Comments Add Comment

अत्यावश्यकीय कानून निर्माणमा सरकार गम्भीर देखिएन : बाबुराम

९ वैशाख, काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले संविधान कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा सरकारले गम्भीरता नदेखाएको आरोप लगाएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्धलाई व्यवस्थित बनाउन सरकारले प्रस्ताव गरेको राष्ट्रिय समन्वय परिषद र प्रदेश समन्वय परिषद् पनि व्यवहारिक नभएको टिप्पणी गरे ।

डा. रुद्र शर्माद्वारा लिखित पुस्तक ‘नेपाल, भारत र अमेरिकामा संघीय विवाद निरुपण’ नामक पुस्तक विमोचनका लागि राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई बलियो बनाउने गरी कानुन निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए ।

संयोजक भट्टराईले वित्तीय संघीयता र प्राकृतिक स्रोत, साधनको बाँडफाँटसम्बन्धी विषयमा मूल विवाद रहेकाले त्यसको निरुपणका लागि बहसको माग गरे ।

कार्यक्रममा बोल्दै पूर्व सभामुख दमननाथ ढुंगानाले संघीयता कार्यान्वयनका लागि सरकारले सबै प्रदेशको सन्तुलित विकासमा जोड दिनुपर्ने आवश्यकता औंल्याए । उनले सबै प्रदेशको समुचित विकास गरेर एकीकृत राष्ट्रिय भावनाको विकास गर्नु नेपालको संघीयताको मूल चूरो भएको उल्लेख गर्दै सोही अनुसारको कामलाई अघि बढाउन पनि सरकारलाई सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment