Comments Add Comment

बोर्ड अध्यक्ष भन्छन्–‘नेपाली फिल्मको हित विपरित हुने काममा बोर्डले हस्तक्षेप गर्छ’

‘कलंक’मात्र होइन, अरु विदेशी फिल्म पनि नियम विपरित रिलिज हुँन पाउँदैनन्’

भारतमै रिलिज भएको दिनमा नेपालमा पनि उक्त बलिउड चलचित्र रिलिज हुँदै आएको परम्परालाई ब्रेक लगाएपछि चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई अहिले चर्चामा छन् । केशवले चलचित्र विकास बोर्डको पद सम्हालेदेखि नै नेपाली चलचित्रको विकास र हितका लागि काम गर्ने बताउँदै पनि आएका छन् । यसैले पनि विकास बोर्ड अध्यक्षको यो सुरुवाती कदमलाई ‘बोल्ड निर्णय’ भनिएको छ । तर, कतिपय चलचित्रकर्मीले नै बोर्ड अध्यक्षको चलचित्र ‘यात्रा’ रिलिज भएका कारण यो कदम चालिएको आरोप लगाउँदै आएका छन् । यसै बिषयमा अनलाइनखबरका लागि विजय सुवेदी ‘आवाज’ले बोर्ड अध्यक्ष भट्टराइसँग कुराकानी गरेको छ ।

१. के तपाइको आफ्नै चलचित्र ‘यात्रा’को कारणले ‘कलंक’को बुधबार रिलिज रोकिएको हो ?
मैले पदबहाली गर्दा नै बोलेको थिए कि, म चलचित्र क्षेत्रको रिलिजमा देखिएको विसंगीत रोक्छु । मैले भाष्कर ढुंगानाजी(जसले मलाई अख्तियारको दुरुपयोग गरेको आरोप लगाउनुभयो)लाई फोन गरेर ‘कलंक’ रिलिजको बिषयमा चलचित्र संघ र चलचित्र निर्माता संघविच बसेर कुरा मिलाउनुहोस् भनेको थिएँ ।

तर, उहाँले यसमा खासै वास्ता नै गर्नुभएन । वितरकले ल्याएको चलचित्र हामीले लगाउनुपर्छ मात्र भन्नुभयो । मैले चलचित्र संघका अध्यक्षलाई पनि फोन गरेको थिएँ । उहाँले पनि मिटिङ राख्छौ भन्नुभयो तर कुनै कदम चाल्नुभएन । चलचित्र विकास बोर्डमै आएर ‘कलंक’ चलचित्रका वितरकहरु मनोज राठी, उज्ज्वल पौडेल र निरक पौडेलले हामी बुधबार चलचित्र ल्याउँदैनौ अध्यक्ष ज्यू भन्नुभएको थियो । तर, खै उहाँहरुले पछि किन ल्याउन खोज्नुभयो मलाई थाहा भएन ।

२. तपाइले चलचित्रको सेन्सरका लागि रोक लगाउनुभएको हो ?
मंगलबार पैसा भारत पठाउनका लागि यसका वितरक सिफारिशका लागि चलचित्र विकास बोर्ड आउनुभएको थियो, मैले सिफारिश दिएर पठाएको हुँ । बुधबार दिउँसो उहाँहरु सेन्सरका लागि आउनुभयो मैले त्यसको पनि पत्र दिएको थिएँ ।

३. के तपाइले आफ्नो पदको दुरुपयोग गर्नुभएकै हो र ? क्यूएफएक्सका संचालक भाष्कर ढुंगानाले यस्तो आरोप लगाउनुभएको छ त ?
म उहाँको स्टाटसमा जवाफ दिने सोचमा थिइनँ । किनकी, म प्राय कसैको पनि फेसबुकमा गएर कमेन्ट गर्दिनँ । तर, उहाँले ‘अख्तियारको दुरुपयोग’को कुरा उठाएका कारणले मात्र मैले जवाफ दिएको हुँ । यो मेरो चलचित्र ‘यात्रा’का कारणले चालिएको कदम नै होइन । यो कदमले गर्दा ‘कलंक’ बुधबार नेपालमा रिलिज भएन । जसलेगर्दा अर्को चलचित्र ‘ए मेरो हजुर ३’ले वुधबार र बिहिबार धेरै शोज पाएको छ । २ दिन भएपनि नेपाली चलचित्र ढुक्कले चल्न पाए नी होइन र ?

४. धेरैले भन्छन्,यो निर्णय ‘यात्रा’का कारणले मात्र चालिएको हो ? भोलीका दिनमा आउने विदेशी चलचित्रमाथि पनि यो नियम लागू हुन्छ कि हुँदैन ?
यो तपाइहरुले पनि भोलीका दिनमा हेर्दै जानुहोस् न । म यही छु, कही पनि गएको छैनँ । मेरो एउटा मात्र धारण छ कि, नेपाली चलचित्रको हित विपरित काम हुनु हुँदैन । मैले चलचित्र संघ र निर्माता संघका पदाधिकारीलाई बैठकमा बोलाएको छु । सायद, सोमबार वा मंगलबार हाम्रो कुराकानी हुन्छ । नेपाली चलचित्र शुक्रबार रिलिज हुन्छन् भने विदेशी चलचित्र किन नहुने ? मेरो यो अडान कायमै छ । चलचित्र विकास बोर्ड चलचित्र क्षेत्रलाई बचाउनका लागि खडा भएको संस्था हो । यसले चलचित्र क्षेत्रलाई बचाउने काम गर्नुपर्छ र गर्छ पनि ।

५. चलचित्र कहिले रिलिज गर्ने बिषयमा चलचित्र विकास बोर्डले हस्तक्षेप गर्न पाउँछ र ?
चलचित्र विकास बोर्ड भनेको चलचित्र क्षेत्रको अभिभावक संस्था हो । यसले प्रदर्शक, वितरक, निर्माता, कलाकारदेखि सबैलाई नियमन गर्छ । यसैले, चलचित्र क्षेत्रको हित विपरित हुने काममा नियमन गर्न, हस्तक्षेप गर्न राज्यले किन पाउँदैन ? मैले चलचित्र संघका पदाधिकारीदेखि वितरकलाई यो बिषयमा कुरा गर्न फोन गरेको थिएँ । तर, उहाँहरुले चलचित्र विकास बोर्डको अध्यक्षको फोनमा वास्ता नै गर्नुहुन्न । कमसेकम चलचित्र विकास बोर्डको अध्यक्षले फोन गरेपछि त्यसको रेस्पोन्स दिन पर्दैन ?

६. वुझ्ने भाषामा भनिदिनुहोस्, आगामी दिनमा विदेशी चलचित्रमाथि शुक्रबार मात्र रिलिज गर्नुपर्ने नियम लागू हुन्छ या हुँदैन ?
स्पष्ट भाषमा भन्नुपर्दा हुन्छ । नियम विपरित कुनै पनि चलचित्र रिलिज हुन पाउँदैनन् ।

७. चलचित्र संघका अध्यक्षले तपाइलाई निर्माता संघको पदाधिकारी भन्दा माथि उठ्न नसकेको आरोप लगाउनुभएको छ, यसमा तपाइको भनाई के छ ?
यो उहाँको वुझाई हो । म केही पनि प्रतिक्रिया दिन चाहन्नँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment