Comments Add Comment

भाजपा सांसदले पाकिस्तानी सेनाको राष्ट्रवादी गीत नक्कल गरेपछि

३ वैशाख, काठमाडौं । भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का एक सांसदले यूट्युवमा रिलिज गरेको एउटा राष्ट्रवादी गीत पाकिस्तानी सेनाको मिडिया विङले बनाएको गीतसँग हुबहु मिलेको छ । यससँगै पाकिस्तानीहरुले सामाजिक सञ्जालमा भाजपाको धज्जी उडाएका छन् ।

तेलंगना राज्यको संविधानसभा सदस्य राजा सिंहले शुक्रबार ट्विटरमा आफ्नो नयाँ गीत रामनवमीका दिन रिलिज गर्ने घोषणा ट्विटरमा गरेका थिए । उनले भारतीय सेनाको सम्मानमा आफूले यो गीत लेखेको दाबी गरेका थिए । उनले आफ्नो ट्विटसँगै स्टुडियोमा गीत रेकर्ड गरिरहेको भिडियो पनि पोष्ट गरेका थिए । तर, उनको चोरी लामो समय टिक्न सकेन ।

ट्विटर प्रयोगकर्ताहरुले तुरुन्तै पत्ता लगाए कि सांसद सिंहले भारतीय सेनाका लागि बनाएको भनेको गीत पाकिस्तानका शाहिर अलि बग्गाले ‘पाकिस्तान डे’ का दिन रिलिज गरेको गीतजस्तै छ । शब्द र संगीत दुवै उस्तै थिए । खालि ‘पाकिस्तान जिन्दावाद’ को ठाउँमा ‘हिन्दूस्तान जिन्दावाद’ बनाइएको थियो ।

सिंहको भिडियोमा कमेन्ट गर्दै पाकिस्तानी सेनाको प्रवक्ता आसिफ गफुरले आइतबार लेखे, ‘गीत कपि गर्नुभएकोमा धन्यवाद । तर, सत्य बोल्ने शैली पनि कपि गर्नुस ।’

‘सत्य बोल्ने’ भनेर उनले भारतीय सेनाले पाकिस्तानमा गरेको भनिएको हवाई आक्रमणलाई ईंगित गरेका हुन् । भारतीय सेनाले पाकिस्तानी भूमिमा बम खसालेर सयौंको हताहति गरेको दावी गर्दै आएको छ, जसलाई पाकिस्तानले अस्वीकार गरेको छ ।

सिंहको भिडियोमा कमेन्ट गर्दै पाकिस्तानका वरिष्ठ पत्रकार हमिद मिरले लेखेका छन्, ‘यो गीत कपि गरिएको होइन, चोरिएको हो । सिंहको कामले मलाई प्रभावित बनाएन ।’

टीभी एंकर फरिहा इद्रीसले भाजपाका सांसदलाई आफ्नै मौलिक सिर्जना गरेको भए राम्रो हुने सुझाव दिएकी छन् । भारतमा ठूलो संगीत उद्योग हुँदा हुँदै पाकिस्तानबाट गीत चोर्नुपर्ने अवस्था कसरी आयो भन्ने उनले प्रश्न गरेकी छन् ।

सिंह पहिल्यैदेखि विवादित सांसद हुन् । घृणाजन्य अभिव्यक्ति दिएको तथा ड्यूटीमा रहेका प्रहरीलाई आक्रमण गरेको आरोपमा उनले पटक पटक जेलको हावा खाइसकेका छन् ।

गत वर्ष मात्रै उनले आसाममा रहेका बंगलादेशीहरुले भारत नछाडे गोली हानेर मारिदिने सार्वजनिक धम्की दिएका थिए । यति मात्रै होइन, गुजरातमा हालै उपल्लो जातकाले दलितलाई कुटपिट गरेको भिडियो भाइरल भएपछि उनले कुटपिट सही भएको प्रतिक्रिया दिएका थिए । ट्विटरमा उनले आफ्नो नाम अगाडि चौकीदार राखेका छन् ।

(पाकिस्तानी मिडियाबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment