Comments Add Comment

यी चर्चित पुरुष, जो भान्साको काममा रमाउँछन्

हाम्रो समाजको अघोषित मान्यता हो, छोरी-चेलीलाई भान्साको जिम्मा दिने । यस्तो घर हुँदैन, जहाँ भात-भान्साका लागि पुरुषले पूर्ण जिम्मेवारी सम्हालेको होस् । भात पकाउने, भाँडावर्तन सफा गर्ने, सागसब्जी किनमेल तथा जोहो गर्ने, भात पस्कने काममा महिलालाई खटाइन्छ । मानौं यो काम उनीहरुको जन्मजात पेवा हो ।

छोरा मान्छे भएको घरमा एक जना बुढी आमा छिन् भने, खाना पकाउने जिम्मा उनै बुढी आमाको हुन्छ । अर्थात छोराहरु भात पकाउने, भान्सा सम्हाल्ने काममा आफ्नो दायित्वबोध गर्दैनन् ।

छोरा मान्छे जतिसुकै फुर्सदिला किन नहोस्, उनीहरु अक्सर भान्सामा पस्दैनन् । वा भात पकाउने र भाँडावर्तन सफा गर्ने काममा जाँगर चलाउँदैनन् । जबकी कामकाजी महिला, जो कुनै पेशा-व्यवसायमा आवद्ध छन्, उनीहरु घर फर्किएपछि भान्सामा पस्नैपर्छ । भात पकाउनैपर्छ । जुठो भाँडावर्तन सफा गर्नैपर्छ । कुचो लगाउनैपर्छ । घाँस-दाउरा, मेलापात जाने महिलाले पनि घरमा फर्किएपछि भात पकाउनैपर्छ ।

हामीकहाँ यस्तो दृश्य दुलर्भ छ, जहाँ छोरा मान्छे एवं पुरुषले भात पकाएर, छोरीचेली, भाउजु-बुहारीलाई दिएको होस् ।

चाडपर्व : महिलालाई सास्ती

चाडपर्वको खास महत्व भनेको, त्यसले दिने खुसी, उमंग, उत्साह हो । तर, हामीकहाँ दशैं-तिहार जस्ता चाडपर्व छोरी-चेलीको लागि निकै कष्टदायक हुन्छ ।

चाडपर्वमा खाइने मिठो-मसिनो भोजन उनीहरुले नै तयार बनाउनुपर्छ । पाहुनापात उनीहरुले नै टार्नुपर्छ । जति मान्छे आउँछन्, चिया पानी दिनैपर्छ । केही न केही ख्वाउनैपर्छ । उनीहरुले जुठो बनाएको भाँडावर्तन सफा गर्नैपर्छ । यावत् कामको जिम्मेवारी भने, छोरी-चेली, भाउजु-बुहारी, आमाले लिनुपर्छ ।

त्यसो त कुनैपनि पारिवारिक जमघटमा पनि छोरी बुहारीहरु भान्से बन्नुपर्छ । यस्तै सामाजिक संरचनामा केही यस्ता पुरुषलाई यहाँ प्रतिनिधि पात्रको रुपमा पेश गरिएको छ, जो भान्साको काममा रमाउँदैनन् मात्र अभ्यस्त पनि छन् ।

अमर न्यौपाने : खसीको पक्कु बनाउन सिपालु

‘सेतो धरती’ फेम लेखक हुन्, अमर न्यौपाने । उनी अक्षरसँग खेल्न जति माहिर छन्, भान्साको काममा उत्तिकै सिपालु ।

त्यसो त स्कुले जीवनबाटै उनले भात पकाउन सिकेका हुन् । डेरा बस्दा त आफुले पकाउनुपर्ने नै भयो, घरमा पनि उनी भान्साबाट टाढा भएनन् । डाडु पन्यु सम्हाल्ने जिम्मा लिए ।

अहिले पनि अमर भान्साको काममा आफै खटिन्छन् । उनलाई पकाउन, जुठो भाँडावर्तन माझ्न, भात पस्किन, सागसब्जी किनमेल गर्न पटककै झन्झटिलो लाग्दैन । अमरले अनलाइनखबरसँग कुरा गर्दै भनेका थिए, ‘मलाई भात पकाउने, भान्साको काममा पटक्कै अल्छी लाग्दैन । अहिले पनि म आफै पकाएर खान्छु । आफै जुठो भाँडावर्तन सफा गर्छु ।’

अमरलाई पकाउन आउने मात्र होइन, कसरी मिठो पकाउने भन्ने कला पनि आउँछ । उनलाई मनपर्ने तरकारी चाहि पाकेको फर्सी वा लौका हो । अमर भन्छन्, ‘त्यसलाई बिस्तारै गल्न दिनुपर्छ र ग्रेभी बनाउनुपर्छ, कम्ता स्वादिलो हुँदैन ।’

उनलाई दाल भन्दा ग्रेभी तरकारी नै अच्छा लाग्छ । त्यही कारण उनको भान्सामा अक्सर दाल पाक्दैन ।

अर्को रमाइलो कुरा त के भने, अमर चाडपर्वमा घर जान्छन् । घरमा पनि उनी भान्से बन्छन् । अझ दशैंको बेला खसीको पक्कु पकाउने जिम्मा उनकै हुन्छ । लोकल खसीको पक्कु बनाउन उनलाई कम्ता जाँगर चल्दैन ।

पक्कु बनाउने विधी सिकाउँदै अमर भन्छन्, ‘खसीको मासु, खासगरी लोकल खसीको । एउटा ठूलो भाँडामा राख्ने । त्यसमा जिरा, धनियाको धुलो । अदुवा र लसुनको पेस्ट मिसाउने । नुन, बेसार राखेर मोल्ने । सबैभन्दा बढी मिहेनत यहि गर्नुपर्छ ।’

बिस्तारै मासु मोल्ने र यस्तो बनाउने काँचो मासु पनि पाकेको जस्तो देखिने । अब अर्को कसौडीमा धिमा आगोमा तेल तलाउने । तेल तोरीकै हुनुपर्छ । तेल तातिएपछि प्याज फुराउने । त्यसपछि उक्त मासु हालेर एक पटक राम्ररी चलाउने । त्यसपछि छोपिदिने । आँगो एकदमै धिमा बनाउने ।

मासु गल्दै गएपछि मगमग बास्ना चल्न थाल्छ । मासुमा भएको सबै पानी निथि्रन्छ । त्यो सुख्खा हुन्छ । मासुको कुनाकाप्चामा मसला पुग्छ ।

अमरले यसरी पकाएको खसीको पक्कु परिवारको पि्रय परिकार हो । सबैले तारिफ गर्ने ।

भोलाराज सापकोटाः घरकी बुहारी

रणवीर कपूर र पि्रयंका चोपडा अभिनित हिन्दी फिल्म ‘वर्फी’मा अभिनय गरेपछि एकाएक लाइमलाइटमा आएका कलाकार हुन्, भोलाराज सापकोटा । रंगमञ्चको आलोक टेकेर कलाकारिता थालेका उनी अहिले पनि अविछिन्न अभियनमै तल्लिन छन् । केही समयअघि मात्र उनी अभिनित चलचित्र ‘कागजपत्र’ सार्वजनिक भएको थियो ।

फिल्ममा अनेक भूमिका गर्ने यी भोलाराज घरका भने बुहारी हुन् । अर्थात भात-भान्सा सम्हाल्ने मूख्य सदस्य ।

खासमा भोलाराज खानाको सौखिन हुन् । अर्को कुरा, उनलाई आफ्नै हातले बनेको खानेकुरा बढी स्वादको लाग्छ । ‘आफैले मीठो मसिनो खानुपर्ने भएकाले अरुलाई भान्सामा पस्न दिइदैन’ भोलाराज ठट्यौली शैलीमा भन्छन्, ‘भात पकाउन पटक्कै अल्छी लाग्दैन ।’

उनी सागसब्जी किनमेल गर्न आफै बजार पुग्छन् । पकाउने पनि आफै । पस्कने पनि आफै । उनलाई धेरै मन पर्ने चाहि माछामासु हो । मासुबिना खाना रुच्दैन । छाकैपिच्छे मासु चाहिन्छ । चाहे कुखुराको होस् वा सुँगुरको । माछा भए, अझ काइदा ।

पकाउने उनको आफ्नै विधी छ । कुन मासु कसरी पकाउने, कतिबेर पकाउने, मसला के हाल्ने ? उनलाई सिकाउनै पर्दैन । सिलाम वा तीलको छोपसँग गोलभेडाको तिख्खर अचार होस् वा घिउमा झानेको दाल नै, उनी गजबले बनाइदिन्छन् ।

भातसँग उनलाई दाल हुनुपर्छ । दुई/तीन थरीको दाल भान्सामा टुट्दैन । उनलाई मनपर्ने चाहि चनाको ।

बुद्धि तामाङ ‘हैट’: आफै भान्से, आफै पाहुना

बुद्धि तामाङलाई चिनाउन एउटै शब्दावली काफी छ, हैट । उनलाई अप्रत्यासित भेट्नेहरुको मुखबाट अनायसै फुत्कन्छ, ‘हैट ।’ उनीसँग कहिल्यै साक्षतकार नगरेकाहरुले पनि ‘हैट’ भनेपछि उनको नाम लिइहाल्छन् ।

बुद्धि तामाङ एक्ला छन् । अनामनगरमा भाडाको कोठामा बस्छन् । एक्लो भएकाले पनि उनले आफै भात पकाउनुपर्छ पर्छ । तर, भात पकाउन उनलाई कतिपनि झन्झटिलो लाग्दैन । खुब जाँगर चल्छ ।

अनामनगर चोकमा सागसब्जी किन्न निस्कन्छन् । कोठमा लगेपछि आफै भान्से । अविवाहित उनले भात पकाउन अरु सहयोगी पनि राखेका छैनन् । किनभने उनलाई भान्सको काम रमाइलो पनि लाग्छ । भात, तरकारी, अचार बनाउन खुब रहर लाग्छ । अक्सर तरकारीमा झोल हालेर खान्छन् ।

हुन त उनी धेरैजसो छाक सुटिङको खानाबाट नै टार्ने गर्छन् । कतिबेला खाने भन्ने टुंगो पनि हुँदैन । बिहान भात खाएपछि दिउँसो मम, चाउमिन खान्छन् । बफ मम असाध्यै मन पर्छ । राती कोठामा पुगेपछि भात पकाएर खान्छन् ।

अनलाइनखबरसँग कुरा गर्दै बुद्धिले भनेका थिए, ‘कहिले उल्कै जाँगर चल्छ । दाल, तरकारी, अचार बनाउँछु, स्वाद लिएर खान्छन् ।’

खाना पकाइरहँदा उनको सम्पूर्ण ध्यान खानामै केन्दि्रत हुन्छ । ‘आज यति मीठो खाना पकाउँछु कि’ भनेर मनमनै तयारी गर्छन् । आफुले पकाएको खानामा गुनासो गर्ने कुरा भएन । जस्तो पाक्छ, कपाकप खाइदिन्छन् । अक्सर मासु खान्छन्, छाकैपिछे । उनलाई भुटेर खान स्वाद लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment