Comments Add Comment

नेकपा जिल्ला नेतृत्व चयनले माधव नेपाललाई राहत कि आहत ?

जिल्ला पदाधिकारीमा ओली र प्रचण्ड नै हावी

९ वैशाख, काठमाडौं । नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा आइतबार साँझ बामदेव गौतम र नारायणकाजी श्रेष्ठले जिल्ला अध्यक्ष र सचिवको नामलिष्ट हेर्न पाउँ भन्दा पनि देखाइएन । भोलिपल्ट सार्वजनिक भएको ७७ जिल्ला अध्यक्षको सूचीमा गौतम र श्रेष्ठ पक्षका एकएक जना मात्र परे ।

नेकपाको शक्तिशाली हाइकमाण्ड (सचिवालय)मा रहेका नेताहरुले आफ्नो मान्छे जिल्ला अध्यक्ष र सचिवमा घुसाउन चाहे पनि अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड नै हाबी भए । तर, नयाँ मापदण्डका कारण माधव नेपाल र रामबहादुर थापा बादल पक्षले पनि आफू निकटका नेतालाई व्यवस्थापन गरेका छन् ।

पूर्व एमालेभित्र ओली र नेपालका दुई प्रमुख गुट छन् । ओली र नेपाल गुटको विवादकै कारण जनप्रतिनिधि पनि जिल्ला अध्यक्ष बन्न पाउने मापदण्ड बनाइदा यसअघि सिफारिस भएका धेरै नेता अध्यक्ष र सचिव बन्नबाट बन्चित भए । नयाँ मापदण्डमा परेका कारण केन्द्रीय सदस्यहरु जिल्ला अध्यक्ष र सचिव बने भने जिल्ला अध्यक्ष भइरहेकाहरु सचिवमा घटुवा भए ।

सुरुमा जनप्रतिनिधिलाई पार्टीको कार्यकारी भूमिकामा नराख्ने भनिएको थियो । तर, मापदण्ड बिना प्रदेश कार्यदलको सिफारिसका नाममा अध्यक्ष र सचिव तोक्दा ओली पक्षले एकलौटी गर्ने देखेपछि वरिष्ठ नेता नेपालले तत्कालिन एमालेभित्रको कमिटीको बरियताका आधारमा जिम्मेवारी दिनुपर्ने अडान लिएका थिए ।

यो पनि पढ्नुहोस कोको भए नेकपाका जिल्ला अध्यक्ष र सचिव ? (सूचीसहित)

पछिल्लो मापदण्डपछि तत्कालिन एमालेले पाएका ४४ जिल्लामध्ये नेपाल पक्ष पक्षबाट प्रष्ट खुलेका १३ जना अध्यक्ष बनेका छन् । सचिवलाय सदस्य बामदेव गौतम पक्षका एक जनामात्र प्युठानका तुलसीराम शर्मा अध्यक्ष बनेका छन् । पछिल्लो समय गौतम नेपाल निकट भएकोले शर्मालाई नेपाल समूहले आफ्नो भनेको छ ।

माधव नेपाल, झलनाथ र बामदेव गौतम पक्षका जोड्दा १५ जिल्ला अध्यक्ष सो समूहबाट बनेका छन् ।

बाँकी २९ जिल्लाका अध्यक्ष केपी ओली निकट छन् । सचिवालयमा पूर्व एमालेका ईश्वर पोखरेल र विष्णु पौडेल ओलीसँगै रहेकाले यो गुट नै जिल्ला अध्यक्षमा बलियो बनेको नेकपा स्रोतले जनाएको छ । कतिपय नेताले आफूलाई कतै खुलाउन नचाहे पनि दुवै गुटले आआफ्नो पक्षको दाबी गरेका छन् ।

ओली पक्षबाट को को ?

पूर्वएमालेले पाएका ४४ जिल्ला अध्यक्षमध्ये ३० जना ओली पक्षका दाबी गरिएको छ । ओली पक्षका अध्यक्षमा प्रदेश १ बाट पाँचथरका राजकुमार भण्डारी, झापाका चिन्तन पाठक, मोरङका विनोद ढकाल, धनकुटाका राजेन्द्र राई, भोजपुरका प्रेमकुमार राई र सोलुखुम्बुका मानवीर राई छन् ।

त्यस्तै प्रदेश २ बाट धनुषका राजकिशोर यादव र पर्साका प्रभु हजारा ओली निकट मानिन्छन् । प्रदेश ३ बाट दोलखाका ईश्वरचन्द्र पोखरेल, धादिङका भूमी त्रिपाठी, काठमाडौंका कृष्ण राई, भक्तपुरका बचन देउजा र ललितपुरका हरिकृष्ण ब्यन्जनकार ओली निकट हुन् ।

गण्डकी प्रदेशबाट कास्कीका कृष्ण थापा, तनहुका केदार सिग्देल,पूर्वी नवलपरासीका रोशन गाहा मगर, मुस्ताङका चन्द्रमोहन गौचन र मनाङका पोल्देन छोपाङ गुरुङ ओली पक्षका अध्यक्ष हुन् ।

यो पनि पढ्नुहोस प्रधानमन्त्री ओलीको सम्बोधन : प्रचण्डको प्रशंसा, कांग्रेसलाई गाली

प्रदेश ५ बाट ओली पक्षका अध्यक्षहरुमा गुलमीका मधुकृष्ण पन्त, अर्घाखाँचीका चेतनारायण आचार्य, पाल्पाका नारायण आचार्य, रुपन्देहीका शिवराज सुवेदी, कपिलवस्तुका झविलाल पोखरेल छन् । कर्णाली प्रदेशबाट दैलेखका रविन्द्र शर्मा र सल्यानका गोविन्द पुन ओली पक्षका अध्यक्ष हुन् ।

सुदूरपश्चिम प्रदेशको भने फरक दृष्य छ । पूर्वएमालेले पाएका ५ जिल्ला अध्यक्षमध्ये केन्द्रको आबद्धताका हिसाबले ४ जना ओली निकट मानिन्छन् । तर, जिल्लाको अन्तरबिरोध र प्रदेश राजनीतिका हिसाबले भीम रावललाई कतिपयले क्रस गर्न नसक्ने त्यहाँका नेताहरु बताउँछन् ।

एमालेले पाएका जिल्ला अध्यक्षमध्ये कैलालीका रतन थापा पछिल्लो समय ओली गुटमा पुगेका छन् । रावलले दीर्घ सोडारीको ठाउँमा मन्त्री नबनाएपछि उनी ओली समूहमा खुलेका हुन् । त्यस्तै बाजुराका कालिवहादुर शाही ओली निकट हुन् । डोटीका चक्र मल्ल ओली समूहमै रहेपनि स्थानीय ओली पक्षधर नेताहरुसँग भने उनको अन्तरविरोध छ । त्यस्तै बैतडीका सुरेन्द्र पाल पनि ओली पक्षकै हुन् ।

नेपाल पक्षबाट अध्यक्ष बन्नेहरु

पूर्वएमालेभित्र माधव नेपाल, झलनाथ र बामदेव गौतम एकै ठाउँमा हुँदा १४ जिल्ला अध्यक्ष यो समूहको पक्षमा खुलेका छन् । यद्यपि नेपाल पक्षका नेताहरुले १७ जना आफ्नो समूहका भएको बताएका छन् । नेपाल पक्षबाट प्रदेश १ मा इलामका राम राना, तेह्रथुमका लक्ष्मण तिवारी र संखुवासभाका हेमराज घिमिरे अध्यक्ष बनेका छन् ।

प्रदेश २ बाट सर्लाहीका रेवती पन्त र रौतहटका कमल राय यादव नेपाल पक्षका अध्यक्ष हुन् । प्रदेश ३ बाट सिन्धुपाल्चोकका झम्क नेपाल, रसुवाका कन्र्याल तामाङ, मकवानपुरकी मुनु सिग्देल नेपाल पक्षका अध्यक्ष हुन् । गण्डकी प्रदेशबाट बागलुङका इन्द्रलाल सापकोटा मात्र नेपाल पक्षमा खुलेका नेता हुन् ।

प्रदेश ५ बाट दाङका टिकाराम खड्का, प्युठानका तुलसीराम शर्मा नेपाल पक्षका अध्यक्ष हुने भने कर्णाली प्रदेशबाट सुर्खेतका धु्रब शाही र डोल्पाका दत्तवहादुर रोकाय नेपाल पक्षका अध्यक्ष हुन् । सुदूरपश्चिम प्रदेशबाट अछामका शेरवहादुर कुँवर नेपाल पक्षका अध्यक्ष हुन् ।

माधव नेपाल पक्षका अध्यक्ष रहेका जिल्लाको नेतृत्व नियतवश पूर्व माओवादीलाई जिम्मा लगाउँदा आफ्ना पक्षका अध्यक्षहरु सचिवमा झरेको नेपाल सो समूहका नेताले बताए ।

यो पनि पढ्नुहोस प्रचण्डले भने : पार्टी एकताको फलामे ढोका फोरिदिएका छौं

जिल्ला सचिवहरुको संख्या भने ओली पक्षको हाराहारीमा नेपाल पक्षबाट पनि आएको बताइएको छ ।

नेकपा स्थायी कमिटी सदस्य योगेश भट्टराईले व्यक्ति को कुन गुटबाट आए भन्ने ठूलो कुरा नरहेको भन्दै बिधी र प्रक्रियाबाट एकीकरण टुंगो लगाउनुपर्नेमा जोड दिए । उनले ‘स्थायी कमिटीले गठन गरेको कार्यदललाई नै जिम्मा दिएको भए यो भन्दा राम्रो ढंगले जिल्ला कमिटीहरुको नेतृत्व चयन हुने थियो’ भनेका छन् ।

पूर्व माओवादीमा बादल बलियो बन्दै

पूर्व माओवादीभित्र प्रचण्डको लगभग सबै कमिटीमा एकाधिकार रहँदै आएकोमा जिल्ला अध्यक्ष तथा सचिवमा बादलले उल्लेख्य संख्यामा आफ्ना मान्छे घुसाउन सफल भएको देखिएको छ ।

नेकपाभित्र अब बादल गुट चौथो शक्तिशाली समूह बनेको छ । बादलले पूर्व माओवादीले पाएका ३३ जिल्ला अध्यक्षमध्ये कम्तिमा ७ जना आफ्नो पारेका छन् ।

बादल पक्षबाट अध्यक्ष बन्नेमा ओखलढुंगाका मोहन खड्का, रामेछापका मैनकुमार मोक्तान, काभ्रेकी रुकु चौलागाई, बाँकेका आईपी खरेल, कालिकोटका धनजीत शाही, जाजरकोटका ढकवीर राना र मुगुका सुरवीर बुढा छन् । जबकी नारायणकाजी पक्षका एक जना मात्र अध्यक्ष परेका छन् महोत्तरीका राजु खड्का । पूर्व माओवादीमा अरु २८ जना अध्यक्ष प्रचण्ड निकटकै मानिन्छन् ।

यो पनि पढ्नुहोस नेकपाका ९ केन्द्रीय सदस्य जिल्ला कमिटी सचिवमा घटुवा !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment