Comments Add Comment

मल्लकालिन सम्पदा ‘बालाजु बाइस धारा’ : कसरी सुरु भयो मेला

काठमाडौं बालाजुबाट बाइपासतर्फ मोडिएपछि एउटा सितल पार्क भेटिन्छ, बाइस-धारा पार्क । अहिले शहरवासीको सुस्ताउने गन्तव्य हो यो । नागर्जुन जंगलको फेंदमा अवस्थित यो मनोहर पार्कको खास आकर्षण भनेको बाइस धारा हो । अर्थात नागार्जुनको फेंदको मुलबाट निस्किएको पानी र २२ वटा ढुंगे धारा ।

यो धारा अहिले बनाइएको होइन । करिब ३ सय बर्ष अघि बनाइएको हो । मल्लकालमा । अन्तिम मल्ला राजा जयपप्रकाश मल्लले । अर्थात बाइस धारा एक ऐतिहासिक सम्पदा हो ।

त्यसो त बाइस धाराको पौराणिक एवं धार्मिक महत्व पनि छ । यो धार्मिक तथा हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र मानिन्छ । पौराणिक कथन के छ भने, महायानी दार्शनिक आचार्य नागार्जुनले बुद्ध भगवानको स्मरण गरी यही जामाचो पहाडमा -हाल नागार्जुन) रहेको गुफामा ध्यान-साधना गरेर सिद्धि प्राप्त गरेका थिए । त्यही कारण यस क्षेत्रलाई नागार्जुन भनिएको मानिन्छ ।

बाइस धारा मेला

आउँदो सुक्रबार यहाँ भव्य मेला लाग्छ । यो मेलाको आफ्नै धार्मिक महत्व छ । चैत शुक्ल पूणिर्माका दिन यहाँ बर्षेनी मेला लाग्ने गरेको हो । यस दिनलाई नेवार समुदायले ल्हुतिपुन्हिको रुपमा मनाउने गरेको उल्लेख छ ।

के मान्यता छ भने, यस दिन मन्नादी देवीको जन्म भएकाले महिलाले बाइस धारामा नुहाईधुवाई गरेमा फलिफाप हुन्छ । किम्वदन्ती अनुसार विपस्वी बुद्धले कमलको फूल रोपेर मन्त्रोच्चारण गर्दा यहाँ स्वयम्भू ज्योतिरुप उत्पति भयो । यसैको सम्झनामा ल्हुतिपूणिर्मा मनाउने गरिएको हो ।

ल्हुति पूणिर्माको दिन बाइसधारामा स्नान गरी मृत्त आफन्तको नाममाब बत्ती बाल्ने परम्परा छ । साथै यसै दिन नुवाकोटको कडल्चोक भगवतीलाई पनि बालाजुमा ल्याएर त्यहाँको हालको सेतो पाटीमा राखी हवन तथा राँगाको बलि दिने परम्परा रहेको उल्लेख छ । मनमैजु देवीको जात्रासँग पनि बालाजु बाइसधाराको प्रसंग जोडिएको छ । ल्हुती पूणिर्माको मेलासँग मनमैजु जात्रा पनि सुरु हुन्छ । यस दिन बालाजुको बाइसधारामा नुहाएर मनमैजु देवीको दर्शन गरेमा आफ्नो मनोकामना पुरा हुने धार्मिक विश्वास छ ।

मल्लकालिन सम्पदा बाइस धारा

मल्लकालमा बनेको हो, बालाजु बाइस धारा । सबैभन्दा पहिले बालाजुमा कान्तिपुरका राजार जयप्रकाश मल्लले ढुंगे धारा बनाएका थिए । यो नेपाल संवत् ८७५ को कुरा हो । मल्लकालका अन्तिम राजा मानिन्छ, जयप्रकाशलाई । विश्वकै सबैभन्दा सानो मुद्रा प्रचलनमा ल्याउने उनले आफ्नो जीवनकालमा बालाजु ढुंगेधारा र गोकणेश्वरमा मन्दिर बनाए । त्यसबेला उनले बालाजुमा २१ वटा धारा बनाएका थिए । पछि वि.सं. १८५५ मा राजा रणबहादुर शाहले एउटा ढुंगेधारा स्थापना गरे ।

बाइसधारामा नुहाउँदा छाला रोग निको हुने

बालाजु बाइस धारामा नुहाउँदा छाला सम्बन्धी रोग निको हुने विश्वास छ । खासमा यहाँ बग्ने पानीको मुल नुवाकोट डाँडासँग जोडिएको छ । देवीघाटको पानी नै यहाँ आउने र सो पानीले नुहाएमा छाला सम्बन्धी सम्पूर्ण रोग निको हुने विश्वास छ ।

यो ठाउँ काठमाडौं उपत्यकाको पश्चिम उत्तरतिर नागार्जुन जंगलमुनी पर्छ । यस स्थानलाई नेवार समुदायले ल्हुति भन्ने गर्छन् । नागार्जुनको वनमा एक किसिमको ल्हुति भन्ने फल पाउने गरिएको र उक्त फलको रस मिसिएर त्यहाँको पानी बग्ने भएकाले उक्त पानी औषधिय महत्वको रहेको बताइन्छ ।

कस्तो छ बाइस धारा क्षेत्र ?

नागार्जुन जंगलको फेंदमा अवस्थित मनोरम पार्क हो यो । करिब १ सय ६२ रोपनी क्षेत्रफलमा फैलिएको छ यो । पछिल्लो समय यो पार्क राजधानीबासी सुस्ताउने गन्तव्य बनेको छ ।

यहाँ बाइसधारासँगै रमाइलो पार्क, मन्दिर, गुम्बा अवस्थित छ । भनिन्छ, भानुभक्त आचार्यले यहाँको सौन्दर्यमा मोहित भएर कविता नै रचना गरेका थिए, ‘यति दिनपछि मैले आज बालाुज देख्या, पृथ्वी तल भरीमा स्वर्ग हो जानी लेख्याँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment