Comments Add Comment

कांग्रेसले घोषणा गर्‍यो राष्ट्रिय जागरण अभियान

वैशाख ११ देखि पुस १४ सम्म तीन चरणमा सञ्चालन हुने

३ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस पार्टी सुदृढिकरणका लागि देशव्यापी अभियान सुरु गरेको छ । ‘हिमाल, पहाड, तराई मधेस, नेपाली कांग्रेस । राष्ट्रिय जागरण अभियान’ नामक तीन चरणको कार्यक्रम लिएर कांग्रेस नेताहरु गाउँ जान लागेका हुन् ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले गरेका ‘गलत कामकारबाही’लाई जनतामाझ लैजाने र पार्टीलाई पनि सुदृढिकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागेको बताए ।

प्रवक्ता शर्माले पार्टीका नीति, सिद्धान्तबारे जनतालाई बुझाउने, विगतमा कांग्रेस नेतृत्वको सरकारले गरेका कामबारे जानकारी गराउने, वर्तमान सरकारको गलत कार्यबारे जानकारी गराउने लगायतका उद्देश्य राखिएको बताए । त्यस्तै कांग्रेसको महासमिति बैठकबाट पारित नीति, कार्यक्रम र संशोधित विधानबारे कार्यकर्तालाई जानकारी गराइने पनि उनले बताए ।

कांग्रेसले वैशाख ११ देखि पुष १४ गतेसम्म तीन चरणमा जागरण अभियान गर्न लागेको हो ।

कांग्रेसका अनुसार पहिलो चरणको कार्यक्रम जिल्ला स्तरमा वैशाख ११ गते सुरु भई जेठ ११ गतेसम्म सञ्चालन गरिन्छ । दोस्रो चरणको कार्यक्रम भदौ २३ देखि असोज ७ सम्म ३३० निर्वाचन क्षेत्रमा सञ्चालन हुन्छ । तेस्रो चरणको कार्यक्रम पुस ७ देखि १४ सम्म स्थानीय तहहरुमा सञ्चालन हुन्छ ।

संघीय शासन व्यवस्था बुझाउन अभियान !

पत्रकार सम्मेलनमा नेताहरुले संघीय शासन ब्यवस्था बुझाउन कांग्रेसले जागरण अभियान सञ्चालन गर्न लागेको बताए ।

उपसभापति विमलेन्द्र निधिले सरकारले संघीय शासन प्रणाली अनुसारको काम नगरिरहेकाले जनतालाई संघीय शासन व्यवस्था के हो भन्ने बुझाउन अभियान सञ्चालन गर्न लागेको जिकिर गरे । उनले अभियानले निराश भएका जनतालाई कांग्रेस छ है भन्ने सन्देश दिने पनि उनको दावी छ ।

उपसभापति निधिले सरकारको काम गराइकै कारण कांग्रेसप्रति जनाताको विश्वास फर्किएर आउने दाबी गरे । ‘सरकारको काम गराइका कारण जनता निराश छन् त्यसकारण कांग्रेसप्रति जनताकोे विश्वास फर्किएर आउँछ’ उनले भने ।

सरकारबारे उनले थपे ‘समृद्ध नेपाल र सुखी नेपालीको नारा दिएर सरकारले अरिंगालको फार्मिङ (खेती) गर्ने काम गरिरहेको छ । कहिले बुद्धिजिवीलाई थला पार्छु भनेको छ । देशको विकास हुन सक्दैन ।’

यो पनि पढ्नुहोस् :  शशांक कोइरालाको प्रष्टीकरण : हिन्दु राष्ट्र हुनुपर्छ भनेको छैन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment