Comments Add Comment

‘बैंकास्योरेन्स’ ले करिब ५ लाख अभिकर्ताको रोजिरोटी जोखिममा

अभिकर्ता भन्छन्– ऐन विपरीत बलमिच्याईं गरे

९ वैशाख, काठमाडौं । पछिल्लो समय बैंकहरुले बीमा अभिकर्ता (एजेन्ट) को समेत काम गर्न थालेका छन् । यसबाट स्वतन्त्र रुपमा काम गरिरहेका करिब ५ लाख बीमा अभिकर्ताको रोजगारी भने जोखिममा परेको छ ।

मुलुकमा सञ्चालित १९ जीवन बीमा कम्पनीहरुसँग लगभग सबै बैंकहरुले सम्झौता गरिसकेका छन्, जसलाई उनीहरु ‘बैंकास्योरेन्स’ भन्ने गर्छन् । बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले पनि उनीहरुलाई अभिकर्ताको रुपमा अनुमतिपत्र प्रदान गरेको छ । यसरी बैंकले नै एजेन्टले गर्ने काम गर्न थालेपछि लाइसेन्स लिएका ४ लाख ७७ हजार ४ सय ८ जना एजेन्टको रोजिरोटी खतरामा परेको हो ।

बीमा कम्पनीहरुसँग सम्झौता गरेपछि बैंकले आफ्ना कर्मचारीलाई टार्गेट (लक्ष्य) नै दिएर बीमा गर्न लगाउने गरेका छन् । कर्मचारीलाई टार्गेट नै दिएर बीमा पोलिसी बेच्न भनेपछि एजेन्टहरुको पेशा धरापमा पर्ने देखिएको छ ।

हाल ४ लाख ७७ हजार ४ सय ८ जना बीमा अभिकर्ता रहेका छन् । यिनीहरुले बीमा गराउने काम गर्छ, त्यसवापत उनीहरुलाई वैधानिक कमिशन आउछ । अब बैंकहरुले नै यो काम गर्न थाले पछि ति अभिकर्ताले पाउने कमिशन पनि बैंकले नै लिन्छन् । बैंकिङ कारोबार गर्ने उद्देश्य बोकेका बैंकहरुले बीमाको काम गर्दा आफ्नो गाँस खोसिने चिन्तामा अभिकर्ताहरु देखिएका छन् ।

अभिकर्ताका नेता भन्छन्– ऐनविपरित बलमिच्याईं भयो

पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष नन्दप्रसाद तिवारीले बैंकहरुले बलमिच्याईं गरेर अभिकर्ताहरुको रोजिरोटी खोस्न लागेको आरोप लगाए । बैंकहरुले अहिले गरिरहेको काम कानूनविपरित रहेकोसमेत उनको दावी छ ।

अध्यक्ष तिवारीले अनलाइनखबरसँग भने, ‘कुनै ऐनमा यस्तो व्यवस्था छैन, तर बैंकहरुले बलमिच्याईं गरेर अभिकर्ताको काम गरिरहेका छन् । यसले लाखौ अभिकर्ताको रोजगारी गुम्ने खतरा देखियो ।’

बैंकहरुले तत्काल यस्तो कार्य रोक्नुपर्ने उनको माग छ । संस्थागत अभिकर्ताको रुपमा लाइसेन्स लिएर बैंकहरुले अहिले व्यक्तिगत अभिकर्ताहरुले जस्तै काम गर्ने गरेको उनले बताए ।

कुनै पनि वित्तीय संस्थाले आफ्नो उद्देश्यविपरित गएर काम गर्न नहुने तिवारी बताउँछन् । ‘बैंकहरु भनेको नितान्त बैंकिङ कारोबार गर्न भनेर स्थापना भएका हुन्,’ उनले भने, ‘उद्देश्यविपरित बीमाको काम गर्न पाउने कि नपाउने भन्ने बहसको बिषय बनेको छ ।’

बैंकका कर्मचारीहरुले व्यक्तिको खाता हेरेर पैसा देखे तत्कालै बीमा गर्न बाध्यकारी बनाउने र अर्कोतर्फ कर्जा लिन आउनेलाई पनि जर्बजस्ति बीमा गराउने गरेको उनले आरोप लगाए । अर्कोतर्फ बीमाबारे चेतना जगाउन अभिकर्ताहरु घरघर पुग्ने तर बैंकले बीमा चेतनातर्फ ध्यान नदिई व्यवसाय मात्रै खोस्ने गरेको पनि तिवारी बताउँछन् ।

बैंकले एजेन्टको काम गर्नु कति उपयुक्त ?

बीमा कम्पनीका पहिलो नेपाली सीईओ रमेशकुमार भट्टराई बैंकले एजेन्टको काम गर्नु गलत नभए पनि अरुको रोजगारी गुम्ने चिन्ता स्वभाविक भएको बताउँछन् । यसका लागि विकल्प खोज्नु पर्ने उनको सुझाव छ ।

‘अहिले हामीले पनि यस्तो सम्झौता गरेका छौं, बैंकसँग यो सम्झौता हुनुलाई नराम्रो मान्न सकिदैन’ अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘तर यस्तो सम्झौताले लाखौलाई बेरोजगार बनाउन सक्छ, यसबारे सोच्नै पर्छ ।’

हाल महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीईओ रहेका भट्टराईले बैंकलाई पनि काम गर्न दिनुपर्ने तर अभिकर्ताको रोजगारी पनि खोस्न नहुने बताए ।

‘अहिले बैंकले बेच्ने पोलिसी र अभिकर्ताले बेच्ने पोलिसी एउटै छ, जसले गर्दा अभिकर्ताको रोजगारी गुम्ने जस्तो देखियो’ उनले भने, ‘बैंकलाई बेच्न दिने पोलिसी र अभिकर्तालाई बेच्न दिने पोलिसी छुट्याइदिऔं, यसो भयो भने समस्या आउँदैन ।’

अहिले नै आत्तिनुपर्दैन : बीमा समिति

बीमा समितिले भने बीमा अभिकर्ताहरु अहिले नै आत्तिने बेला नभएको बताएको छ । समितिका कामु कार्यकारी निर्देशक राजुरमण पौडेल अहिले बीमाको अधिकांश हिस्सा अभिकर्ताकै भएको कारण आत्तिइहाल्नु नपर्ने बताउँछन् ।

‘अहिले ९८ प्रतिशत अभिकर्ताहरुमार्फत नै बीमा भएको छ, बाँकी २ प्रतिशत मात्रै बैंकहरुले गरेका छन्, कार्यकारी निर्देशक पौडेलले भने, ‘अहिले नै आत्तिनु पर्दैन, यसबारे हामीले पनि सोच्छौं ।’

बीमा समितिले संस्थागत अभिकर्ताको रुपमा काम गर्न लाइसेन्स प्रदान गरेको उनले बताए । सामाजिक सञ्जालमा सेयर गर्न कसैले बैंकास्योरेन्स भन्ने शब्द प्रयोग गरेको हुनसक्ने उनको भनाइ छ ।

हाल नेपालको कानूनमा बैंकास्योरेन्स सम्बन्धी कुनै व्यवस्था छैन । बैंकहरुले बजार हिस्सा राम्रो ओगटे बीमा अभिकर्ताको रोजिरोटी गुम्न सक्नेतर्फ पनि समिति सचेत रहेको पौडेलले बताए । नयाँ बीमा ऐन अहिले संसदबाट पारित हुने क्रममा रहेको भन्दै उनले नयाँ ऐन आएपछि आवश्यक व्यवस्था तथा निर्देशन समितिले जारी गर्नुपर्ने उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment