Comments Add Comment

नेपालको पानी विदेशमा बेच्न सकिनेमा ढुक्क भएँ : मन्त्री मगर

६ वैशाख, काठमाडौं । खानेपानी तथा सरसफाई मन्त्री बीना मगरले नेपालको खानेपानी विदेशमा लगेर बेच्न सकिनेमा आफू अब ढुक्क भएको बताएकी छन् । शुक्रबार नेपालको पानी विदेशमा लगेर बेच्न सकिने विषयमा मन्त्रालयमा आयोजित छलफल कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री मगरले यसमा आफू ढुक्क भएको बताएकी हुन् ।

आफू मन्त्री हुँदादेखि नै यो विषय उठान गर्दै आए पनि सकिन्छ कि सकिन्न भन्ने विषयमा आफैं अन्योलमा रहेको बताउँदै मन्त्री मगरले छलफल पछि भने आफू ढुक्क भएको बताइन् ।

‘मैले मन्त्रालयको नेतृत्व गर्दादेखि कुरा उठाएको थिएँ, एक वर्ष भइसक्यो तर, पनि म अन्योलमा थिए’, छलफलमा कार्यक्रममा उनले भनिन्, ‘यो छलफल कार्यक्रम शुरु हुनुभन्दा केहि समय अघिसम्म म अन्योलमै थिए, छलफल पछि म उत्साहित भएको छु, पानी बेच्न सकिनेमा ढुक्क भए ।’

छलफलबाट प्राप्त सुझावहरुले आफूलाई थप हौसला प्रदान गरेको भन्दै उनले भारत, बंगलादेशसहित खाडी मुलुकहरुमा खानेपानी बेचेर आम्दानी गर्न सकिने बताइन् ।

यस अघि कतारका राजदूतसँग पनि यस विषयमा छलफल भइसकेको जानकारी दिदै उनले कतार सकारात्मक देखिएको र अन्य देशहरुमा कसरी बेचन सकिन्छ भनेर अध्ययन गरिने बताइन् ।

उनले नेपालको पानीलाई धार्मिक विषय जोडेर बजारीकरण गर्न सकिने बताइन् । नेपालमा भएका प्राकृतिक जडिबुटीहरु अन्य देशमा नभएको भन्दै उनले यार्सा गुम्बा, सगरमाथा लगायतको ब्राण्ड बनाएर बेच्न सकिने बताइन् ।

सार्वजनिक–निजी साझेदारीमा पानी उद्योगहरु सञ्चालन गरी बाहिर बेच्नु पर्ने भन्दै उनले यसका लागि आवश्यक कानून बनाउन तथा संशोधन गर्न सरकार तयार रहेको बताइन् ।

कार्यक्रममा मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले नेपालको पानी होलि वाटरको रुपमा बेच्न सकिने बताए । बौद्ध तथा हिन्दुहरुको बाहुल्यता रहेको क्षेत्रमा होलि वाटरको नाममा बजारीकरण गर्न सके नेपालको पानीले राम्रो बजार लिने सचिव शर्माको भनाइ थियो ।

छलफलमा विभिन्न मन्त्रालयका प्रतिनिधि, पानी व्यवसायीहरु तथा खानेपानी सम्बन्धी विज्ञहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment