Comments Add Comment

मोरङ-सुनसरीका सडकलाई राष्ट्रिय राजमार्गसँग जोड्न ३५ परियोजना थप

Photo Credit : प्रतीकात्मक तस्वीर

४ वैशाख, विराटनगर । तराई–मधेसका दक्षिणी क्षेत्रलाई उत्तरका राष्ट्रिय राजमार्गसँग जोड्न थप ३५ नयाँ सडक परियोजनाको काम सुरु भएको छ ।

चालू आर्थिक वर्षदेखि सुनसरी र मोरङ जिल्लाका दक्षिणी क्षेत्रका सडकहरुलाई राष्ट्रिय राजमार्गसँग जोड्न ३५ सडक आयोजना थप भएका हुन् ।

दुवै जिल्लाका दक्षिण इलाकाका बासिन्दालाई राष्ट्रिय राजमार्गको पहुँचमा जोड्न चालू आर्थिक वर्षमा नयाँ आयोजना थपिएको सडक डिभिजन कार्यालय, विराटनगरले जनाएको छ ।

गत वर्षदेखि उत्तर–दक्षिण सीमा आयोजनाको रुपमा सडक निर्माण थालिएको थियो । चालू आर्थिक वर्षदेखि त्यही आयोजनालाई तराई–मधेस विशेष पूर्वाधार सडक कार्यक्रमअन्तर्गत राखिएको सडक डिभिजन कार्यालयका सूचना अधिकृत इञ्जिनियर दीपक झाले जानकारी दिए ।

‘तराई–मधेसका दक्षिणी क्षेत्रलाई राष्ट्रिय राजमार्गसँगको पँहुचमा जोडने सरकारी योजना छ’, इञ्जिनियर झाले भने, ‘वहुवर्षीय योजनाअन्तर्गत दक्षिणी इलाकालाई उत्तरमा रहेको राष्ट्रिय राजमार्गसँग जोड्ने लक्ष्य छ ।’

उनले नयाँ अवधारणामा राखेर एकैपटक दक्षिणी क्षेत्रका स्थानीय तहमा सडक डिभिजन कार्यालयले आयोजनाका लागि बजेट विनियोजन गरेको जानकारी दिए । चालू आर्थिक वर्षमा नयाँ कार्यक्रमअन्तर्गत दुई जिल्लाका दक्षिणी इलाकालाई राष्ट्रिय राजमार्गसँग जोड्न ३५ आयोजना थपिएका हुन् ।

ती आयोजनाको ठेक्का मूल्यांकन सकिएर सम्झौताको चरणमा रहेको सडक डिभिजन कार्यालयले जनाएका छ ।

थप भएका सडक आयोजनाअन्तर्गत कालोपत्रे, नाला, ढल तथा कल्भर्ट निर्माण छन् ।

चालू आर्थिक वर्षमा मोरङमा ३१ सडक आयोजना एकैपटक सञ्चालनमा रहेछन् ।

सुनसरीमा चारवटा सडक निर्माण हुनेछन् । यी सबै आयोजनासमेत वहुवर्षीय योजनाअन्तर्गत राखिएको छ ।

चालू आर्थिक वर्षमा सबै आयोजनाका लागि एक/एक करोड रुपैयाँ विनियोजन भएको इञ्जिनियर झाले जानकारी दिए । निर्माणाधीन यी सडकले भारतीय सीमाका नेपाली बस्तीलाई मुख्य राजमार्गसँग जोड्ने छन् ।

वहुवर्षीय योजनाअन्तर्गत विस्तार गरिने सडकलाई ९ मिटर चौडाइको बनाइनेछ ।

सीमा सडकको रुपमा रहेका यी आयोजना निर्माणको काम समयमै सक्ने गरी ठेक्का मूल्यांकन र स्वीकृति प्रदान गर्ने काम गरिँदै आएको छ । सडक डिभिजन कार्यालय, विराटनगरले ठेक्का आह्वान गरेकामध्ये २६ वटा आयोजनाको सम्झौता भइसकेको छ ।

गतवर्ष सुरु भएका ९ वटा सडक निर्माणको काम जारी छ । पुराना ९ सडक आयोजनाको म्याद तीस महिनाको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment