Comments Add Comment

रौतहटमा एउटै सडकमा दुई निकायको बजेट

५ वैशाख, रौतहट । सदरमुकाम गौर नजिकैको हनुमान मन्दिरदेखि गौर भन्सार कार्यालय सम्मको सडक स्तरोन्नतिका लागि दुई निकायले बजेट विनियोजन गरेको पाइएको छ ।

सघन शहरी भवन निर्माण आयोजना पर्साले २ करोड ३१ लाख २३ हजार २४१ रुपैयाँमा विभिन्न १७ किसिमको काम गर्ने तयारी गरिरहेकै अवस्थामा गौर नगरपालिकाले सोही सडकको नेपाल लजदेखि हनुमान मन्दिरसम्म कालोपत्रे गर्ने जिम्मा उपभोक्ता समितिलाई दिएको छ ।

एउटै सडकमा दुई वटा निकायले काम गरेर बजेट सक्न लागेको भन्दै स्थानीय वासिन्दाले नगरपालिकाको कामको विरोध गरेका छन् । सघन शहरी भवन निर्माण आयोजना पर्साले सढक निर्माणका लागि आश्रय निर्माण सेवा, स्वच्छन्द, धुकुचु जेभी बसुन्धारालाई ठेक्का दिइसकेको छ । तर नगरपालिकाले कालोपत्रे गर्न भनी पुरानो कालोपत्रे उप्काउन थालेपछि स्थानीयले विरोध गरेका छन् ।

नगरपालिकाले सडक मर्मतका नाममा स्थानीय बासिन्दाको पक्की घर भत्काउन खोजेको भन्दै स्थानीय अनिरुद्धप्रसाद केसरीले जिल्ला अदालत गौरमा उक्त कार्य रोक्न अन्तरिम आदेशको माग गर्दै रिट दायर गरेका थिए । उक्त रिटमा अदालतले चैत २७ गते स्थानीयको निजी जग्गामा सडक नबनाई वास्तविक कार्य गर्न नगरपालिकाको नाममा जिल्ला अदालत रौतहटले अन्तरिम आदेश जारी गरेको छ ।

सघन शहरी विकास आयोजनाबाट काम हुने सडकमा नगरपालिकाले रकम कुम्ल्याउने योजनामात्रै बनाएको स्थानीय सञ्जीव गुप्ताले आरोप लगाएका छन् । राम्रै अवस्थामा रहेको कालोपत्रे सडक भत्काएर नगरपालिकाले जबरजस्ती मर्मतको काम गर्न खोजेको गुप्ताले बताए । एउटै सडकमा दुईवटा निकायले काम गरेर बिल भर्पाई पेश गरी रकम कुम्ल्याउन खोज्नु दुखद भएको स्थानीय वीरेन्द्रकुमार मिश्रले बताए ।

सघन सहरी भवन निर्माण आयोजना पर्साका इन्जिनियर लक्ष्मण यादवले हनुमान मन्दिरदेखि भन्सारसम्मको सडकमा निर्माण कम्पनीले काम सुरु गर्न लाग्दा नगरपालिकाले पनि त्यही सडकमा काम गर्न लागेको सुन्दा आश्चर्य लागेको बताए । नगरपालिकाले निर्माण कम्पनी तथा सघन सहरी विकास निर्माण आयोजनासंग समन्वय गरेर मात्रै काम गर्नुपर्नेमा समन्वय नगरिएको उनले गुनासो गरे ।

गौर नगरपालिकाका मेयर अजय गुप्ताले सघन सहरी आयोजनाले पेटीमात्रै बनाउने भएकाले आफूहरुले कालोपत्रे गर्न लागेको बताए । कालोपत्रे उप्किएकाले मर्मत गर्न लागेको उनको भनाइ छ । उक्त सडक साघुरो भएकाले फराकिलो बनाउन लागिएको पनि मेयर गुप्ताले बताए । उनले सघन सहरी आयोजनाको बजेट न्युन रहेकाले सबै काम हुन नसक्ने पनि जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment