता देखाएर प्रतिशतमा काम गर्नुपर्ने प्रदीपले बताए । प्रदिपले चलचित्र क्षेत्रमा इमान्दारिताको अभाव भएको बताए ।
त्यस्तै निर्माता संघका अध्यक्ष आकाश अधिकारीले पनि कलाकारहरुले घाटी हेरेर हाड निल्नुपर्ने बोले । उनले भने, ‘हाम्रो यो क्षेत्रको अवस्था बुझेर मात्र कलाकारले पारिश्रमिक माग्नुपर्छ ।’

आकाशले कलाकारहरु रिजर्भ बस्नुपर्ने समेत बताए । उनले भने –‘कलाकारहरु जति रिजर्भ बस्यो उति नै चासोमा रहनुहुन्छ । तर, अहिले त कलाकारहरुले आफ्नो पूर्ण दिनचर्या सामाजिक संजालमा पोष्ट गरिदिनाले पनि उहाँहरु सस्तो बन्नुभएको छ ।’

टिकटक, फेसबुक, इन्ष्टा तथा युट्युबमा आएका भिडियो तथा तस्विरहरुले कलाकारको क्रेजलाई खस्काइरहेको आकाशले बताए । ‘कलाकारको विषयमा सबै थाहा पाइसकेपछि, उनीहरुको छरपष्ट भएको दैनिकी थाहा पाएपछि दर्शक किन हलसम्म पुग्ने ?’ आकाश अधिकारीको प्रश्न थियो ।

त्यस्तै, अहिले ठुला व्यानरका चलचित्र रिलिजको कुरा पनि ठुलो समस्या भएको उनले बताएका छन् । वितरकहरुको इगो र रिसका कारण निर्माताहरु मारमा परिरहेको उनले बताएका छन् । चलचित्रको इनकोडिङमा पनि धेरै समस्याहरु भएको उनले बोले । उनले भने, ‘केडिएममा निकै समस्या भइरहेको छ । त्यसलाई समाधान गर्न भनेर मैले सामान ल्याएको छु । अझै पनि त्यसलाई काममा ल्याउन सकिएको छैन ।’

चलचित्र पत्रकार र चलचित्रकर्मीले उठाएको प्रश्नको चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइले जवाफ दिएका थिए । उनले, चलचित्र विकास बोर्डले बक्स अफिस लागू गराउने बताए । यस्तै, उनले आफ्नो कार्यकालमा केही त्यस्ता काम गर्ने जुन कामले आउने नयाँ अध्यक्षलाई सहज हुने समेत बताए ।

उनले सबैभन्दा पहिले राष्ट्रिय चलचित्र नीति पारित गर्नतर्फ ध्यान दिनुपर्ने पनि सुझाए । चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाले चलचित्र पत्रकारहरुको परिचय कसैले खोजिरहन नपर्ने भन्दै पत्रकारले प्रश्न गर्ने अधिकार पाउने बताए ।

चलचित्र पत्रकार संघले ‘चलचित्र क्षेत्रको वेथिती’को बिषयमा अन्र्तक्रिया त गरेको छ । तर, चलचित्र क्षेत्रमा सबै जना आआफ्नो विधामा इमान्दार नहुने हो भने अन्र्तक्रिया अन्र्तक्रियामै सिमित हुनेछन् । मेरो गोरुको बाह्रै टक्का भन्ने उखान चलचित्र क्षेत्रमा लागू भएको पाइन्छ । आजको अन्र्तक्रियामा पनि बोल्ने बक्ताहरुमा यही उखान लागू भएको देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment