Comments Add Comment

सुन भनेर फलामको टुक्रा दिई १९ लाख ठगी, ४ जना पक्राउ

३ वैशाख, काठमाडौं । प्रहरीले सुन भनेर फलामको टुक्रा बिक्री गर्ने चार जनालाई पक्राउ गरेको छ । मंगलबार काठमाडौंको सुन्धाराबाट नुवाकोट दुप्चेश्वर गाउँपालिका ६ का ३३ वर्षका पूर्णबहादुर तामाङ, काभ्रेको चौंरी देउराली गाउँपालिका ३ का २६ वर्षका चन्द्रबहादुर श्रेष्ठ, वर्ष २१ का प्रवीन श्रेष्ठ र १९ वर्षका सुवास श्रेष्ठलाई पक्राउ गरेको हो ।

उनीहरुले सामाखुशी रानीबारीका राजेश विकलाई सस्तो सुन भनेर सुनको गहना राख्ने प्याकेटमा पहेँलो कपडाले बेरिएको वस्तु बिक्री गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।  त्यसबापत उनीहरुले १९ लाख रुपैयाँ लिएका थिए । राजेशले घर पुगेर हेर्दा सुन नभई ४ वटा फलामको टुक्रा भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले उक्त ठगी घटनामा संलग्नलाई बा २ ज १८४१ नम्बरको ट्याक्सीसहित पक्राउ गरेको थियो । अभियुक्तहरुले उक्त रकम बाँडिसकेको बयानका क्रममा प्रहरीलाई बताएका छन् । जसमध्ये पूर्णले सबैभन्दा धेरै ९ लाख ५० हजार, चन्द्रबहादुरले ३ लाख ५० हजार र प्रवीन र सुवासले ३/३ लाख रुपैयाँ लिएको प्रहरीको भनाइ छ ।

उनीहरुको साथबाट ७० हजार नगद बरामद भएको र लुटिएको रकम विभिन्न व्यक्तिहरुलाई दिएकोमा पहिचान गरी फिर्ता ल्याउने कार्य भइरहेको महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ ।

प्रहरीले नक्कली सुनसहित काठमाडौंको स्वयम्भूबाट एक जनालाई पक्राउ गरेको छ । धादिङ घर भएका २२ वर्षका बेमान तामाङलाई पक्राउ गरिएको महानगरीय परिसर काठमाडौंले जानकारी दिएको छ । बिक्री वितरण गर्न ग्राहक कुरिरहेको अवस्थामा १ किलो नक्कली सुनसहित नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment