Comments Add Comment

पाल्पाको रिब्दीकोट गाउँपालिकामा बिस्फोट, विभिन्न जिल्लामा शंकास्पद वस्तु भेटियो

Photo Credit : रामसुन्दर आचार्य । काभ्रेमा भेटिएको शंकास्पद वस्तु निष्कृय पार्दै सुरक्षाकर्मी ।

५ वैशाख, काठमाडौं । देशका विभिन्न भागमा बिहीबार बिहानैदेखि बम तथा शंकास्पद वस्तु फेला परेका छन् । बम भेटिएपछि कतिपय स्थानको जनजीवन त्रस्त बनेको छ ।

काभ्रेको पनौती-७, खोपासी जाने बाटोमा बिहानै शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । यद्यपि, उक्त शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।

पाल्पामा विष्फोट

पाल्पामा त बम विस्फोट नै भएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिका कार्यालय भवनमा बम विस्फोट भएको हो । प्रहरीका अनुसार, विस्फोटबाट भवनमा क्षति पुगेको छ ।

रुपन्देहीको कोटिहवा-बाउन्नकोटी सडकमा पनि शंकास्पद वस्तु फेला परेको अनलाइनखबरकर्मी टोपराज शर्माले जनाएका छन् । बम आशंका गरिएको उक्त शंकास्पद वस्तुलाई निष्कृय पार्न नेपाली सेनाको टोली पुगिसकेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।

यसैगरी बाग्लुङ नगरपालिका ३ मा पनि पाइप बमजस्तो देखिने शंकास्पद बस्तु फेला परेको छ ।

यस्तै, बुटवल–भैरहवा सडक खण्डको कोटिहवाबाटबाट बाउन्नकोटी जाने सडकमा बिहीबार बिहानै भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ ।

मकवानपुरमा आगजनी

यसैगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका ८ नं. वडा कार्यालय अगाडि कुकर बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ ।

अनलाइनखबरकर्मी राजन दाहालका अनुसार कार्यालयको गेट अगाडि कालो प्लाष्टिकमा राखिएको कुकरमा बम लेखिएको छ । शंकास्पद वस्तु भेटिएलगत्तै नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुण कुश्वाहाले जानकारी दिए ।

मकवानपुरका थाहा नगर र भिमफेदी गाउँपालिकामा दुई सवारी साधनमा आगजनी समेत भएको छ ।

कैलालीका बिभिन्न स्थानमा पनि बमजस्तो शंकास्पद बस्तु भेटिएको छ । त्यहाँस्थित अनलाइनखबरकर्मी दीपक उपाध्यायका अनुसार, गोदावरी नगरपालिकाको अत्तरिया बजार, वौनिया, लम्की र राजीपुरमा शंकास्पद बस्तु भेटिएको हो । बम भेटिएको सूचना पाएलगत्तै सेनाको बम डिस्पोजल टोलीलाई खबर गरिएको प्रहरीले जनाएको छ ।

बाँकेको कोहलपुर, मोरङको बेलगाछी, अर्घाखाँचीको सन्धिखर्कमा पनि शंकास्पद वस्तु भेटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment