Comments Add Comment

यो सरकार फर्सी जस्तै कुहिएर झर्छः रमेश लेखक

७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले सरकारको एक वर्षमै पूर्ण रुपमा असफल भएको दाबी गरेका छन् । सरकार फर्सी जस्तै आफैं कुहिएर झर्ने उनको टिप्पणी छ ।

‘यो सरकार बनेको १४ महिना बितिसक्यो, तर यसले अहिलेसम्म जनतामा कुनै ठोस उपलब्धि देखाउन सकेको छैन् । यो सरकार काम गर्न भन्दापनि गफ र भाषणमा धेरै सफल भएको छ । यथार्थमा यसले जनतामा कुनै अनुभुति हुने काम गरेको छैन ।’

शनिबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा नेता लेखकले शान्ति, सुरक्षा कायम गर्न सरकार असफल भएको दाबी गरे । निर्मला पन्तको बलात्कारपछि हत्या भएको ९ महिना बितिसक्दापनि सरकारले अपराधी पत्ता लगाएर कारबाही गर्न नसकेको उनको आरोप छ । उनले भने, ‘एकपछि अर्को आयोग बनाउने काम गर्यो तर, आयोगले बुझाएका प्रतिवेदन निबन्धजस्तो मात्रै भयो । सरकार आफ्नो दायित्वबाट पूर्ण रुपमा च्यूत भयो ।’

विकास निर्माणमा पनि सरकार असफल भएको उनको आरोप छ । विकासको गति अहिले शून्यमा रहेको भन्दै उनले भने, ‘पुँजीगत खर्चमा त सरकार सर्वाधिक असफल भएको छ ।’

चीनबाट र भारतबाट रेल आउँछ भनेर सरकारले जनतालाई कल्पनामा बगाउने काम गरेको उनको आरोप छ । उनले भने, ‘भारत र चीनबाट कति वर्षमा रेल आउँछ भन्ने कुरा हामीलाई पनि थाहा । यो सरकारसँग कुनै तथ्य र तथ्यांक छ त ? तर, यहाँ त भोलि विहानै काठमाडौंमा रेल आउँछ जसरी भाषण गर्ने काम भइरहेको छ ।’

एकपछि अर्को भ्रष्टाचारका कुरा बाहिरिँदा पनि वर्तमान सरकार निरीह बनेको उनको अर्को आरोप छ । उनले भने,’यो एक वर्षमा सरकार पूर्ण रुपमा असफल भएको छ । भाषण र उखान टुक्कामा अत्यधिक सफल तर, काममा अत्यधिक असफल भएको छ ।’

उनले अघि भनेका छन्, ‘यो सरकार त फर्सी आँफै कुहिएर झरेजस्तो अवस्थामा छ । यो सरकार जाते जाते कहिँ व्यवस्था नै लग्ने त होइन भन्ने चाहीँ हामीलाई चिन्ता छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment