Comments Add Comment

तयार भयो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको रन-वे

४ वैशाख, काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रन-वे निर्माणको काम सकिएको छ । यो सँगै पोखरा विमानस्थल तोकिएको समयभन्दा पहिले नै निर्माण हुने राष्ट्रिय गौरबको आयोजना बन्ने पक्का भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमका अनुसार विमानस्थलको मुख्य निर्माणको कामका रुपमा रहेको रन-वेको काम सकिएको हो ।

२५ सय मिटरको यो रन-वेमा ढलान गरिएको छ । अन्य विमानस्थलमा पिच गर्ने गरिएपनि पनि पोखरामा पहिलो पटक रन-वेमै ढलान गरिएको हो । यो रन-वेमा अबको ३० वर्षसम्म पनि समस्या नआउने दावी गरिएको छ ।

‘मुख्य काम सकिएपछि अब हामी यो विमानस्थल तोकिएको मितिभन्दा पहिल्यै सञ्चालनमा ल्याउन सकिने निश्कर्षमा पुगेका छौं,’ महानिर्देशक गौतमले भने ।

विमानस्थलको एप्रोन निर्माण भइसकेको छ भने ट्याक्सी-वे निर्माणको काम पनि भइरहेको  छ । मुख्य टर्मिनल भवनको काम दुई तिहाई सकिएको छ भने अन्य भवनको निर्माण अन्तिम चरणमा पुगेको छ ।

अहिले पनि विमानस्थलमा धमाधम काम भइरहेको छ । सन् २०२१ को जुलाइभित्र निर्माण सकिसक्ने लक्ष्य भएपनि अब सन् २०२०को डिसेम्बरभित्रै पोखरा विमानस्थल सञ्चालनमा ल्याइने गौतमले बताए ।

एक्जिम बैंकको ऋण रकममध्ये ७५ प्रतिशत (बैंकको २ प्रतिशत ब्याजमा) र २५ प्रतिशत चीन सरकारको निर्ब्र्याजी ऋणमा विमानस्थल निर्माण भइरहेको छ ।

इपिसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्ट्रक्सन) मोडलमा अन्तरार्ष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेसनको मापदण्डअनुसार ‘४ डी’ विमानस्थल बन्दैछ ।

चिनियाँ कम्पनी सीएएमसीले ०७१ वैशाख २९ मा ठेक्का पाएको र निर्धारित समयमा निर्माण पूरा नगरे नेपाल सरकारलाई क्षतिपूर्ति दिने शर्त छ ।

तर, अब यो आयोजना समय अगावै सम्पन्न हुने अवस्थमा आइपुगेको छ ।

विमानस्थलका लागि सरकारले ०३२ मा ३ हजार १ सय ६ रोपनी जग्गा लिएको थियो । त्यतिले नपुगेपछि ६ सय २९ रोपनी जग्गा थप अधिग्रहण गरिएको थियो ।


सरकारले ०३२ मा जग्गा अधिग्रहण गरे पनि सरकारसँग बजेट अभाव, दातृ निकाय फेला नपरेको र पछि नागरिक उड्डयन प्राधिकरणले ठेकेदार कम्पनी छनोटको निर्णयमा ढिलाइले विमानस्थल निर्माण अलपत्र थियो ।

विमानस्थलको ०७३ वैशाख १ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले विमानस्थलको शिलान्याश गरेका थिए ।

झन्डै २२ अर्ब रुपैयाँमा निर्माण सम्झौता भएको विमानस्थल सन् २०२० भित्रै सञ्चालनमा आए त्यो नेपालको विकास आयोजनामा नमूना बन्नेछ ।

‘यो परियोजनामा एकै प्याकेजको ठेक्का छ, त्यसैले सिभिलको काम सक्दै आवश्यक उड्डयन उपकरण ल्याएर जोड्ने काम पनि सँगै हुन्छ,’ महानिर्देशक गौतमले भने ।

बायाँबाट  क्यानका अन्तरार्ष्ट्रिय विमानस्थल आयोजना निर्देशक प्रदीप अधिकारी र क्यानका महानिर्देशक सञ्जीव गौतम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment