Comments Add Comment

चुनाव प्रचारको खर्च उठाउन मिर्गौला बेच्दै एक उम्मेदवार

काठमाडौं । राजनीतिको नशा पनि कस्तो ? मानिस आफ्नो मिर्गौला बेच्न समेत पछि पर्दैन रहेछ । भारतमा चलिरहेको आम चुनावका क्रममा हालै एउटा यस्तै घटना भएको छ ।

भारतको मध्य प्रदेशबाट चुनाव लडिरहेका एकजना उम्मेदवारले चुनाव प्रचारमा हुने खर्च जुटाउन आफ्नै मिर्गौला बेच्न तयार भएका छन् ।

मध्य प्रदेशको बालाघाट लोकसभा सिटमा स्वतन्त्र उम्मेदवारको रुपमा चुनाव लडिरहेका किशोर समरीतेले चुनाव खर्च उठाउनका लागि आफ्नो मिर्गौला बेच्ने अनुमति मागेका छन् ।

चुनाव खर्च जुटाउन आफ्नो मिर्गौला बेच्ने अनुमति दिन उनले निर्वाचन आयोगमा निवेदन दिएका छन् । मिर्गौला बेच्नका लागि उनले जिल्ला निर्वाचन अधिकृतलाई पत्र लेखेका छन् । पूर्वविधायक समेत रहेका उनले उम्मेदवारका लागि चुनाव खर्चको अधिकतम सीमा ७५ लाख भारु तोकिएकोमा प्रतिस्पर्धी उम्मेदवारसँग करोडौँ सम्पत्ति भएको र आफूसँग त्यति धेरै पैसा नभएकाले मिर्गौला बेच्ने निर्णय गर्न बाध्य भएको जनाएका छन् ।

चुनाव हुने दिन आउन दुई हप्ता मात्र बाँकी रहेको र यति छोटो समयमा अरु माध्यमबाट पैसा जुटाउन असम्भव रहेकाले मिर्गौला बेच्नु आवश्यक भएको उनको भनाई छ ।

आफूलाई ७५ लाख रकम उपलब्ध गराउन वा बैंकबाट ऋण उपलब्ध गराउन अनुरोध गर्दै उनले यदि त्यो सम्भव नभए आफूलाई आफ्नो एउटा मिर्गौला बेच्ने अनुमति दिन निर्वाचन अधिकारी समक्ष अनुरोध गरेका छन् ।

स्मरण रहोस् उनी विगत १० वर्षदेखि चुनाव लड्दै आएका छन् । चुनाव हरेक वर्ष महंगो हुँदै गएको र कमजोर वर्गका मानिसलाई चुनावमा भाग लिन मुस्किल पर्दै गएको उनको भनाई छ । आम मानिसले पनि चुनाव लड्न सक्ने व्यवस्था गर्नुपर्ने उनको माग छ ।

स्मरण रहोस् किशोर समरित विगतमा पनि अनेक फण्डा गरेर चर्चामा आउने गरेका छन् । यसअघि उनले भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीमाथि बलात्कार गरेको आरोप लगाएर उजुरी गरेपछि चर्चित भएका थिए ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment